मध्यपहाडी लोकमार्गलाई पछ्याउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एउटा अभियान सम्पन्न गर्यो । अभियानबाट स्थानीय स्तरमा सम्बन्ध विस्तार गर्दै राष्ट्रिय स्तरमा सन्देश दिन चाहन्थ्यो, एमाले । अभियानभर अध्यक्ष केपी शर्मा ओली लेखिरहन्थे, बोलिरहन्थे– सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय ।
मध्यपहाडी यात्राको उद्देश्य र प्राप्तिबारे एमालेभित्र सकारात्मक र उत्साहप्रद विश्लेषण छ । त्यो एमालेको पाटो रह्यो । तर, एमालेले स्थानीय तहमा कस्तो सम्बन्ध विस्तार गर्याे र के सन्देश दियो ? भन्ने मुख्य पाटो हो । जिम्मेवार राजनीतिक दलको हरेक गतिविधि समीक्षाको विषय बन्नु पर्छ ।
समृद्धिको नारा लिएर एमाले अभियानमा होमियो । नारामा जे भने पनि यो अभियान मध्यावधि निर्वाचनको तयारी थियो । कार्यकर्ता र जनतालाई मध्यावधिका लागि तयार पार्ने मुख्य उद्देश्य लिएर एमालेले अभियान सञ्चालन गरेको थियो । आमनिर्वाचन सम्पन्न भएको एक वर्ष मात्रै भएको छ । यति छिटै मध्यावधि खोज्नु आफैमा गैरराजनीतिक हर्कत हो । जुन हर्कत राष्ट्र हितमा छैन । किनकि, संसद्ले सरकार दिन सक्छ । संसद्ले सरकार दिन सक्ने अवस्थासम्म मध्यावधि संविधानले परिकल्पना गर्दैन ।
पहिलो कुरा, एमालेको उद्देश्य नै गलत थियो । गलत उद्देश्यबाट प्रारम्भ हुने कुनै पनि कर्म उचित हुँदैन । यस अर्थमा एमालेको अभियान अनुचित र औचित्यहीन थियो । अनुचित र औचित्यहीन उद्देश्यबाट सञ्चालित अभियानबाट न सम्बन्ध विस्तार भयो, न राष्ट्रिय सन्देश नै प्रवाह हुन सक्यो । पूरा भयो त केवल, एमालेलेको कर्मकाण्ड । तर, पनि एमालेले केही सन्देश भने दिएको छ ।
मुख्य कुरा त एमालेले अझै पनि आफू शक्तिशाली रहेको सन्देश दिएको छ । जुन सन्देशबाट एमाले थप उत्साहित पनि भयो । हरेक सभाहरूमा ठूलै संख्यामा नेता–कार्यकर्ता भेला पारिएका थिए । स्थानीय नेता–कार्यकर्ता ओलीको अनुहार हेरेर दंग परे । गाली सुनेर ताली बजाए । त्यो भन्दा अरू त केही उपलब्धि रहेन ।
रह्यो स्थानीय सम्बन्ध सुधारको प्रश्न । सुरक्षाकर्मीको लावालस्कर लाएर चोक चोकमा भाषण गरेर हिँड्दैमा जनतासँग सम्बन्ध सुधार हुने भए राजनीतिक दलले यति धेरै दु:ख गर्नु पर्ने नै थिएन । सहजै सम्बन्ध राम्रो बन्थ्यो । दलका उम्मेदवारले त्यसै चुनाव जित्थे ।
यसरी, सभा सम्मेलनमा सहभागी गराइने त उनै स्थानीय कार्यकर्ता हुन् । जुन कार्यकर्तासँग स्थानीय नेताले भेटघाट गरिरहेकै हुन्छन् । कार्यकर्तासँग भेटघाटकै लागि यत्रो नाटक आवश्यक नै थिएन । अभियानमा एमालेले जनतासँग त भेटघाट नै गरेन । अध्यक्ष ओलीकै अनुहार देखाउन अभियान सञ्चालन गरेको भए बेग्लै कुरा ।
अध्यक्ष ओलीको थप देवत्वकरण एमाले अभियानको अर्को सफलता हो । एमालेभित्र ‘बा’का रूपमा स्थापित ओली मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानबाट थप लोकप्रिय बनेका छन् । अन्य नेताहरूले अध्यक्षको पछि–पछि दगुर्ने बाहेक जिम्मेवारी पाएनन् । हरेक सभालाई ओलीले मात्र सम्बोधन गरे । हरेक सभा र मध्यपहाडी लोकमार्गले छोएका चोक–चोकमा यत्रतत्र ओलीका तस्बिरहरू सजाइएका थिए ।
मध्यपहाडी लोकमार्गले छुने अन्य प्रदेशहरूमा एमालेलाई सहजै भयो । तर, प्रदेश १ प्रवेश गरेसँगै अनेक व्यवधान खेप्नुपर्याे । प्रदेश नामकरणमा असहमत पहिचानवादी आन्दोलनमा रहेकाले एमालेलाई सहज भएन । पहिचानप्रति अति अनुदार व्यवहार र अभिव्यक्तिका कारण एमाले निसानमै थियो । धनकुटा पुग्दा अध्यक्ष ओलीमाथि मुक्का प्रहार भयो । नेतृत्वमाथि भौतिक आक्रमण गैरराजनीतिक हर्कत भए पनि कर्मको फल थियो ।
प्रदेश १ मा अभियान सञ्चालन गर्ने सन्दर्भ एमालेका लागि प्रतिष्ठाको विषय थियो । प्रदेश १ प्रवेशमै रोक लगाउने पहिचानवादीको तयारी एमालेका लागि चुनौती थियो । तर, हजारौँ सुरक्षाकर्मीको घेरामा एमालेले आफ्नो यात्रा पूरा गर्याे । पहिचानवादीको गढ मानिएको फिदिममा विशाल जनसहभागितामा सभा सम्पन्न गर्दै ‘ह्यप्पी इन्डिङ’ गर्ने एमालेको मुख्य योजना भने असफल भयो । पहिचानवादीको डरले मध्यपहाडी लोकमार्गको सडक यात्रा छोडेर ओली हेलिकप्टरबाट चिवाभञ्ज्याङ पुगे ।
एमाले पहिचानवादीलाई ‘हामी कोशीमा कमजोर छैनौँ’ भन्ने सन्देश होइन जवाफ दिन चाहन्थ्यो । तर, त्यो जवाफ अन्य प्रदेशहरूमा झैँ सहजै दिने हिम्मत र क्षमता एमालेसँग थिएन । एमाले प्रदेश १ प्रवेश गरेसँगै सुरक्षाकर्मीको संख्या हजारौँले वृद्धि गरियो । हरेक सभा र एमालेको सवारीमा नेता कार्यकर्ताभन्दा सुरक्षाकर्मी धेरै थिए । सयौँ पहिचानवादीलाई ‘आन्दोलन गर्न सक्छ’ भन्ने आशंकामा पक्राउ गरियो, नजरबन्दमा राखियो । हरेक ठाउँमा अवरोध नै अवरोध रह्यो ।
फिदिम सभामा मात्र ५ हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । शनिवार सुरक्षाकर्मीको उपस्थितिले सडक, गल्ली, चोक र धारा–चौतारा सबै भरिएको थियो । फिदिमका नागरिकले जनयुद्धको संकटकाल जस्तै अवस्था सामना गर्नु परेको थियो । जहाँ, प्रहरीले बन्दुकको नालबाट जनतालाई नियन्त्रणमा राखेका थिए । नागरिकलाई निगाहमा राख्न एमालेले सत्ता र शक्तिको दुरुपयोग कति गर्छ ? भन्ने राम्रो उदाहरण बन्यो, एमालेको अभियान ।
किरात र लिम्बुवान भूगोलमा प्रवेश गर्दै गर्दा एमालेसँग ऐतिहासिक अवसर थियो । जुन भूगोलबाट एमालेले आफूलाई लागेको ‘पहिचान विरोधी’ आरोप खण्डन गर्ने राम्रो अवसर थियो । हरेक सभाहरूबाट आफ्नो पार्टी पहिचानको पक्षमा रहेको सन्देश प्रवाह गर्न सकेको भए एमालेका लागि यो अभियानबाट ऐतिहासिक सफलता मिल्ने थियो । तर, एमालेले त्यो अवसर सदुपयोग गर्न सकेन । बन्दुककै भरमा रजगज गर्ने मानसिकताबाट अघि बढ्दा पहिचानवादीसँग झनै दुरी बढ्यो ।
अभियानका क्रममा एमालेले पहिचानवादीसँग सम्बन्ध सुधार गर्न सकेको भए ओलीको नारा झैँ एमालेको सम्बन्ध स्थानीय स्तरमा विस्तार हुन्थ्यो । र, देशभर अस्तित्व रक्षाका लागि संघर्ष गरिरहेको ठूलो तप्कामा सकारात्मक सन्देश प्रवाह हुन्थ्यो । त्यो नै अभियानबाट एमालेले दिन खोजेको राष्ट्रिय सन्देश हुन्थ्यो । तर, राज्य शक्तिको दुरुपयोग गरेर पहिचानवादीलाई पक्राउ गर्दै एमालेले सम्बन्ध झनै बिगार्यो, एमाले साँच्चिकै पहिचान विरोधी पार्टीको रूपमा थप सन्देश प्रवाह भयो ।
जनता राजनीतिक दलका आधार हुन् । जनता नहुँदो हो त राजनीतिक दल नै हुँदैनन् । त्यसैले, राजनीतिक दल र जनताबिच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्छ । तर, एमाले र जनताबिचको सम्बन्ध शत्रुवत देखिन्छ । एमालेका हरेक नेता जनतासँग त्रास बोकेर हिँडिरहेका छन् । त्यसैले, हजारौँ सुरक्षाकर्मी लिएर एमालेले अभियान समान गर्यो । यस घटनाले के पुष्टि गर्छ भने, एमालेलाई जनतासँग अलिकति पनि विश्वास छैन । जनताबाटै एमाले असुरक्षित छ ।
राजनीतिक दल जनतासँग डराउँछन् भने बुझ्नु पर्ने हुन्छ– त्यो दलको राजनीतिक भविष्य समाप्त हुँदै गएको छ । जनतासँग सम्बन्ध सुधार गर्न अभियानमा निस्केका एमालेहरू राजा महाराजाहरू जस्तै हजारौँ सुरक्षाकर्मी लिएर हिँड्नुपर्ने कारण नै थिएन । यदि, जनताबाट आफू सुरक्षित महसुस गरेको भए वा जनताले एमालेलाई आफ्नो पार्टी मनेको भए ठाउँ ठाउँबाट लखेटिनु पर्ने नै थिएन ।
अभियान उपलब्धिपूर्ण भएको एमालेको विश्लेषण होला । तर, जनतासँग जोडिने प्रयास असफल भयो । मध्यावधि निर्वाचनका लागि जनता तयार पार्ने योजना विफल भयो । न त स्थानीय स्तरमा सम्बन्ध विस्तार गर्न सक्यो, न त राष्ट्रिय सन्देश नै दिन सफल भयो । एमालेको अभियानबाट अरू दलले पनि सिक्नुपर्ने कुरा– अर्थहीन अभियानबाट मनोकांक्षा पूरा हुँदैन ।