Logo
Logo

नेपाली लिन आज चार्टर विमान वुहान जाँदै, उद्दार गरिएकालाई तत्काल नभेट्न अविभावकलाई अपिल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ फागुन । चीनको हुवेई प्रान्तको वुहानमा उद्धारको पर्खाइमा रहेका नेपाली विद्यार्थी लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार आज त्यसतर्फ जाँदैछ ।
मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार सेनाको चिकित्सकको नेतृत्वमा चारजना स्वास्थ्यकर्मी वुहान जाँदैछन् । विमान कति बजे उडान हुन्छ भन्ने तय नभएप्नि मध्यान्हतिर जाने बताइएको छ । उक्त टोलीमा सशस्त्र र नेपाल प्रहरी पनि सहभागी हुनेछन् ।
उक्त टोलीले नेपाली विमानमा चढाउने, ओराल्नेलगायत अन्य मनोवैज्ञानिक परामर्श दिनेछन् । त्यसका लागि पाइलट, विमानका क्रु सदस्य र स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड एवं अन्तर्राष्ट्रिय स्वास्थ्य नियमले तोकेको प्रावधानअनुरूप क्वारेन्टाइन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको मन्त्रालयले जनाएको छ । नेपाल फर्कनुअघि उनीहरूको चीनमै स्वास्थ्य जाँच गरिनेछ । उनीहरूमा सामान्य ज्वरो आएमा वा अन्य लक्षण देखिएमा चीनले पठाउँदैन ।
यसैबीच उद्धार गरी ल्याइने नेपालीलाई उनीहरूका आफन्तले तत्काल भेट्न नपाउने भएका छन् । ती नेपालीले आफन्त र अभिभावकसँग भेट गर्न कम्तीमा दुई साता क्वारेन्टन स्थलमा बिताउनुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनीहरूलाई त्रिभुवन विमानस्थल र क्वारेन्टाइनस्थलमा भेटघाट नगर्न अभिभावकसँग अपिल गरेको छ । सरकारले चीनको वुहान सहरमा रहेका १ सय ८५ नेपालीलाई छिट्टै फर्काउने तयारी गरेको छ । उनीहरूलाई खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा राखिनेछ ।
सुरक्षा संवेदनशीलता एवं उच्च स्वास्थ्य जोखिमका कारणले विमानस्थल र क्वारेन्टाइनस्थलमा परिवारका सदस्यलाई भेट्न रोक लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।
मन्त्रालयले क्वारेन्टाइन स्थल वरपरका समुदायका बासिन्दामा सम्भावित संक्रमणबारे त्रसित नरहन र संयमित व्यवहार गरिदिन सोत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्