काठमाडौं । भावी प्रधानसेनापतिको नेतृत्व कसले लिने भन्ने अन्योल रहेका बेला नेपाली सेनाले रिक्त रहेको रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरेको छ । सिग्देललाई भावी प्रधानसेनापतिको रुपमा अघि सारिएको छ । सैनिक मुख्यालयमा शुक्रवार बसेको सेनाको बढुवा समितिले सिग्देललाई रथी पदमा बढुवा सिफारिस गरेसँगै भावी प्रधानसेनापतिको रुपमा उनलाई अघि सारिएको हो ।
सेनाले रथी सिताराम खड्काको अध्यक्षतामा बढुवा समिति गठन गरेको थियो । बलाधिकृतरथी सरोज प्रताप राणाले अवकाश पाएपछि वरियतामा अघि रहेका उपरथी ताराध्वज पाण्डेलाई सेनाको बोर्डले रथी बढुवाका लागि सिफारिस गरेको थियो । तर, उमेर विवाद देखिएपछि उनी राजीनामा दिएर बाहिरिए ।
पाण्डेको राजीनामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि सिग्देलको बढुवा प्रक्रियाका लागि जंगी अड्डाले सिफारिस गरेको हो । उपरथी सिग्देलको उमेर पनि विवादित छ । उमेर विवादबारे मंसिर ४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिनका लागि उजुरी परेको छ । सिग्देलविरुद्ध पनि पाण्डेको जस्तै उजुरी पर्न थालेको छ । उनको पनि शैक्षिक प्रमाणपत्र र नागरिकताको उमेर छानबिन गर्न मंसिर ४ गतेको मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।
आयोगमा सोही मितिमा दर्ता भएको सी ०२९५६३ नम्बरको निवेदनमा शैक्षिक प्रमाणपत्रमा सिग्देलको जन्म मिति १९ माघ २०२१ रहेकोमा नागरिकतामा १९ माघ २०२३ राखेर जागिर लम्ब्याई भविश्यमा सैनिक प्रमुख बन्न खोजेको ब्यहोरा उल्लेख छ ।
आयोगले उजुरीबारे छानबिनका लागि पत्राचार गर्न नपाउँदै सेनाले सिग्देलको बढुवा सिफारिस गरेको हो । यसपछि अख्तियारमा परेको उजुरीले काम गर्छ कि गर्दैन भन्ने चासोका साथ हेरिएको छ ।
आगामी भदौ २४ सम्म प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल रहेकाले त्यसपछि सिग्देल चिफ हुनेगरी लाइन मिलाइएको छ । यसअघि सरोजप्रताप राणा घर जानासाथ सीताराम खड्काले बलाधिकृतको जिम्मा लिएका थिए । अहिले उनी सेनाको दोस्रो वरीयतामा छन् ।
खड्काले पुस ३ गते अवकाश लिएपछि युएन फोर्समा कमाण्डर रहेका निर्मल थापा उनको ठाउँमा बढुुवाका लागि सिफारिस हुनेछन् । ०८१ भदौमा निर्मल थापा सेकेण्डम्यान बनेपछि बाबुराम श्रेष्ठ तीन तारे जर्नेल हुने अवस्था छ ।
भर्खर बढुवा भएका सन्तोष ढकालको त्यसअघि नै कार्यकाल सकिने भएकाले उनी अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ । त्यसपछि मात्रै अर्को व्यक्तिको उदय हुुनेछ ।