Logo
Logo

नाडामा चौधरीको पासा पल्टियो


5.2k
Shares

काठमाडौं । आगामी पुस २० र २१ गते काठमाडौंमा सम्पन्न हुने नाडाको ४७औँ साधारणसभाबाट नयाँ नेतृत्व चयन हुँदैछ । नाडाका कतिपय पुराना हस्तीहरुले नेतृत्वमा अस्वस्थ प्रतिस्पर्धाले संस्थाभित्र गुटबन्दी बढेको, नक्कली मतदाता थप्ने विकृति बढेको र पैसाको बलमा नेतृत्व हत्याउन खोज्दा नाडा आफ्नो मूल उद्देश्यबाट च्यूत हुँदै गएकोले सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

दुई वर्ष अगाडि तीन करोड खर्च गरेर अध्यक्ष पद हत्याएका धु्रव थापा नाडाको इतिहासमै निकम्मा सावित भएकोले विगतमा उनलाई साथ दिएका कार्यसमितिका पदाधिकारीहरु अहिले अध्यक्ष थापाको विपक्षमा उभिएका छन् । पैसाको बलमा अध्यक्ष पद हत्याएका थापाको कार्यकाल उत्साहजनक नभएको आरोप छ । त्यसमाथि थापाले चुनाव जित्नकै लागि नक्कली लेटरप्याड, स्ट्याम्प प्रयोग गरी फर्जी मतदाता भित्र्याएर नाडाको वातावरण बिगारेको आरोप छ ।

अहिले पनि थापाले नाडाको कार्यालयमा सिसीटिभी जडान गरेर कार्यसमितिका पदाधिकारीहरुको चियोचर्चा गर्नुका साथै नाडाको बजेट दुरुपयोग गरेको आरोप उनीमाथि छ । साधारणसभामा थापाविरुद्ध चर्को विरोध हुने देखेर कतिपय पदाधिकारीहरुले थापाको साथ छाडेका छन् । थापाको साथ छाड्नेमा उपाध्यक्ष राजनबाबु श्रेष्ठ अगाडि देखिएका छन् । थापालाई अध्यक्ष बनाउन निर्णायक भूमिका खेलेका श्रेष्ठ अहिले नाडाको उपाध्यक्ष छन् । विगतमा थापासँग गरेको सहमतिअनुसार श्रेष्ठलाई अध्यक्ष पदमा थापाले सघाउनुपर्ने हो । तर, थापाले धोका दिएपछि श्रेष्ठ सर्वसम्मत अध्यक्ष भए खाने, नभए नखाने ‘मुड’मा पुगेका छन् ।

श्रेष्ठले थापाको साथ छोडेपछि थापाले भावी अध्यक्षमा आकाश गोल्छालाई बोकेका छन् । गोल्छा कमजोर उम्मेदवार हुन् । थापाले गोल्छालाई उकासेपछि श्रेष्ठले करण चौधरीसँग सहकार्य थालेका छन् । श्रेष्ठ र चौधरी एक ठाउँमा उभिए मतभारको हिसाबले निर्णायक मत हुन्छ ।

करिब तीन हजार दुई सय मतदाता रहेको नाडामा चौधरी ग्रुपको छ सयभन्दा बढी मतदाता छन् । त्यसैगरी ६ सयकै हाराहारीमा श्रेष्ठको सिप्रदी ग्रुपको मतदाता छन् ।

अन्य समूहसँग दुई तीन सयको मत रहेको बताइन्छ । थापाले आफूसँग तीन सयभन्दा बढी मतदाता रहेको दाबी गरे पनि थापाको मतदातामा एक सय ५० भन्दा बढी फर्जी मतदाता भएको नाडा स्रोतले बताएको छ । गत निर्वाचनमा खसेको नक्कली मतदाताका विषयमा छानिबन गर्ने हो भने थापासँग सय मत पनि देखिन्न ।

नाडालाई स्वच्छ र पारदर्शी बनाउन पनि नक्कली मतदाता (कम्पनी)हरुको छानबिन गर्नुपर्ने कुरा उठेको छ । स्मरणरहोस्, विगतको निर्वाचनमा आकाश गोल्छा र करण चौधरी एउटै समूहमा आबद्ध थिए । तर, अहिले धु्रव थापाका कारण आकाश गोल्छा अध्यक्ष पदको चर्चामा छन् । गोल्छालाई पूर्वअध्यक्ष कृष्ण दुलालको मात्र समर्थन रहेको बताइन्छ । अधिकांश पूर्वअध्यक्षहरु सर्वसम्मत भए सर्वसम्मत नभए चौधरीलाई समर्थन गर्ने पक्षमा छन् ।

यसैबीच बिर्तामोडका होण्डा डिलर प्रकाश कपुरीले फेसबुकबाट अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्