काठमाडौं । चामलको मूल्य गत वर्षको यही सिजनमा भन्दा प्रतिकिलो १२ देखि १५ रुपैयाँसम्म मू्ल्यबृद्धि भएको छ । प्रायः आम उपभोक्ताले प्रयोग गर्ने मोटो चामलको मूल्य धान उत्पादनको सिजनमा समेत बढ्नुले उद्योगीहरूको मनोमानीमा मुलुक चलेको छ भन्ने स्पष्ट देखिन्छ ।
मूल्य नियन्त्रण तथा बजार अनुगमनका लागि वाणिज्य विभाग भए पनि विभागको ध्यान भने त्यसतर्फ केन्द्रित भएको देखिँदैन । बास्मती चामल भारतबाट निर्यात भएर आउने भएका कारण नेपालमा प्रायः मोटो चामलको उत्पादन र बिक्री हुँदै आएको छ ।
करिब ६० वटा ठूला र ३०० वटा साना चामल उद्योगहरूले मनोमानी ढंगले एकतर्फीरुपमा मूल्यवृद्धि गरेका हुन् । वाणिज्यको ध्यान भने व्यापारी पोसाउनमै केन्द्रित देखिएको छ ।
केएल दुगडले दशैंताका आयात गरेको प्रतिकेजी १ हजार २ सय रुपैयाँ मूल्यको काजु र जीरा बिकाइदिनका लागि नेपाली बजारमा १ हजार १ सय ५० रुपैयाँमै बिक्री भइरहेका अन्य निर्यातकर्ताले भित्र्याएका काजु र जिरालाई जथाभावी छापा हानेर बन्द गरियो ।
दुगडको सामान बिकाउनका लागि सस्तो मूल्यमा बिक्री गरिरहेका बिक्रेताको गोदाममा छापा हानी सिल गर्ने काम भयो । यसमा वाणिज्य विभागको नेतृत्वका साथै उद्योगमन्त्री रमेश रिजाललाई समेत प्रभावमा पारेको बताइन्छ । मन्त्रालय स्रोतका अनुसार, दुगडले आफ्नो सामान महंगोमा बेच्दा पनि ठूलै प्रभावमा तैँ चुप, मै चुपको अवस्था सिर्जना गरियो ।
अहिले त्यही दुगड कम्पनीले शुद्ध तोरीको तेल भन्दै धारा ब्राण्डको तोरीको तेल प्रतिलिटर ३ सय ४० रुपैयाँका दरले बेचिरहेको छ । उपभोक्तालाई झुक्याएर उक्त तेल बेचिरहेको दुगडले तोरीको तेल भन्दै अर्को ब्राण्डको प्रतिलिटर २ सय १० रुपैयाँमै बजारमा ल्याएको छ ।
जबकि नेपाली बजारमा तोरीको दाना नै प्रतिकेजी १ सय ३५ रुपैयाँ पर्छ । त्यस्तो तोरीको ४० प्रतिशत मात्रै तेल आउने विज्ञहरू बताउँछन् । यस्तो अवस्थामा दुगडले कसरी शुद्ध भन्दै ती मूल्यमा तोरीको तेल बेचिरहेको छ ? यसमा वाणिज्य विभागको ध्यान जानसकेको छैन ।
मन्त्रालय र वाणिज्य विभागको नेतृत्वलाई प्रभावमा पारेर दुगडले तोरीको तेलको नाममा बिषाक्त तेल बिक्री गरी जनस्वास्थ्यमा ठूलो खेलवाड गर्दा पनि खाद्य तथा प्रविधि विभागको पनि ध्यान जानसकेको छैन । खाद्य पदार्थको अनुज्ञापत्र खाद्य विभागबाट नलिई कुनै पनि खाद्य पदार्थ बेचविखन गर्न पाइँदैन ।
सानातिना समस्यामै अल्झिएको विभागको नेतृत्वले विभागलाई प्रभावकारी बनाउने नाममा गतसाता आधा दर्जन कर्मचारीहरूको हेरफेर गरेको छ । विभागका महानिर्देशक तीर्थ चिलुवालले प्रशासन शाखाकी शाखा अधिकृत कविता केसी बोगटीलाई आयात निर्यात शाखामा, आयात निर्यातका शाखा अधिकृत नारायण भट्टराईलाई प्रशासन शाखामा, प्रशासन शाखाका शाखा अधिकृत गिरिराज मिश्रलाई अनुगमनमा पु¥याएका छन् ।
यसैगरी अनुगमनका अमित झालाई फर्म शाखामा लगिएको छ । जगेडामा राखिएका इन्द्रसिंह सामन्त लगायतका तीन जना सुब्बा साबहरूलाई मन्त्रालयको बरण्डा जिम्मा लगाइएको छ भने उद्योग विभागबाट वाणिज्य लखेटिएका नासु भूपेन्द्र बस्नेतले आफैं सरुवा मिलाएर श्रम विभागतिर हानिएका छन् ।
सञ्चार माध्यममा महानिर्देशक र निर्देशक आनन्दराज पोखरेलबीच दूरी बढेको चर्चा चलेपछि दुवै अहिले शान्त देखिएका छन् । दुवैले आ–आफ्नो गल्ती महसुस गर्दै परिवार जस्तै मिलेर काम गर्ने भन्दै भद्र सहमति गरेको मन्त्रालयमा चर्चा छ ।