काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टलपोलको ९१औं महासभामा सहभागी भएर स्वदेश फिर्ता भएका छन् । उनी अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सचिवालयले मंसिर १२ देखि १५ गतेसम्म आयोजना गरेको महासभामा सहभागी हुन अष्ट्रियाको भियना गएका थिए ।
उनीसँगै महासभामा सहभागी भएका इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोली पनि स्वदेश फिर्ता भएको छ । उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायउत वरिष्ठ प्रहरी अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
महासभामा सहभागी हुने क्रममा नेश्नल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्षबीच शिष्टाचार भेट पनि भएको थियो ।
महासभामा सहभागी एक सय ९५ इन्टरपोल सदस्य राष्ट्रका नेश्नल सेन्ट्रल ब्युरोका प्रमुखबीच विश्वलाई सुरक्षित बनाउन सहकार्य गर्नेबारेमा छलफल भएको प्रहरी महानिरीक्षक कुँवरको सचिवालयले जनाएको छ । महासभाले इन्टरपोलको ९२औँ महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औँ महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।
इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीलाई महासभामा सम्मान गरिएको थियो ।