Logo
Logo

एमसीसी : संकटमा प्रधानमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो जन्मघर तेह्थुमको आठराई पुगेर काठमाडौं फर्किए । काठमाडौं फर्किएर बेलुकी नेपाली सेनाको रात्रिभोजमा सहभागी भए जन्म दिन मनाएर । बालुवाटारमा उनको प्रतीक्षा भइरहेको थियो । जन्मदिनको शुभकामना दिन सुरक्षा निकायका प्रमुखहरू बालुवाटारमै कुरिरहेका थिए । प्रधानमन्त्री ओली आफ्नो जन्मघर पुग्दा पनि खुसी भने थिएनन् । उनको अनुहार मलिन र थकित देखिन्थ्यो ।

आफ्ना विश्वासिला गोकुल बाँस्कोटाको अडियो टेप प्रकरण सार्वजनिक हुनु र केही बुँदा संशोधन गरेर मात्र एमसीसी अनुमोदन गर्न पार्टीले दिएको सुझाबपछि उत्पन्न तनाव उनको अनुहारमा स्पष्ट देखिन्थ्यो । त्यसोतः पछिल्लो समय प्रधानमन्त्री ओलीले सरकार ढाल्ने प्रयास भइरहेको सार्वजनिक अभिव्यक्तिसमेत दिन थालेका छन् । झट्ट सुन्दा अपत्यारिलो लागे पनि उनको यो अभिव्यक्तिभित्र केही न केही रहस्य लुकेको आशंका गर्न थालिएको छ । आशंका गर्नेहरूले एमसीसी अनुमोदन नभएपछिको सम्भावित राजनीतिक दुर्घटनालाई संकेत गरेका छन् ।

प्रतिनिधिसभामा अहिले नेकपा प्रचण्ड बहुमतमा छ । सिंगो संसद्मा त एक्लै दुईतिहाइको अवस्थामा छ । त्यसमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस स्वयं एमसीसी अनुमोदनका लागि हतारिरहेकाले संसद्भित्रको अंकगणित सरकारमा सरकार सुविधाजनक अवस्थामा नै छ । तर, पनि ओली आफ्नै पार्टीका कारण संकटमा पर्दै गएका छन् । उनलाई असफल बनाउन पार्टीभित्रै एमसीसीको विरोध भएको अनुमान गर्न थालिएको छ । एमसीसी जस्ताको तस्तै पारित गर्न हुँदैन भन्ने दबाब पार्टीभित्रबाटै बढ्दै गएको छ । तर, अमेरिका नेपाली पक्षले भने जसरी संशोधनको पक्षमा छैन । संशोधनका लागि दुवै पक्ष सहमत हुनुपर्ने भएकाले कठिन देखिएको छ । नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले ८ माघमा एमसीसी संशोधन नहुने स्पष्ट अभिव्यक्ति दिइसकेका छन् । नेकपा कार्यदलको सुझाब मान्ने हो भने नेपालमा एमसीसी लागू हुँदैन । किनभने, अमेरिकी राजदूतले नेपाललाई नचाहिए एमसीसी परियोजना अरु देशमा लागू गरिने बताइसकेका छन् ।

नेपालमा एमसीसी परियोजना अन्योलमा पर्दै जाँदा मंगलबारबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हाम्रो दक्षिणी छिमेकी भारतको भ्रमणमा छन् । ट्रम्पको यस भ्रमणलाई ठूलो रणनीतिक महत्वको भ्रमण ठानिएको छ । यस्तो स्थितिमा एमसीसीको अनुमोदन हुने नहुने कुराले अमेरिकी रणनीतिबारे नेपालको पोजिसन स्पष्ट हुनेछ । ठूलो सामरिक महत्व बोकेको नेपाल उसै पनि अमेरिकाको चासोको केन्द्र बनिरहेकै छ । चीन र भारतको तीव्र विकासका कारण पनि यी दुई मुलुकको बीचमा रहेको नेपाल बाह्य शक्ति केन्द्रहरूका योजनाहरूको केन्द्रमै देखिन्छ । यस्तोमा राष्ट्रिय स्वाधीनता र अखण्डतासमेत संकटमा पर्न सक्ने भएकाले सरकारले सबै विषयको गहिरो अध्ययन गरी आवश्यक निर्णय लिनु उपयुक्त हुने जानकारहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्