Logo
Logo
इतिहास

जङ्गबहादुरको ज्यान बचाउने ती लिम्बू लप्टन


59.9k
Shares

कुनै समय राज्यले राई लिम्बूलाई मात्र भर्नामा लिने गरी एउटा पल्टन खडा भएको थियो । यो पल्टनको नाम हो, भैरवनाथ पल्टन । तर लामो समय श्रीजङ्ग पल्टन खासगरी धनकुटामा रहेको र यसको निशान अहिले पनि धनकुटामै रहनुका साथै लिम्बूहरुले यो पल्टनका लागि खान्कीस्वरुप धेरै खेतहरु राज्यलाई चढाउनु परेकोले यो पल्टन लिम्बूहरुको पल्टन भएको हो कि भन्ने भ्रम परेको छ । तर राज्यले राई लिम्बूहरुका लागि श्रीजङ्ग पल्टन नभई भैरवनाथ पल्टन स्थापना गरेको हो ।

भैरवनाथ किन राई लिम्बूको लागि स्थापना गरिएको थियो ? यसबारे ध्यान दिऔँ ।

नेपालको सैनिक इतिहास भाग–२ (तुलसीराम वैद्य र अरु (सम्पा.) २०६५ः२८६) अनुसार राजा गिर्वाणयुद्धविक्रम शाहको समयमा वि.सं. १८६७ भदौ १२ गते भैरवनाथ कम्पनीको नामबाट यो पल्टन खडा भएको हो ।

नेपाल र अङ्ग्रेजबीच भएको युद्धपछि नेपालबाट गुरुङ, मगर, राई, लिम्बू आदि जातिलाई प्रलोभन दिएर अङ्ग्रेजहरुले उनीहरुलाई भारतस्थित सेनामा बढि मात्रामा भर्ना गर्न थाले । भैरवनाथको पुरानो रेकर्डअनुसार पूर्वी क्षेत्रका राई लिम्बूहरु बढि मात्रामा विदेशी फौजमा जान थालेकोले सो यस क्रमलाई रोक्न नेपाली सेनामा विशेष सुविधा दिएर भैरवनाथलाई राई, लिम्बू मात्र भर्ना गर्ने गरी पुनसंरचना गरियो ।

यो पल्टनलाई वि.सं. २००९ अगाडीसम्म पनि राई लिम्बूको पल्टन भनिन्थ्यो । यो बडो सुरो र बलिया जवान भएको पल्टन थियो । २००९ सालमा सैनिक पुनर्गठन गर्दा राई लिम्बू पल्टनका रुपमा चिनिदै आएको यो पल्टन खारेजीमा पर्यो र सबै जातिलाई यो पल्टनमा लिन थालियो ।

नेपालको सैनिक इतिहास हेर्दा सबैभन्दा पहिले पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा सैनिकहरु संगठित गर्न थालेका हुन् । उनले सबैभन्दा पहिले वि.सं. १८१९ मा ‘श्रीनाथ’ र ‘कालीबक्स’ पल्टन खडा गरे । यसैबाट आधुनिक नेपालको सैनिक पल्टनको इतिहास थालनी भएको हो । वि.सं. १८१९ मै ‘श्रीनाथ’ र ‘कालीबक्स’का साथै ‘बर्दबहादुर’, ‘सबुज’ र ‘पुरानो गोरख’ सहित पाँच पल्टन गठन भइसकेको थियो । यिनै पाँच पल्टनलाई पृथ्वीनारायण शाहले आफ्नो अभियानमा सरिक गराएका थिए (भवेश्वर पंगेनी, “नेपालको सैनिक इतिहास सुन्दरीजल जङ्गी मेगेजिन अड्डा”–२०६८ः१८–२१) ।

यसरी सुरु गरिएको नेपालको सैनिक संगठनको संख्या नेपाल–अङ्ग्रेज युद्ध (वि.सं. १८७१–७२) सम्म आइपुग्दा ५४ वटा पुगिसकेको थियो । वि.सं. १८७१ साल कात्तिक १८ गते इस्ट इण्डिया कम्पनीकातर्फबाट गर्भनरल जनरल लर्ड हेस्टिङ्सले नेपालविरुद्ध लखनउबाट युद्धको घोषणा गरे (महेशराज पन्त, ‘पूणिमा’ पूर्णाङ्क १–वैशाख २०२१ः४७–४८) । उक्त युद्धमा भएको पराजयपछि नेपाल नफर्की कतिपय नेपाली सैनिकहरु पञ्जावका राजा रणजित सिंहको पल्टनमा भर्ना भए ।

लाहौरबाट नेपालीहरु रणजित सिंहको सेनामा भर्ना हुन सुरुवात गरेकाले विदेशी सेनामा भर्ना हुन जाने चलनलाई ‘लाहुर जाने’ भन्न थालिएको हो ।

पञ्जावकेशरी रणजित सिंह पहिले पञ्जावको सानो राज्यका राजा थिए । पछि उनले विस्तारै आफ्नो राज्य बढाउँदै लगे । नेपालीहरुले नेपाल–अङ्ग्रेज युद्धमा जुन वीरता देखाएका थिए, त्यहीँबाट रणजित सिंह प्रभावित भएका थिए । त्यसैकारण उनले नेपालीहरुलाई ठूलो स्थान दिई सम्मानपूर्वक आफ्नो सेनामा राख्न थाले (दिनेशराज पन्त, “पूर्णिमा” पूर्णाङ्क ५–वैशाख २०२२ः६४) ।

यसरी सुरु भएको लाहुर भर्तीको परम्परा अहिले पनि जारी छ । विदेशी सेनामा भर्ना भई जानेलाई ‘लाहुरे’ भन्ने चलन छँदैछ ।

नेपाल–अङ्ग्रेज युद्धपछि इस्ट इन्डिया कम्पनीले भर्ना भएका भारतीय र गोर्खाली (नेपाली) सेनाका लागि विभिन्न जातीय पल्टनहरु खडा गरी उनीहरुलाई भर्नाका लागि विशेष आकर्षण गर्न थाल्यो । अहिले पनि ब्रिटिश गोर्खा र भारतीय गोर्खा पल्टनमा यस्ता जातीय पल्टन छदैछन् ।

नेपालमा पनि केही पल्टनलाई जातीय पल्टनका रुपमा गठन गरियो । यसैक्रममा ‘भैरवनाथ’ राई, लिम्बू जातिको, ‘पुरानो गोरख’ र ‘भवानी दल’ मगर जातिको र ‘कालीबहादुर’ गुरुङ जातिको पल्टनमा रुपमा परिणत गरियो । अहिले पनि पुरानो गोरख र कालीबहादुर गणलाई क्रमशः मगर र गुरुङको जातीय पल्टनका रुपमा लिइन्छ (डा. प्रेमसिंह बस्न्यात, “नेपाली सेनाः लिगलिगकोटदेखि वर्तमानसम्म”–२०७१ः९९) । ‘भैरवनाथ’ पल्टनलाई भने आजभोली राई लिम्बूको पल्टन भनिदैन । यो पल्टन खारेजीमा परेको माथि उल्लेख गरिसकिएको छ ।

उपत्यकामा लिम्बू बस्ती
ललितपुरको तिखेदेवल क्षेत्रमा राई लिम्बूको बाक्लो बस्ती छ । कुनै समय पूर्वी नेपालबाट भैरवनाथ पल्टनमा भर्ती भई काम गर्न आएका राई, लिम्बूहरुले यो बस्ती बसाएका हुन् । राई लिम्बूसँगै कोइच (सुनुवार) र याक्खाहरुलाई पनि भैरवनाथ पल्टनमा भर्ना लिइन्थ्यो । भैरवनाथ पल्टनमा भर्ना भई आएका प्रकृतिपूजक राई, लिम्बू, याक्खा र सुनुवारहरुले आफ्नो मौलिक संस्कृति जगेर्नाका लागि उभौली र उधौली मनाउन सानो हात्तीबनको थुम्कोलाई रोजे । आज यो एउटा महत्त्वपूर्ण धार्मिक स्थलका रुपमा स्थापित छ ।

तिखेदेवलका पुराना बासिन्दा पूर्वप्रशासक तथा समाजसेवी मञ्जुलकुमार याक्थुङ्वा (वि.सं. १९९२–२०८०) तिखेदेवलको बस्ती विकास र सानो हात्तीबनमा सुरु भएको धार्मिक तथा सांस्कृतिक गतिविधिका बारेमा प्रकाश पार्ने इतिहासका साक्षी नै थिए । उनले यसै विषयमा प्रकाश पार्ने गरी ‘मौलिक किरात धर्म संस्कार’ (२०६३) नै प्रकाशमा ल्याएका छन् ।

याक्थुङ्वा (२०६३ः५५–५७) अनुसार तिखेदेवललाई पहिले ‘लिम्बू गाउँ’ भनिन्थ्यो । त्यहिँ पुरानो विरासतका कारण तिखेदेवल अहिलेका राई, लिम्बूका लागि पनि आकर्षक आवास स्थल बन्यो ।

त्यसबेला लगनखेलनेरको टुँडिखेलमा राई, लिम्बूलाई भर्ना गरी जागिर दिने भैरवनाथ पल्टन रहेको र पल्टनमा भर्ना हुन पूर्वबाट प्रशस्तै राई लिम्बू आएका थिए । उनीहरुले तिखेदेवलमा बस्ती बसाएका र सानो हात्तिबनमा भैरवनाथ पल्टनकै तत्कालीन लप्टन शम्शेरजंग फागो चोङ्बाङको अगुवाईमा यक्वा पूजा सुरु गरिएको हो । तर पल्टनबाट प्राप्त हुने सामान्य तलब सुविधाले आफ्नो र परिवारको जिविका नचल्ने भएपछि उनीहरु सेनाको जागिर अनि आफूहरुले बस्ती बसाएको तिखेदेवल छाडेर आफ्नै थातथलो पूर्वी नेपालतिर फर्के ।

राई लिम्बूहरुको सैन्य सेवाबाट पलायन
भैरवनाथ पल्टनमा भर्ना भएका राई लिम्बूहरु त्यो पल्टनको जागिर छाडी आफ्नै थातथलोमा फर्केका थिए । त्यसबेला जङ्गबहादुर राणा भर्खरै सत्तामा आएका थिए । पल्टन छाडेर ठूलो सङ्ख्यामा सैनिकहरु पलायन भएबाट जङ्गबहादुरमा ठूलै झस्को पुगेको थियो । जङ्गबहादुरले त्यसरी पल्टन छाडेर गएका राई लिम्बूको विषयमा लेखेको पत्रमा ‘चार पाँच सय किराती लिम्बू’ भन्ने परेको छ । त्यो बेलाको चार पाँच सय सङ्ख्या सानो होइन, त्यो पनि सैनिक पल्टनको । यो एक प्रकारको विद्रोह नै थियो ।

इतिहासको एउटा उल्लेखनीय यो घटनाका बारेमा इतिहासकार ज्ञानमणि नेपालले आफ्नो कृति ‘नेपालनिरुपण’ (२०५५ः३२५)मा महत्त्वपूर्ण ऐतिहासिक पत्रहरु प्रकाशित गरेका छन् ।

यस पत्रअनुसार जङ्गबहादुरले त्यसबेला दुई चार महिनाभित्र काम फत्ते गर्न कुम्भेदान शिवदल खड्कालाई पठाएका थिए । तर चार पाँच महिना बित्दा पनि आदेश पालनमा असफल भए । पत्रमा ‘हिजो भागी गएका किराती लिम्बूलाई सकेसम्म फकाएर ल्याउनू त्यति गर्दा पनि आउन मानेनन् भने श्रीजंग पल्टनको सहयोगमा नेल ठोकी ल्याउनू’ भन्ने आदेश पनि दिइएको छ । त्यसो गर्न नसके आवश्यक कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी पनि खड्काले पाएका छन् ।

१९०५ साल श्रावण वदि १३ रोज ६ मा जङ्गबहादुरले कुम्भेदान शिवदल खड्कालाई लेखेको पत्रमा ‘तिमीलाई ताहा २।४ मैह्ना गै वरवन्दोवस्त गरी रुपया पैसाका ब्यवस्था बाँधी चाँडो आउनु भनी पठायाको हो. आजसम्म आयेनौ. तिमीले तहा गर्याका जग्गाको बन्दोवस्ता काजकाम कागज पत्र सबै डिठ्ठा अजयसीं थापालाई बुझाई असल गयाका रुपया पैसा र ४।५ सय किराती लिम्बूहरुलाई सँग ली यो दस्षत पुग्याका १५ दिनभित्र ञाया हाजीर हुन्या काम गर. ति ञाहा दर्सन गरी ताहा भागी आयाका किरातीहरुलाई पनि पैल्हे बढिया पाठसँग नेपाल हीड भन्नु. आया भन्या बढिया भयो. आयेनन् भन्या भाई कर्णेल कृष्णधोज कुँवर राणाजीसँग मद्दत भागी अघीदेषि गया बमोजिमका ति भागी जान्या किरातीहरुलाई नेल ठोकी ली आउन्या काम गर्नु’ भन्ने उल्लेख छ ।

भैरवनाथबाट जागिर छाडी आफ्नै थातथलोतिर फर्केर गएका राई लिम्बू सेनालाई फर्काएर ल्याउन जसरी कुम्भेदान शिवदल खड्का असफल भए उसैगरी जङ्गबहादुर राणा पनि राई लिम्बूहरुबाट कायल हुन पुगे । उनले जागिर खान नचाहनेहरुलाई कर नगर्नू भन्ने आदेश जारी गरे ।

उनका भाई कृष्णध्वज त्यसबेला धनकुटा गौंडामा कर्णेल थिए । पहिले नै कुम्भेदान शिवदल खड्का किराती लिम्बूहरुलाई सेनामा ल्याउन असफल भएपछि जङ्गबहादुरले आफ्ना भाई कर्णेल कृष्णध्वजलाई पत्र लेखेर जागिर खान नचाहने लिम्बूवानका किरातीलाई कर नलगाउनू भन्ने आदेश दिएका छन् ।

१९०५ साल भाद्र वदि १० रोज ६ मा कर्णेल कृष्णध्वज कुँवर राणालाई जङ्गबहादुरले लेखेको पत्रमा ‘श्रावण शुदि ११ रोज ५ का दिन लेख्याको पत्र भाद्र बढि ५ रोज ७ का दिन आई पुग्यो. अर्थ मालुम भयो. उप्रान्त लिम्बूवानका लायेक् लायेक् जवानलाई ञाया पठाउनाको कुरा स्मेत् षानगीको ठेगाना बाँधि पठाइबक्सन भया बढिया होला भन्या कुरा लेषी पठाउन्या काम बढिया गरिछस्. लिम्बुवान किरातीहरुका कुरालाई अघि जागीर दिनालाई पठाइ दिनु भनी लेषिगयाको हो. अब र जागीर षादैनौं पर्जाका पर्जै रहन्छौं भन्या किरातीहरुलाई ञाया पठाउनु पर्दैन कर लगाउन्या काम नगर्नु. किराती लिन भनी महाविर देवानको छोरालाई तहा पठायाको हो तेसलाई पनि अरु ढाक्र्या किराती लैजानु पर्दैन त जा भनी चाडो ञाया पठाइ दिन्या काम गर’ भन्ने उल्लेख छ ।

भैरवनाथ पल्टनका लिम्बू लप्टन
वि.सं. १९०५ मा राई लिम्बूहरुले भैरवनाथ पल्टनको जागिर छाडेर गए पनि त्यहाँ उनीहरुको नियुक्तिले भने निरन्तरता पाएको देखिन्छ । यसको प्रमाणका लागि यो लेखमा एउटा नियुक्ति पत्र नै प्रमाणका रुपमा प्रस्तुत गरिएको छ ।

लप्टन दर्जाको यो नियुक्ति–पत्र धनकुटा जिल्लाको ताङ्खुवा बन्चरे निवासी फौदसिंह लिम्बू (१९०७–१९८०) ले जङ्गबहादुर राणाबाट पाएका हुन् । यो नियुक्ति–पत्रको प्रतिलिपि फौदसिंहका सन्तति भरत तुङ्घङ (वि.सं. २०२६–२०७४)बाट यो लेखकले प्राप्त गरेको हो । प्रधानमन्त्री जङ्गबहादुर राणाबाट उनले वि.सं. १९२८मा प्राप्त गरेको नियुक्ति पत्रको ब्यहोरा यस्तो छः

स्वस्तीश्री मदती प्रचण्ड भुजदण्डेत्यादी श्री श्री श्री महाराज जंगबहादुर राणा जी सी बी थोङ् लिन् पिम्माको काङबाङ स्यान प्राईमिनिष्टर याण्ड कमाण्डर ईन चिफ कस्य रुक्का

स्वस्तिश्री मद्राजकुमार कुमारत्मज श्री कमाण्डर ईन चिफ जनरल रणउदिपसिंह कुवर राणा कस्य पत्रम

आगे फौदसिंह लिम्बुके श्री भैरवनाथ कंपू श्री राजदल पल्टन २ पट्टीमा आफ्नै षायल ६१नम्बर लेफ्टेन षान्गी षेत २/४० जागीर बक्स भयो सवारी सीकारी उर्दि कवायत पहरा चौकी लडाई भिडाई हाल हुकुम रात बिरात आठैप्रहर टहल्मा रुजु रही निमककोसोझो चिताई षान्गी ढड्डामा दरीयाको जिमिनका जग्गाको तर्जानगदी ददई जागीर जानी भोग्यगर ईति संवत १९२८ साल मिति फाल्गूण सूदी १३ रोज ७ सुभम—

राई लिम्बूका लागि भर्ना गरिने यो पल्टन शिकार बन्दोवस्तीका लागि प्रयोग गरिन्थ्यो । राजा महाराजाहरु शिकारका लागि निस्कदा उनीहरुको ब्यवस्थापन यस पल्टनका सिपाहीहरुले गर्नु थियो भन्ने फौदसिंह लिम्बूले पाएको नियुक्ति पत्रले पनि स्पष्ट गर्छ ।

लप्टन पदको नियुक्ति पाउँदा फौदसिंह केवल २१ वर्षका थिए । उनको लप्टन पदको पगरी लगाइएको तस्बिर पनि उपलब्ध छ । तर यो तस्बिरमा उनी २१ वर्षको जवान उमेरको नभई उनको जीवनको उत्तराद्र्धमा खिचिएको देखिन्छ । यसबाट उनी प्रौढावस्थामा पनि जङ्गी सेवामा कार्यरत थिए भन्ने देखिन्छ ।

त्यो समय फोटो खिच्ने अवसर अहिलेजस्तो सर्वसुलभ थिएन । शासक वर्गको मात्र फोटो खिच्ने चलन भएको अवस्थामा एक सैन्य अधिकारीको हैसियतले पगरीसहित उनले फोटो खिच्ने अवसर पाएको देखिन्छ ।

फौदसिंहले एकै पटक लप्टन दर्जा भने पाएका होइनन् । त्यो समय लप्टन दर्जा सानो थिएन । उनी सुरुमा सिपाहीकै रुपमा जङ्गी सेवामा प्रवेश गरेका थिए ।

फौदसिंहको खनाती भरत तुङघङकाअनुसार फौदसिंह जङ्गबहादुरका अङ्रक्षक थिए । एक पटक जङ्गबहादुर शिकार खेल्न चितवन गएका थिए । हात्तीमा चढेर शिकार खेल्दै गरेका जङ्गबहादुरले हात्तीमाथिबाटै एउटा ठूलो बाघमाथि बन्दूक चलाए । बाघ मरेन र उल्टै झम्टिएर आयो । त्यसबेला जङ्गबहादुरको होशहवासै उडेको थियो । त्यतिखेरै फौदसिंहले बन्दूकको कुन्दाले हिर्काएर बाघलाई भगाए । त्यहीँ घटनाबाट प्रभावित भएर जङ्गबहादुरले सिपाहीँ दर्जाका फौदसिंहलाई लप्टन दर्जा दिएका थिए (कमल मादेन, “स्व. भरत तुङघङ स्मृतिग्रन्थ” (सम्पा. हितराम तिलिङ) २०७९ः५७–५८) ।

ताङ्खुवा बन्चरेमा केही पुराना र भब्य किसिमका झिँगटीका घरहरु छन् । तिनीहरुलाई स्थानीयहरुले ‘पक्कीघर’ भन्छन् । र फौदसिंहका खलकलाई पक्कीघर खलक भनिन्छ । तीमध्ये मूल पक्कीघर फौदसिंहले बनाएका हुन् । यस घरको बनावटबाट पनि त्यो बेलाका लप्टन फौदसिंह लिम्बूको मानमर्यादा र आर्थिक हैसियत निक्कै ठूलो थियो भन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्