Logo
Logo

उपरथी सिग्देलको जन्ममिति छानबिन गर्न अख्तियारको निर्देशन


11.7k
Shares

अशोकराज सिग्देललाई उपरथी दर्जाको दज्यांनी चिन्ह प्रदान गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापा ।

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाको रथी पदमा बढुवाका लागि सिफारिस भएका उपरथी अशोकराज सिग्देलको जन्ममिति विवादबारे छानविन गर्न निर्देशन दिएको छ ।

रथी बढुवाका लागि जंगीअड्डाले रक्षा मन्त्रालयमा सिफारिस गरेको उपरथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति रहेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिनका लागि निर्देशन दिएको हो ।

विवादकै बीच शुक्रबार जंगीअड्डाले उनलाई बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । त्यसलतत्तै उनको जन्म मिति विवादबारे छानविन गर्न अख्तियारले रक्षा मन्त्रालयलाई निर्देशन दिएको स्रोतले बतायो ।

सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएको छ । शैक्षिक प्रमाणपत्रमा सिग्देलको वास्तविक जन्म मिति १९ चैत २०२१ रहेको छ । तर, नागरिकतामा १९ माघ २०२३ राखेका छन् ।

२०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ ।

२०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिँदा कीर्ते गरेको स्रोतको दाबी छ ।

भावी प्रधानसेनापति बन्ने दौडधुपमा समेत रहेका सिग्देल जन्ममिति विवादले समस्यामा फसेका छन् । यदि उनी बढुवा भएमा नौ महिनापछि सैनिक नेतृत्वमा चयन हुनेछन्। हालका प्रधानसेनापति प्रभुराम शर्माले आगामी वर्ष २४ भदौमा अवकाश पाउँदैछन् ।
यसअघि बढुवा सिफारिस भएका उपरथी ताराध्वज पाण्डेले पनि जन्ममितिसम्बन्धी विवाद देखिएपछि राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्