काठमाडौं । काठमाडौं । नेपाली सेनाको हतियार लगायतका सामान खरिदमा तीन ठेकेदारको होडबाजी चलेको छ । विचौलियाका रुपमा चर्चा कमाएका ठेकेदार दीपक भट्ट, शम्भू भारती र सेनाकै पूर्वजर्नेल विज्ञानदेव पाण्डेको होडबाजी चलेको हो ।
सेनाले चीनबाट २६ वटा एपीसी खरिद गर्ने निश्चित भएपछि त्यसको नेपाल एजेण्ट को रहने भन्ने बारेमा उनीहरूबीच होडबाजी चलेको हो । सेनाले ३३ मिलियन अमेरिकन डलर करिब ४ अर्ब ४२ करोड रकम बराबरको एपीसी र सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै एलसी खोलेपछि चिनियाँहरूले विचौलिया मुक्त गराउने कोसिस गरे पनि लोकेन्द्र कार्की त्यसको नेपाल एजेण्ट बनेका छन् । भारतले शम्भु भारतीलाई नेपाल एजेण्ट बनाएको छ ।
यस्तै, सैनिक हेलिकोप्टरको पार्टपुर्जा खरिदमा भने पूर्वजर्नेल विज्ञानदेव पाण्डेको मनोमानी देखिएको छ । सेनाले ४ अर्ब बराबरको सैनिक सामग्रीका लागि ५ वटा एलसी खोलिसकेको छ । जसमा २ वटा एलसी राष्ट्र बैंकको स्वीकृतिको चरणमा छ ।
सेनाले चीनको नोरिन्कोबाट २६ वटा एपीसी र सैनिक सामग्री खरिद गर्न लागेको छ । सेनाले एपीसी र एम्युनिसन प्लान्टसमेत चीनबाट खरिदको तयारीको लागि प्रक्रिया अघि बढाइसकेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणलगत्तै सेनाको एपीसी र सैनिक सामग्री खरिद प्रक्रिया अघि बढेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति शर्माको छलफलपछि सेनाले खरिद प्रक्रिया अघि बढाएको सैनिक स्रोत बताउँछ ।
सेनाले चीनबाट मात्र होइन, भारतबाट समेत सैनिक सामग्रीको खरिद प्रक्रिया अघि बढाएको छ । सेनाले भारतबाट समेत ४ वटा महेन्द्रा कम्पनीको एपीसीको एलसी खोलिसकेको छ ।
त्यसका साथै थप १२ वटा एचएमएलटी, ५.५६ को गोली, केस कप्स, वुलेट कप्स, बक्सर प्राइमर (१२०३), डबल बेस प्रोपेलान्ट लगायत भारतीय कम्पनी एमआईएललाई दिएको छ ।
सेनाले दुवै देशबाट सैनिक सामग्री खरिद गरेर सन्तुलित सम्बन्ध कायम गर्न खोजेको भएपनि भारतले भने त्यसलाई निको मानेको छैन ।
सेनाले खरिद प्रक्रिया जी–टु–जी भने पनि त्यसमा उच्च राजनीतिक नेतृत्व निकट ठेकेदारहरूको संलग्नता छ । उनीहरूकै डिजाइनमा सेनाले खरिद प्रक्रिया अघि बढाएको स्रोतले दाबी गरेको छ ।
चिनियाँ कम्पनी नोरिन्कोको नेपाली एजेण्ट कांग्रेस नेता ज्ञानेन्द्र कार्कीका भाइ ठेकेदार लोकेन्द्र कार्की, भारतीय कम्पनी महेन्द्राको एजेण्ट शम्भु भारती र एमआईएलका प्रतिनिधि भने ठेकेदार महेश शर्मा छन् । शर्माको पछाडि प्रधानसेनापतिनिकट विनोद पन्तको समेत संलग्नता रहेको स्रोतको दाबी छ । नोरिन्कोको कागजमा प्रतिनिधि भने कार्कीकै स्टाफ राजकुमार नाइडुको नाम छ ।
यस्तै पाण्डेको शेयर लगानी रहेको टार्गेट सर्भिस सपोर्ट प्रालि नेपाली सेनाले सञ्चालन गरेको हेलिकोप्टरको पार्टपूर्जा खरिदमा संलग्न रहेको छ । गत साउनमा सो कम्पनीले ल्याएको पार्टपूर्जामा विमानस्थल भन्सार कार्यालयले शंका रहेको भन्दै जानकारी मागेको थियो । उक्त कम्पनी भूतपूर्व सैनिक अधिकारी संलग्न कम्पनी हो । सेनाको उपरथीबाट रिटायर्ड भएका पाण्डे यो कम्पनीका मुख्य लगानीकर्तामध्ये एक हुन् ।
नेपाली सेनाले एमआई–१७ हेलिकप्टरको लागि खरिद गरेको पार्टपूर्जाको मूल्यमा ‘शंका’ उब्जिएको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले हेलिकप्टरको पार्टपूर्जा खरिदको मूल्यमा ‘शंका’ गरेपछि विवरण मागेको थियो । आफैंले ‘शंका’ उठाएर जाँचपास रोकेको भन्सार कार्यालयले उक्त सामग्री भने ‘फास्ट ट्रयाक’बाट पठाएको थियो । यसमा भन्सार कार्यालय र उच्च सैनिक अधिकारीहरूको ‘मिलेमतो’को आशंका गरिएको छ ।
सेनाले आर्थिक वर्ष २०७९÷८० का लागि एक करोड ९४ लाख (मुअकरबाहेक) रुपैयाँ बराबरको हेलिकप्टरको पार्टपूर्जा खरिद गरेको थियो । उद्धार कार्य, विपद् व्यवस्थापन तथा भिभिआइपी मुभमेन्टमा प्रयोग गरिने एमआई–१७ हेलिकप्टरका लागि आवश्यक पर्ने पार्टपूर्जा खरिदका लागि सेनाले टेण्डर गरेको थियो । यो ठेक्का त्रिपुरेश्वरस्थित टार्गेट सर्भिस सपोर्ट प्रालिलाई दिएको थियो । उक्त सर्भिसले सेनाको एमआई–१७ हेलिकप्टरको पार्टपूर्जा ल्याएकोमा भन्सारले ‘शंकास्पद’ मान्दै जाँचपास रोकेको थियो ।
भन्सारले जाँचपास रोक्दै सोको वास्तविक कारोबार र मूल्य के हो भनी प्रश्न उठाएको थियो । भन्सारले उक्त प्रालिलाई त्यसको थप कागजात तथा प्रमाण पेश गर्न चिठी लेखेको थियो । भन्सारले गत साउन १६ गते कम्पनीलाई चिठी लेखेको थियो । चिठीमा कम्पनीले जाँचपासका पेश गरिएका कागजात हेर्दा र भौतिक परीक्षण गर्दा मूल्य शंकास्पद देखिएको उल्लेख छ ।