Logo
Logo

दोस्रो दिन हमासले छाड्यो १७ बन्धक


756
Shares

तेल अविव । इजरायल र गजा युद्धविराम भएको दोस्रो दिन प्यालेस्टाइनको अतिवादी समूह हमासले १७ बन्धक छाडेको छ। सिएनएनका अनुसार शनिबार हमासले १३ इसराइली र ५ थाइ बन्धकलाई मुक्त गरेको हो।

बदलामा इजराइलले ३९ प्यालेस्टियन नागरिकलाई कैदमुक्त गरेको छ । इजराइली डिफेन्स फोर्सले एक विज्ञप्ति जारी गर्दै हमासले १७ बन्धक रिहा गरेको पुष्टि गरेको छ। उनीहरूलाई रेडक्रसले इसराइल पुर्‍या अस्पताल लगेको छ।

युद्धविरामको पहिलो दिन हमासले २४ बन्धक र इसराइलले ३९ प्यालेस्टिनियन कैदीबन्दी रिहा गरेको थियो। योसँगै हमासले मुक्त गरेको बन्धकको संख्या ४१ पुगेको छ भने ७८ प्यालेस्टिनियन कैदीबन्दी इसराइलको जेलबाट मुक्त भएका छन्।

इसराइल र हमासबीच पहिलो चरणमा ५० जना बन्धक र १५० जना कैदी छाड्ने सहमति भएको थियो। उक्त सहमतिलाई इसराइलको मंगलबार अनुमोदन गरेको थियो भने शुक्रबार बिहानदेखि गजामा युद्धविराम भएको थियो।

हमासले प्रत्येक दिन कम्तिमा १० जना बन्धक मुक्त गर्ने र त्यसवापत इसराइलले गजामा थप एकदिन युद्धविराम लम्ब्याउने भनिएको छ। अक्टोबर ७ मा हमासले इसराइलमाथि आक्रमण गरी इसराइलसहित २६ देशका २३९ नागरिकहरूलाई बन्दी बनाएर गजा लगेको थियो। जसमा नेपालका विपिन जोशी पनि छन्।

हमासको आक्रमणमा इसराइलमा १० नेपाली नागरिकसहित १ हजार २ सय जना मारिएको थिए। त्यसयता हमासलाई निशाना बनाउँदै इसराइलले लगातार गजामा आक्रमण गर्दै आइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्