Logo
Logo

अश्लिल हर्कत गर्ने अधिकृत पुरस्कृत


3.7k
Shares

काठमाडौं । एक महिलासँग अश्लील क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौला र कार्यालयकी कर्मचारीसँग अश्लिल हर्कत गर्ने काजिमान राईलाई सरकारले महत्वपूर्ण जिम्मेवारी तोकेर कार्यक्षेत्रमा पठाएको छ । उपसचिव निरौलालाई भूमि व्यवस्था मन्त्रालयले महत्वपूर्ण जिम्मेवारी दिएर पर्सा पठाएको छ ।

मन्त्रालयले उनलाई पर्सा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । पर्सा मालपोत कार्यालय आकर्षक मानिन्छ । त्यहाँ जानलाई कर्मचारीहरूबीच ‘लिलाम बढाबढ’ हुने गरेको छ ।

त्यस्तै प्रशाकीय अधिकृत राईलाई सोलुुखुुम्बूको लिखुपिके गाउँपालिकाको प्रमुुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको छ । इलामको माइजोगमाइ गाउँपालिकामा सोही पालिकाकी एक कर्मचारीसँग अस्वभाविक यौनजन्य व्यवहार गरेको अभियोगमा झापाको बाह्रदशी गाउँपालिका हुँदै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय तानिएका राईलाई सोलुुखुम्बुको लिखुपिके गाउँपालिकामा पठाइएको हो । उनलाई गाउँपालिकी अध्यक्ष मिना कार्की बस्नेतले स्वागत गरेको तस्वीरसमेत बाहिरिएको छ ।

राईसँग अस्वभाविक यौनजन्य व्यवहारमा संलग्न भनिएकी लेखा अधिकृतलाई भने हाल मन्त्रालयमा राखिएको छ । प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य क्रियाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो ।

त्यस्तै निरौला गएको मालपोत कार्यालय पनि आकर्षक ठाउँ भएकाले उनी विभिन्न तौरतरिका अपनाएर त्यहाँ पुुगेका हुुन् । विवादित उपसचिवलाई पर्सा मालपोतमा पठाउन भूमि व्यवस्था सचिव गोकर्णमणि दवाडी तयार नभए पनि निरौलाले माथिकै ‘भिटो’ लगाएको स्रोतको दावी छ ।

‘अश्लिल गतिविधिमा विवादित उपसचिवलाई सकेसम्म महत्वपूर्ण ठाउँमा नपठाऔँ भन्ने मन्त्रालयमा रहेको कर्मचारी प्रशासनको चाहना थियो । तर, भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ र उनका पति रेशम चौधरीको पहुँचको कारण उनी पर्सा जान सफल भए,’ स्रोतले भन्यो ।

त्यस्तै राई गएको लिखुुपिकेमा यसअघि सुुनिता उप्रेती गएकी थिइन । त्यहाँको पालिका अध्यक्ष मीना कार्कीले अनावश्यक खर्चमा सही गर्न दबाब दिएपछि दशैँअघि नै मन्त्रालय फिर्ता भएकी थिइन् । गाउँपालिकाकी अध्यक्ष कार्कीले आफ्नै भतिजो लोकेन्द्र बस्नेतलाई स्वकीय सचिव बनाइएकी छिन् । उनले सडकको ठेकेदारसमेत रहेका श्रीमान रेखराज बस्नेत शिक्षा समितिको संयोजक बनाइएकी छिन् । साथै, आफन्त र नातागोतालाई एक एक पदमा कार्यरत गराई परिवारवाद लागु गरिएको र उनीहरूले खर्च गरेको रकम सबै पालिकाले तिर्नुुपर्ने र अघिल्लो वर्षको बेरुजु पनि सबैभन्दा बढी देखिएपछि उप्रेती आफू फस्न सक्ने भन्दै त्यहाँबाट बाहिरिएकी थिइन् ।

अहिले त्यहाँ विवादास्पद राईलाई पठाइएको छ । त्यस्तै उपरसचिव निरौला झापा दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा गत साउन १३ गते सरकारी क्वार्टरमा एक युवतीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका थिए ।

त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिरी हुन उनलाई चिठी काटेको थियो । मन्त्रालयले केही कुरा बुझ्नुपर्ने छ भन्दै निरौलालाई मन्त्रालय बोलाएको थियो । त्यसको करिब ४ महिनासम्म निरौला मन्त्रालमा बसे । मन्त्रालयमा हुँदा उनलाई जिम्मेवारी दिइएको थिएन ।

यही मंसिरमा उनलाई सामान्यबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा गरिएको थियो । त्यहाँ रेशम चौधरीसँग सेटिङ गरी उनी पर्सा लागेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्