Logo
Logo

मुलुकमा गरीबी छ, तर भोकमरी अन्त्य गरिएको छ : प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

तस्बिर : रासस

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठनपश्चात प्रतिदिन लगभग ६ किलोमिटरका दरले सडक कालोपत्र हुँदै आएको बताएका छन् । सरकार गठनको दुई वर्षे कार्यकाm पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारले गरेका उपलब्धिका बारेमा जानकारी गराउँदै भने, ‘यस अवधिमा १२५ तुइन विस्थापन भइसकेका छन्, भूकम्पले क्षतिग्रस्त तातोपानी जोड्ने सडक निर्माण भई आयात–निर्यात सञ्चालन भएको छ । कृषि र माछामासुमा मुलुक आत्मनिर्भर भएको छ ।’
सरकारले करका दर होइन दायरा बढाउने सोच बनाएको उल्लेख गर्दै उनले स्थिर सरकार गठनसँगै विदेशी लगानीका लागि राम्रो वातावरण बनेको बताए । उनले यस अवधिमा रु दुई खर्बको लगानीको प्रतिबद्धता आएको जानकारी गराउँदै व्यापार विविधिकरणमा उल्लेखनीय सुधार आई निर्यात २६.१ प्रतिशतले बढेको र आयात घटेको दावी गरे ।
ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताए । साथै ८८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको उनले जानकारी गराए । उनले विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको बताए । उत्पादित विद्युत् भारत र बंगलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौँडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुंगा हुनेछ’ उनले भने, ‘अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ ।’ उनले आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने दावी गरे ।
‘मुलुकमा गरीबी छ, तर भोकमरीको अन्त्य गरिएको छ, यस वर्ष शीतलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । भर्खरै भएको राष्ट्रियसभाको निर्वाचनबाट पनि समग्रहमा मतको सङ्ख्यामा सरकारको पक्षमा जनमत कायमै भएको देखाएको छ । यो तथ्य पनि हो’ उनले भने ।
यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको ४० वर्षपछि पुनर्निर्माण तोकिएको समयमै सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकका अन्य विभिन्न विमानस्थलको पुनःनिर्माण र स्तरोन्नति गरी रात्रिकालीन सेवासमेत शुरु गरिएको जानकारी गराए । मुलुकमा पेट्रोलियम पाइपलाइन तोकिएको समयमै निर्माण सम्पन्न भएको बताउँदै उनले सबै नेपालीको पुहँचमा टेलिफोन सेवा पुगेको, भूकम्पछिको पुनःनिर्माण तीव्ररूपमा अघि बढेको तथा बारा र पर्सामा टोनार्डाे पीडित जनतालाई तोकिएको समयमै आवास निर्माण गरी हस्तान्तरण गरिएको बताए । प्रधानमन्त्री ओलीले भने, ‘यस दुई वर्षको अवधिमा विद्यार्थी भर्ना दर शतप्रतिशत नजिक पुगेको छ । विद्यार्थीले विद्यालय छोड्ने दर कम भएको छ । स्वास्थ्य बीमा १५ जिल्लाबाट ३९ जिल्लामा विस्तार भएको छ । दक्षिण एशियामा नेपाल पहिलो खुला दिशामुक्त मुलुक भएको छ ।’
आफू भ्रष्टाचार गर्दिनँ र कसैलाई गर्न पनि दिन्न’ भन्दै आएका प्रधानमन्त्री ओलीले सोहीअनुसार कार्य पनि गर्दै आएको अवगत गराए । उनले भ्रष्टाचार गर्ने कसैलाई नछोड्ने धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले अतिक्रमण भएका सार्वजनिक जग्गा फिर्ता ल्याउन सरकार लागिपरेको बताउँदै सरकारको कारवाहीपछि सुन तस्करी तहसनहस भएको समेत दावी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘यो दुई वर्षमा राजश्व चुहावट, विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारी एवं झुठा तथा नक्कली बिल जारी गर्ने कसूरमा कर्मचारी तथा विभिन्न फार्महरुसहित ७९५ जनाविरुद्ध रु २६ अर्ब सात करोड ९९ लाख बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्