Logo
Logo

अख्तियारको कठघरामा बाँस्कोटा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १३ फागुन । पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएपछि अख्तियारले त्यसको विस्तृत छानबिन गर्ने भएको छ । अख्तियार स्रोतका अनुसार आयोगले विस्तृत छानबिनका लागि अनुसन्धान अधिकृतसमेत तोकिसकेको छ । अब आयोगले यसमा संलग्न मन्त्रीलगायतका व्यक्तिसँग बयान लिएर कारवाही अगाडि बढाउने भएको छ ।

अडियो सार्वजनिक भए पनि सुरुमा बाँस्कोटा राजीनामा दिने मानसिकतामा थिएनन् । त्यसोतः प्रधानमन्त्री ओलीले समेत विपक्षीले आरोप लगाउँदैमा राजीनामा दिइहाल्न नहुने भन्दै पार्टीका अर्का अध्यक्ष प्रचण्डलाई जवाफ फर्काएका थिए । तर, सामाजिक सञ्जालको दबाब झेल्न नसकेपछि अन्ततः प्रधानमन्त्री राजीनामा माग्ने मुडमा पुगे र धनगढीबाट काठमाडौं फर्किनासाथ बाँस्कोटा मन्त्रिपरिषद्बाट बहिर्गमन भए । राजीनामा पछि अब के होला ? भन्ने कौतुहलता ब्याप्त छ । ७० करोडभन्दा बढीको डिल अडियोमा स्पष्ट सुनिन्छ । त्यति मात्र होइन, डिलका क्रममा बाँस्कोटाले बढी कमसिनका निम्ति एक अर्ब लागत बढाउन समेत सुझाब दिएका छन् । यसकारण ठूलो स्केलको यो आर्थिक अपचलनसम्बन्धी विषय पेचिलो बनेको छ ।

यो समाचार तयार पार्दासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यस प्रकरणमा बाँस्कोटामाथि कारबाहीका लागि दुईवटा निवेदन दर्ता भइसकेका छन् । एउटा निवेदनमा त प्रधानमन्त्री ओलीलाई समेत कारबाहीको माग गरिएको छ । अख्तियारले यो प्रकरणमा कसरी कदम चाल्नेछ, त्यसैमा बाँस्कोटाको आगामी राजनीतिक भविष्य निर्भर देखिन्छ । प्रधानमन्त्री ओली स्वयंले यो प्रकरण अख्तियारले हेर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्