Logo
Logo

मेसका नाममा प्रहरीमा घुस


- दृष्टि न्युज/संवाददाता

126
Shares

काठमाडौं, १२ फागुन । नेपाल प्रहरीलाई पछिल्लो समय ‘हिरोइज्म’ले गाँजेको छ । इमान्दारीताका साथ काम गर्ने भन्दा चर्चाका लागि काम गर्नेहरुको संख्या बढ्दो छ । धेरैलाई रमेश खरेलजस्तै हिरो बन्ने भोक छ । तर, खरेलको जस्तो इमान्दारिता भएका प्रहरीहरु पछिल्लो समय पछि पर्दै आएका छन् । संगठनमा सुधार भन्दा चर्चाका लागि काम गर्नेहरु बढ्दै गएका छन् । तीनैमध्ये एक हुन् डिआईजी विश्वराज पोखरेल । सिनियरलाई उछिनेर डिआइजीमा बढुवा भएका उनी पछिल्लो समय अर्काे ब्याचलाई पनि उछिनेर एआईजी हुने दौडमा छन् । त्यसका लागि उपत्यकामा केही सुधार गरेको भन्दै ‘नाटक’ गरिरहेका छन् ।

उनको प्रमुख अभियान अहिले हाकिम र जवानको एउटै मेस बनाउने भन्ने छ । यो कार्यक्रम प्रहरीभित्रै विवादित बनेको छ । कुनै पनि देशमा सिपाही र हाकिमको एउटै मेस हुँदैन । यसले चेन अफ कमाण्डमै असर पार्न सक्ने प्रहरी अधिकारीको चिन्ता छ । हाकिमको अगाडी बसेर खाना खान सिपाहीलाई समेत अफ्ठेरो हुने भएको छ । सिपाहीको छुट्टै मेस हुँदा साथीहरुबीच रमाइलो गफ गर्दै खाना खानेमा हाकिमलाई स्यालुट ठोक्दै खाना खानुपर्ने अवस्था आएको छ ।

सिपाही र हाकिमले बराबर रासनभत्ता पाउँछन् । नगदमै राशनभत्ता पाउने भएकाले आफ्नो गच्छेअनुसार राशन खरिद गरेर खाने गरिन्छ । यस्तो अवस्थामा सिपाही र हाकिमको एउटै मेस बनाउनुको समेत कुनै अर्थ नभएको प्रहरी अधिकारी बताउँछन् ।

अर्काेतर्फ मेस सुधारको नाममा उपत्यका प्रहरीमा घुसखोरी बढेको छ । नयाँ मेस बनाउना लागि भनेर प्रहरी प्रधान कार्यालयले बजेट दिएको छैन । अन्य शीर्षकबाट खर्च गर्न सक्ने अवस्था पनि छैन । त्यहीकारण स्थानीय व्यापारी र गुन्डासँग मागेर वृत्त तथा प्रभागहरुले यतिबेला मेस बनाइरहेका छन् । एक वृत्त इन्चार्ज भन्छन्,‘मेट्रो वान सरले जसरी पनि बनाउनु भन्नु भएको छ, पैसा छैन, आफ्नो तलबबाट बनाउने कुरा भएन, माग्नुको विकल्प छैन ।’

गाडी बनाउनका लागि भनेर घुस माग्ने चलन प्रहरीमा पुरानै हो । अब मेस बनाउन समेत घुस माग्ने परिपाटी बढेको छ । पोखरेल महानगरीय प्रहरी कार्यालयमा हुँदा बैंकसँग पैसा लिएर कर्मचारीलाई पुरस्कार बाँडेकोमा पनि विवादमा परेका थिए । उनको सरुवासँगै त्यो कार्यक्रम रद्द भएको थियो । यसपटकको उनको कार्यक्रम पनि विवादमा परेको छ । त्यसो त महानगरीय प्रहरी कार्यालयमा सरुवा भएलगत्तै उनले आफ्नो विश्वासपात्र एसपी रेवती ढकाललाई सरुवा गराएका थिए । त्यस्तै विवादास्पद एसपी ओबहादुर रानालाई घुमुवा टोलीको हाकिम बनाएर पैसा उठाउन परिचालन गरेपछि झन् विवादमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्