Logo
Logo

स्वास्थ्यमा ज्वाइँको रजगज, सरुवामा असुली


1.1k
Shares

काठमाडौं । पद उपसचिवको भए पनि रवाफ भने सचिवको भन्दा कम छैन–स्वास्थ्य तथा जनसंख्या मन्त्रायका कृष्णजंग थापाको । कर्मचारी प्रशासन शाखाका प्रमुखको जिम्मेवारीमा रहेका थापाको दैनिकी कर्मचारीको सरुवाको सूची बनाउने र महाशाखा प्रमुख सहसचिवकोमा पेश गर्ने हो । तर यतिमा मात्र उनी सीमित छैनन्, मन्त्रालयका अन्य सहसचिव स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको कार्यकक्षमा हतपत्त प्रवेश पाउँदैनन्, तर थापालाई मन्त्रीको ढोका सधै खुल्ला हुन्छ ।

मन्त्रीको गाडी मन्त्रालयको गेटमा प्रवेश गरेनगरेको उपसचिव थापाले कार्यकक्षबाटै नियालेर हेर्छन् । र, बस्नेत कार्यकक्षमा छिर्नासाथ थापा पनि सँगसँगै डायरी च्यापेर गइहाल्छन् । बस्नेतका स्वकीय सचिवालयका सदस्यभन्दा बढी मन्त्रीको निकट ह्ुनका लागि उनले सबै हत्कण्डा प्रयोग गर्दैआएका छन् ।

मन्त्रीसँगको भेटमा सरुवाको सूची तयार गर्नेदेखि लिएर क–कसलाई कहाँ–कहाँ सरुवा गर्ने भन्ने सेटिङ मन्त्रीले सबै कुरा थापाकै काँधमासुम्पेका छन् । परराष्ट्र मन्त्री एनपी साउदका दाजुका छोरीज्वाई नाता पर्ने थापा यही सम्बन्धका कारण स्वास्थ्यमा प्रवेश पाएका हुन् ।

स्वास्थ्य मन्त्रालयमा जानुअघि महिला, बालबालिका मन्त्रालयमा शाखा अधिकृतका रुपमा बिताएका थापा त्यहँी हुँदा बढुवा भएका हुन् । काकाससुरा साउद सिँचाइमन्त्री हुँदा सिँचाइ मन्त्रालयको कर्मचारी प्रशासन शाखामा बसी इन्जिनियरदेखि डिई र सुईको सरुवामा करोडौं संकलन गर्ने दायित्व पाएका उनले त्यहीँदेखि कप्रमा बस्दा कसरी खाने भन्नेबारेमा राम्रो अनुभव बटुलेका थिए । सिँचाइ मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखका रुपमा सोझा दानध्वज बस्नेत भए पनि सरुवामा उनी नै हावी थिए । त्यही अनुभवलाई थापाले स्वास्थ्यमा प्रयोग गरिरहेका छन् ।

उनले सिँचाइका कर्मचारीहरुको सरुवा गर्दा उठाएको रकमबाट काठमाडांैंको सितापाइला आसपास भब्य बंगला समेत बनाएका छन् । सिँचाइमा अथाह कमाएपछि उनी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको कमाइ देखेर गोरखा, नुवाकोट लगायतका जिल्लाका पालिकामा सरुवा भएका थिए । त्यहाँ पनि उनले डीपीआर बनाउने नाममा आफूनिकटकालाई ठेक्का दिएर आधा कमिसन बटुलेको आरोप छ ।

टाई झुन्ड्याएर ढाकाटोपीमा कार्यालयमा उपस्थित हुने थापाले इन्जिनियर र स्थानीय तहका जनप्रतिनिधिहरुको मनोदशा बुझेर फाइदा लुटिसकेका छन् भने अहिले स्वास्थ्य समूहका कर्मचारीहरुलाई दोहन नगर्ने कुरै भएन ।

वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई राजनीतक आस्था राखेको आरोप लगाएर ऐन नियम बिपरीत मन्त्रालयमा तान्ने काम उनै थापाको उक्साहटमा मन्त्रीले गरेको आरोप छ ।

हाडजोर्नीका बिशेषज्ञ चिकित्सक पौडेललाई जिम्मेवारीबिहीन राख्ने पत्रमा हस्ताक्षर गर्ने उनै थापाको कार्यशैलीप्रति सचिवद्वय रोशन पोखरेल र देवकुमारी गुरागाई असन्तुष्ट रहेको बताइन्छ ।

कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव तुल्सीनाथ गौतम र सचिवद्वयका भए नभएका कुरा लाएर मन्त्रीसँग दूरी बढाएर फाइदा लिने काममा थापा सुरुदेखि नै सक्रिय छन् ।

वीरमा सल्केको आगो ट्रमा सेन्टरमा पुग्नुमा पनि थापाकै योगदान रहेको बताइन्छ । अहिले ट्रमाका निर्देशक डा बद्री रिजाल कांग्रेसको कार्यकर्ता भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगले छानबिनका लागि मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्