काठमाडौं । दाना भनेर ल्याएको सामानमा सुपारी भेटिएपछि भन्सार कार्यालय वीरगन्जका कर्मचारीहरू शंकाको घेरामा परेका छन् । केहीदिनअघि वीरगञ्जस्थित सुक्खा बन्दरगाहामा १२० टन अवैध सुपारी भेटिएपछि उनीहरू शंकको घेरामा परेका हुन् ।
अर्थमन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार भन्सार विभागले काठमाडौंबाट १२० टन सुुपारी नियन्त्रणमा लिएको हो । त्यसमा भन्सार प्रमुख डिलाराम पन्थीको मिलेमतोमा सुपारी तस्करी भएको अनुमान गर्दै भन्सार विभागले सूक्ष्म अनुसन्धान शुरु गरेको छ ।
फिड सप्लिमेन्ट (पशुपन्छीको दाना) घोषणा गर्दै भन्सार यार्डमा राखेका कन्टेनरबाट विभागबाट खटिएको टोलीले सुपारी बरामद गरेको स्रोतले जनाएको छ । पशुुपंक्षीको दानाको रुपमा ल्याइएको सो सामानमा सुुपारी फेला परेपछि वीरगन्जका व्यापारीहरूबीच हल्लीखल्ली भएको छ । भन्सार यार्डमा रहेका सामान कुन व्यवसायीको भन्ने छानबिनका क्रममा रहेको स्रोतले जनाएको छ ।
बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिवन्ध रहेका वस्तुहरूलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सारबाट छुटाउन व्यवसायीले सुपारीलाई फिड सम्लिमेन्ट बनाएको विभागका अधिकारीहरूको दाबी छ । पशुपन्छीको दानामा ५ प्रतिशत भन्सार महसुल मात्रै लाग्ने, मूल्य अभिवृद्धि कर नलाग्ने भएकाले व्यवसायीले तेस्रो मुलुकबाट पशुपन्छीको दाना भन्दै सुपारी, पोस्ता दाना ल्याउन लागेको स्रोतले जनाएको छ । विभागबाट खटिएको टोलीले ६ वटा कन्टेनर खानतलासी गरेको थियो ।
६ वटा कन्टेनरमा ३० देखि ३५ प्रतिशत फिड सप्लिमेन्ट र बाँकी सुपारी भेटिएको थियो । केही कन्टेनरमा मरिच लगाएतका सामान भए पनि व्यवसायीले दाल घोषणा गरेका छन् । इन्डोनेसिया, मलेसिया लगायतका तेस्रो मुलुकबाट पशुपन्छीको दाना राख्ने बोरामा सुपारी हालेर ल्याइएको थियो । विभागले २० टन सुपारी बरामद गरेको थियो ।
यस्तै, विभागले अहिलेसम्म पोस्ता दाना, छोकडा, मरिच लगायतका सामानहरू बरामद गरिसकेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवन्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएको सूचनापछि विभागले सर्च अभियान चलाएको थियो ।
विभागका शाखा अधिकृत मधु खनालको नेतृत्वमा रहेको टोलीले पहिलो चरणमा सन् २०१८ देखि थन्किएर रहेका, ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका वस्तुहरू रहेका करिव ३८० कन्टेनरहरू खोलेर चेकजाँचको काम सुरु गरेको छ । हालसम्म १९० कन्टेनरहरूको चेकजाँच सम्पन्न गरेको स्रोतको दाबी छ ।
चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिवन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेको भन्सार विभागले जनाएको छ ।