Logo
Logo

नेकपा एसबाट को बन्लान् सांसद ?


2.2k
Shares

काठमाडौं । राष्ट्रिय सभा १९ सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ । फागुन २० गते राष्ट्रपतिबाट मनोनित एकसहित २० सांसदको पद रिक्त हुँदैछ । एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका ३ र जसपा १ सांसदको अवधि सकिँदैछ ।

दलहरूले राष्ट्रिय सभा उम्मेदवार चयनका लागि छलफल गरेका छन् । एकीकृत समाजवादीमा प्रमेश हमाल, गणेश विक, घनेन्द्र बस्नेत, डा. गंगालाल तुलाधर, सावित्रा भुसाल र दिलु पन्तको चर्चा छ । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट भइसकेको छैन । गठबन्धनमा सिट संख्या टुंगिएपछि नामबारे औपचारिक निर्णय गर्ने एकीकृत समाजवादीको तयारी छ ।

१९ जना निर्वाचनबाट छानिनेछन् भने एक जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् । गठबन्धनको मतभार सबै प्रदेशमा बढी भएकाले १९ वटै सिट गठबन्धन दलले जित्ने निश्चित छ । यसअघि कायम रहेका सिट सुरक्षित गर्दै एमालेले जितेका ९ सिटमा भागबण्डा गर्ने गठबन्धनको तयारी रहेको छ । निर्वाचनपछि एमाले ९ सिटमा खुम्चिदैछ ।

एकीकृत समाजवादीले जारी सचिवालय बैठकबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारको मापदण्ड बनाउँदैछ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार बन्न नेताको घरदेखि पार्टी कार्यालयसम्म कार्यकर्ताहरूले चहलपहल बाक्लिएको छ ।

गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका सांसदहरूको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा, विमला राई, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार, रामचन्द्र राई बिदा हुँदै छन् ।

कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् ।

माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी छन् । एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, खिमराल देवकोटा र सिंहबहादुर विश्वकर्मा छन् । जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादव छिन् ।

प्रतिक्रिया दिनुहोस्