Logo
Logo

अपाङ्गता भएका पत्रकारको समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालको आयोजना र अपाङ्ग पत्रकार संघको संयोजनमा २०७६ फागुन ४ गते अपाङ्गता भएका पत्रकारको समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न भयो । सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सीमित स्रोत साधनबीच काम गर्नुपरिरहेको उल्लेख गर्दै अपाङ्गता भएका पत्रकारको वृत्तिविकास, उपचार, प्रेस सामग्री खरिदमा अनुदान दिने प्रक्रियामा सक्दो प्रयास गर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमलाले स्वागत मन्तव्य राख्नुहुँदै शारीरिक जटिलता भएपनि हामी सबैले गर्ने पत्रकारिता एउटै भएको उल्लेख गर्दै भाषा, साहित्य, कला, विज्ञान, शिक्षा, संस्कृति आदि विषयअन्तर्गत विधागत क्षेत्रका सरोकारवाला पक्षसँग नियमित श्रृङ्खलाबद्ध कार्यक्रम गर्दै आएको र समस्याको पहिचान एवं समाधानको लागि पहल भैरहेको जानकारी दिनुभयो ।

पत्रकार गजेन्द्र बुढाथोकीले मिडियामा समावेशीता र अपाङ्गता भएका पत्रकार विषयक कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यममा अपाङ्गतासम्बन्धी समाचार विषय नबनाइने, फिलर समाचारकोरुपमा मात्र प्रयोग हुने, मिडियामा फ्रन्ट पेज एवं सकारात्मक स्थान नहुने, हास्य पात्र बनाउने, हेयका शब्दहरु प्रयोग हुने, अपाङ्गमैत्री संरचना नभएको उल्लेख गर्नुभयो । जनगणनामा २ प्रतिशत भनिएपनि गणना फाराम वस्तुगत नभएकाले खास तथ्याङ्क आउन नसकेको, अपाङ्गता भएका कति पत्रकार कार्यरत छन् एकिन हुन नसकेको हुँदा सोको अनुसन्धान एवं राज्यबाट प्रदान हुने सबै प्रकारको सहयोगमा सकारात्मक विभेदको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै पत्रकार माधव चम्लागाइँले कतिपय खुल्न नचाहने कारण अपाङ्गता भएका पत्रकारको वास्तविक तथ्याङ्क आउन नसकेको भएपनि देशभर एकसयको हाराहारीमा रहेको, पत्रकारिता पेशाबाट गुजारा गर्न नसक्दा पलायन हुने क्रम बढेकोले यसलाई रोक्न काउन्सिलले प्रभावकारी भूमिका निभाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

पत्रकार जगदीशप्रसाद अधिकारीले प्रेस काउन्सिलको सहयोगमा अपाङ्गमैत्री सञ्चार निर्देशिका, २०७३ माघ २६ गते जारी गरिएको, यसैको आधारमा धेरैलाई सचेत तथा कार्वाही गरिएको उल्लेख गर्दै केही टेलिभिजनले साँकेतिक भाषामा समाचार दिन थालेपछि सुस्त श्रवन भएका व्यक्तिलाई राहत भएको उल्लेख गर्नुभयो ।
अपाङ्ग पत्रकार संघ नेपालका अध्यक्ष रबिन थपलियाले साहित्यिक जस्तै अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित पत्रिकालाई छुट दिनुुपर्ने धारणा राख्नुभयो । सो अवसरमा शशि पौडेल, शर्मिला बिश्वकर्मा, एमके लगायतले पत्रकारिता तालिमको आवश्यकता औंल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्