काठमाडौं । हिमाल आरोहणबापतको रोयल्टीबाट संचालन हुँदैआएको नेपाल पर्वतारोहण संघभित्र अनियमितताले सीमा नाघेको छ । संघका अध्यक्ष निमानुरु शेर्पा, महासचिव मोहन लम्सालसहितका पदाधिकारीहरुले सरकारी रोयल्टीबाट संचालित संघमा मनोमानी गर्दैआएका छन् ।
सरकारले हिमालबाट रोयल्टी उठाउने अधिकार दिएको संघको लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयले गर्नुपर्ने हो । तर मनपरी आर्थिक अनियमितता गर्न नपाउने भएपछि महालेखालाई लेखपरीक्षण गर्न नदिन संघका पदाधिकारी नै लाग्ने गरेका छन् । आर्थिक आनुशासनको पालना संघभित्र हुनसकेको छैन ।
संघभित्र कतिसम्म अनिययिमतता हुन्छ भन्ने सानो उदाहरण पोखरास्थित पर्वतीय संग्रहालयको कवाडी लिलाममा देखिएको छ । गएको आर्थिक बर्षमा संग्रहालयले कवाडी लिलामका लागि सिलबन्दी कोटेसन माग गरेको थियो । जसमा बढी कबोल गर्ने सशीलकुमार गुप्तालाई दिनुपर्नेमा कम कबोल गर्ने नारायण एण्ड कन्ट्रक्सन प्रालिलाई दिइएको थियो ।
पाँचवटा कम्पनीले सिलबन्दी पेश गरेकोमा सबैभन्दा बढी सशीलकुमार गुप्ताले २ लाख ५१ हजार ४ सय रुपैयाँ कबोल गरेको थियो भने नारायण कन्ष्ट्रक्सनले १ लाख ८० हजार ३ सय ६० रुपैयाँ कबोल गरेको थियो ।
यसमा सिधै बढी कबोल गर्ने सशीलकुमार गुप्ताले पाउनुपर्नेमा पोखराको पर्वतीय संग्रहालयकी कार्यालय प्रमुख निर्र्मला न्यौपानेले नारायणलाई दिएर संघलाई नोक्सान पार्ने काम गरेकी थिइन् ।
पोखरा पर्वतीय संग्रहालयमा भएको भ्रष्टाचारको यो एक सानो उदाहरण हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता सरोकारवाला निकायले छानबिन गर्ने हो भने त्यहाँको बजेटको आधाभन्दा बढी भ्रष्टाचार हुने गरेको स्रोत बताउँछ ।
न्यौपानेले गरेका यस्ता अनियमिततामा संघका अध्यक्ष निमानुरु शेर्पादेखि पदाधिकारीहरुले एक्सन लिनुको साटो उनलाई संस्थाको नियम कानुन नै मिचेर ५ बर्षको लागि नियुक्ति गरेका छन् । न्यौपानेलाई पर्वतारोहण संघ कर्मचारी नियमावली संशोधन गरेर ५ बर्ष अवधिका लागि नियुक्ति दिइएको छ ।
न्यौपानेका अनियमितताले सीमा नाघ्दा पनि संघका पदाधिकारीहरु उनका अगाडि निरीह हुने गरेका छन् । संघका अध्यक्ष शेर्पासहितका पदाधिकारीले उनलाई स्थायी नै गर्न खोजेका थिए, तर अख्तियारको कठघरामा पर्ने त्रास कार्यसमितिका सदस्यहरुले देखाएपछि एक ब्यक्तिका लागि नियमावली नै संशोधन गरेर ५ बर्ष अवधिको नियुक्ति दिएका छन् ।
साढे दुई बर्षअघि न्यौपानेले नियुक्तिका क्रममा पेश गरेको अनुभवको प्रमाणपत्रकै बारेमा छानबिन हुनुपर्ने माग भइरहेको बेला नियम कानुन मिचेर उनलाई ५ बर्ष अवधिको लागि नियुक्ति गरिएको छ । उनले नियुक्तिका क्रममा जुन कम्पनीमा सीईओ भएर काम गरेको अनुभव पेश गरेकी छन्, सो समयमा सो कम्पनीमा सीईओको पद नै नभएको स्रोत बताउँछ । न्यौपानेले पदाधिकारीमात्र होइन, संघका कर्मचारीलाई समेत प्रभावमा पारी एनएमएमा आफ्नो अनुकूल निर्णय गराउने गरेकी छन् ।
त्यतिमात्र होइन, पर्वतारोहण संघका अध्यक्ष निमानुरु शेर्पा लगायतका केही पदाधिकारी मानवतस्करीमा समेत म्ुछिएका छन् । पर्वतारोहण संघका कार्यसमिति सदस्यहरु नै कार्यक्रममा भाग लिने बहानामा क्यानडा गएर उतै लुकेका छन् ।
संघका कार्यसमिति सदस्य रामचन्द्र धमला, डोमा शेर्पा र लालबहादुर वाइबा २०२२ को २७ अक्टोवर देखि २९ सम्म क्यानडामा युआइएए (युनियन अफ ईन्टरनेश्नल अल्पाइन एशोसिएसन) को साधारण सभामा सहभागी हुनका लागि गएपछि फर्किएनन् । युआइएएको साधारण सदस्य भएका कारण नेपाल पर्वतरोहण संघलाई कार्यक्रममा निमन्त्रणा आएको थियो ।
सो साधारणसभामा सहभागी हुनका गएका उनीहरु अहिलेसम्म फर्किएका छैनन् । स्रोतका अनुसार उनीहरुले अध्यक्ष लगायतका केही पदाधिकारीलाई लाखौं रुपैयाँ बुझाएर क्यानडामा गएर उतै लुकेका छन् । जसका कारण संघको छवि त धुलिसात भएकै छ, नेपालकै बदनाम हुन पुगेको छ ।