Logo
Logo

नेपालमा बोलिने सबै मातृभाषा नेपालको सम्पत्ति : उपप्रधानमन्त्री पोखरेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १० फागुन । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित अन्तर्राष्ट्रय मातृभाषा दिवस तथा राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७६ सम्पन्न भएको छ । महोत्सवलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषा नेपालको सम्पत्ति भएको बताए ।
उनले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले भने, ‘समानता र सद्भावलाई हामीले व्यवहारमा लागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यही कुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।’
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदै देशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम् भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे । त्यस्तै, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमा रहेको उल्लेख गरे ।
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेष ध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणा राखे ।
महोत्सवमा नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रिय मातृभाषा दिवस बंगलाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादत प्राप्त गर्ने बंगलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको बताए । उनले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सिमाना नहुने भएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने धारणा व्यक्त गरेका थिए ।
बंगलादेशकै प्रस्तावमा युनेस्कोले सन् १९९९ नोभेम्बर १७ मा २१ फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघले समेत सन् २००० मा उक्त दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन आव्हान गरेपछि विश्वभर मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो । युनेस्कोले यस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तय गरेको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्रा्ष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानका निम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दैआएको बताए ।
प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) प्रमुख एवं कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३ भाषाका १५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताहरूबाट ६४ ओटा कविता वाचनका लागि छनोट गरेको बताइन् । त्यस्तै, प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागका प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथि प्रकाश पारोक थिए ।
कार्यक्रममा युनेस्को काठमाडौैँ कार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
आफ्नो वाम्बुले राई मातृभाषामा कविता वाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गरेको कविता महोत्सवको कविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचन गरेका थिए । महोत्सवमा अतिथि कविका रूपमा भारतको असमबाट आएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाको कविता वाचन गरेकी थिइन् ।
समारोह सुरु हुनुअघि विभिन्न समुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेको थियो । झाँकी प्रज्ञा परिसर, घन्टाघर, बागबजार, पुतली सडक हुँदै पुनः प्रज्ञा भवन आई समारोहमा सामेल भएको थियो । उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीहरूको आकर्षक प्रदर्शनी गरिएको थियो । झाँकी टोली र कविता वाचनमा सहभागी कविहरूलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्