काठमाडौं । राष्ट्रिय भुक्तानी प्रणालीका लागि आवश्यक सामान खरिद अनियमिततामा जोगाइएका मुख्यसचिव बैकुन्ठ अर्याल टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने त्रासमा छन् । मुख्यसचिव हुनासाथ राष्ट्रिय भुक्तानी प्रणाली खरिदमा भएको अनियमिततामा अख्तियारमा बयान दिएका अर्याल टेरामक्समा पनि आफू जोगिन हरसम्भव उपाय अपनाइरहेका छन् ।
मुख्यसचिव अर्याल राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको सामान खरिदमा नीतिगत निर्णय गर्ने गरेको भए पनि उनलाई जोगाएर मुद्दा दायर गरेको आरोप अख्तियारमाथि छ । टेरामक्सको बिषयमा पनि उनी प्रत्यक्ष संलग्न भए पनि अदालतको फैसला कार्यान्वयन मात्र गर्नू भनेको भनेर जोगिने दाउमा छन् । टेरामक्समा बहालवाला मन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीजस्ता प्रभावशाली नेताहरु भएकाले मुद्दा नजाने आशामा अर्याल छन् ।
मुख्यसचिव सम्पूर्ण कर्मचारीहरुको अभिभावक हो । तर अर्याल कर्मचारीतन्त्रमा आफ्नो कमाण्ड देखाउन नसकेको आरोप छ । उनी प्रभावशाली सहसचिव र सचिवहरुलाई विश्वासमा लिएर चल्न सकेका छैनन् । कमजोर टीमको सल्लाहमा उनी चल्ने गरेका छन् ।
अर्यालको टीममा कानुन सचिव उदय सापकोटा, रक्षा सचिव किरणराज शर्मा, गणेशप्रसाद पाण्डेय छन् । उनको टीममा प्रभावशाली सहसचिवहरु पनि छैनन् ।
प्रधानमन्त्री कार्यालयको प्रशासनका सहसचिव नारायणप्रसाद भट्टबाहेक अर्यालको पक्षमा खुलेर देखिने कोही पनि छैनन् । लोकदर्शन रेग्मीले सबै मन्त्रालयमा एक एक जना सहसचिव आफ्ना विश्वासपात्र राखेर चलाएका थिए । तर, त्यसपछि परराष्ट्र समूहका शंकरदास बैरागीलाई ओलीले मुख्यसचिव बनाए । उनको कार्यकालमा निजामती कर्मचारीहरुमाथि जतिसुकै अन्याय हुँदा र सचिवहरुको ३–३ महिनामा सरुवा हुँदा पनि उनले रोक्न सकेनन् ।
अहिले राष्ट्रिय सुरक्षा सल्लाहकार भए पनि अंग्रेजीमा दख्खल भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग उनको निकटता बढी छ । प्रधानमन्त्रीसँग निकटता भएकै कारण बैरागीले हालका मुख्यसचिव अर्याललाई समेत सहसचिवहरुको सरुवादेखि विभिन्न निर्णय गराउने गरेका छन् ।