जे छ यही रबाफ छ, साथी !
समुद्र पारीबाट घर फर्कँदा
त्यहाँ परसम्म पानी पानी
यहाँ वरसम्म धुलै धुलो
उबडबाखड हिँड्ने फुटपाथ
त्यो पनि वर्षको दुई पटक, अनवरत
खनिने, पुरिने, बनिने
अझ पनि हिँड्नेको अधिकार छैन
सडक जाम भएको बेला
नभ्याएका मोटर साइकलहरूलाई
कुर्ने फुर्सद हुँदैन
फुटपाथमै गडगडाएर हिड्छन्
त्यो पनि हर्न बजाउँदै
साइड दिने, जोगिने, बच्ने
हामी पथिकले हो
सकस छ
तर जीवन यात्राको मनमोहकता
मनको ताजगी
स्वस्थ शरीरको चेतना
त्यसले दिएको रबाफ
कम छैन कुनै नवाबको भन्दा
त्यसैले हे मेरा साथी
आदाब ! आदाब !!