दार्चुला, ४ फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबार आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उनी कालापानी क्षेत्रको भ्रमण गर्न लागेको हुन् ।
उनी नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिंह ठगुन्नाले जानकारी दिए । उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागी छन् । उनले दार्चुलास्थित नेपाली सेनाको व्यारेक पहिलोपटक निरीक्षण गरिन लागेको हो । नेपाली सेनाको उच्च अधिकारीले भने समयसमयमा व्यारेकको निरीक्षण गर्दै आएका छन् ।
भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ । उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ । उपप्रधानमन्त्री भएपछि पहिलोपटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए । तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मंसिर १७ गते दार्चुला पुगेका थिए ।
साथै व्यारेक निरीक्षण र दार्चुला महोत्सवको उद्घाटन गरेपछि बेलुकी दार्चुलामै बस्ने कार्यक्रम छ । आजै अपराह्न ४ बजे कार्यालय प्रमुखसँग उपप्रधानमन्त्री पोखरेलको छलफल कार्यक्रम हुने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
यसैगरी उनले जिल्लास्थित कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा दार्चुलाका अध्यक्ष गणेश खत्रीले जानकारी दिनुभयो । दार्चुला विकास सङ्गठनस्थित हलमा कार्यकर्ता भेटघाटका लागि समय मिलाइएको छ । रासस