काठमाडौं । सरकारले काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण तीन वर्षमा सक्ने भनेपनि निर्माण थालनी भएको दुुई वर्ष पुुग्दा एक चौथाई पनि काम भएको छैन । भारतीय अनुदानमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) को संरचना बनाउन २८ वर्षअघि भएको सहमति कार्यान्वयन भइरहेको छ ।
भारतमा बनेको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा सरकारले दुुई वर्ष अघि स्वीकृत गरेसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको थियो । तर काम भने निकै सुस्तगतिमा रुहेको छ । महाराजगन्जमा रहेको प्रतिष्ठानलाई पनौतिमा सार्ने गरी निर्माणकार्य अघि बढाइएको छ ।
प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण लागि वन तथा वातावरण मन्त्रालय वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरिसकेको छ । नेपाल पुलिस एकेडेमीले तयार पारेको रिपोर्ट गृह मन्त्रालय मार्फत वन तथा वातावरण मन्त्रालयमा पेस भएको हो । रिपोर्टमा प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण सम्पन्न गरिसक्दा ८७९१.३८ मिलियन अर्थात ८ अर्ब ७९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सन् १९५६ मा प्रहरी हवल्दारहरूलाई तालिम दिने जिम्मेवारीका साथ केन्द्रीय प्रहरी प्रशिक्षण केन्द्रको रूपमा स्थापना गरिएको संस्थानै सन् १९९३ देखि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको रुपमा अघि बढेको थियो । यो मुलुकको सर्वोच्च प्रहरी प्रशिक्षण केन्द्र हो जस्ले देशभित्रका समग्र नेपाल प्रहरीको मानव संशाधन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रहरी अधिकृतहरूको लागि आधारभूत र विशिष्ट प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न पूर्ण रूपमा जिम्मेवार रहँदै आएको छ । प्रतिष्ठान निरन्तर रूपमा वैज्ञानिक विधिहरू र नविनतम् प्रविधिहरु आत्मसात गरी प्रहरीहरुको संस्थागत विकास कायम गर्न स्थापित संस्था भएकाले यसलाई सरकारले प्राथमिकतमा राखेको छ ।
यसका साथै प्रशासनिक अभ्यासहरूको सुधार, दक्ष प्रशिक्षकहरू र प्रहरी कर्मचारीहरुको व्यसायिक दक्षतामा निखारता ल्याउनको लागि केन्द्रित छ । यसबाहेक, यसले आपराधिक न्याय प्रणालीमा प्रहरीको भूमिका सुधार गर्ने उद्देश्यका साथ मानव संसाधन विकास पक्षहरूमा ध्यान केन्द्रित गर्दछ ।
काभ्रे पनौती बजार नजिकै नेपाल प्रहरीका अधिकृतहरुलाई विशिस्ट प्रकार तालिम प्रदान गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण गर्ने प्रस्तावको उद्देश्य रहेको छ । २०७९ साल जेठमा यसको ठेक्का लागेको हो गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले गरेको टेन्डरमा एउटा मात्रै निर्माण कम्पनी प्राविधिक मूल्यांकनमा पास भएको थियो ।
आहालुवालिया कन्स्ट्रक्सन, भारत र रोसन कन्स्ट्रक्सन, नेपालको ज्वाइन्ट भेन्चर कम्पनी (एसीआईएल–आरसीपीएल) मात्र प्राविधिक रुपमा पास भएको थियो । भारतले डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा नेपाल सरकारले संशोधनसहित स्वीकृति गरेर २०७९ पुसमा टेन्डर आह्वान गरेको थियो । यो कम्पनीको काम भने निकै सुस्त रहेको छ ।
प्रहरीले २२ डिसेम्बर २०२१ मा प्रतिष्ठान निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । प्रहरी उच्च स्रोतका अनुसार यो टेन्डरमा ४ वटा कम्पनीहरु सहभागी थिए । त्यसमध्ये अरु ३ वटा कम्पनीहरु एसीआईएल–आरसीपीएललाई टेन्डर पार्ने गरी गरिएको ‘सेटिङ’ अनुसार ‘डमी’ का रुपमा मात्रै टेन्डरमा सहभागी भएकाले आहालुवालिया कन्स्ट्रक्सन, भारत र रोसन कन्स्ट्रक्सन, नेपालको ज्वाइन्ट भेन्चर कम्पनी (एसीआईएल–आरसीपीएल)ले ठेक्का पाएको थियो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठनको भवन पनौता नगरपालिका ६ नम्बर वडामा निर्माण हुने छ । यसका लागि ४१.८६ हेक्टर क्षेत्रफल आवश्यक छ । आयोजनाको भनव निर्माण १,०९, २१५ वर्ग मिटर रहने छ । निर्माण हुने प्रत्येक भवनसँग रहने पहुँच मार्ग, आपतकालिन सिँढी, आगलागी साइरन प्रणाली, अपाङमैत्री यात्री मार्ग लगायतका संरचना निर्माण हुने छ । प्रतिष्ठानमा ३२ सय २५ जना प्रहरी जवानहरुको बसोबास र १२५ जना पाहुनालाई सेवा दिने रिपोर्टमा उल्लेख छ । प्रतिष्ठान निर्माणका ३ वर्ष लाग्ने छ ।