Logo
Logo

सरुवा नीति लत्याउदै सशस्त्रका एआइजी


23.1k
Shares

काठमाडौं । अनुगमनका नाममा केही पुराना सारथि र घुमुवा लिएर सशस्त्र प्रहरीका युनिट पुगेर आएका सशस्त्र प्रहरीका एआइजी चन्द्रप्रकाश गौतम (सीपी) आफ्नो अनुकुल चल्न थालेका छन् ।

घुम्दैफिर्दै संगठनको महत्वपूर्ण विभाग मानवस्रोतमा प्रवेश गरेका एआइजी गौतमले युनिट सरुवादेखि प्रहरी कर्मचारीको व्यक्तिगत सरुवामा समेत आफ्नो अनुकुल कार्य गर्न थालेका हुन् । दुई दिनअघि मात्रै काठमाडौ आइपुगेका उनले सरुवा नीतिलाई उल्लंघन गरेर सशस्त्र प्रहरीलाई नेपाल प्रहरीको सरुवा नीति भन्दा पनि तल्लो तहमा पुर्याएका छन् ।

संगठन प्रमुख राजु अर्यालले मेरिट बेशका आधारमा सरुवा नीति बनाई कार्यान्वयन गराइराखेको बेला उनले त्यसलाई भताभुंग बनाएका छन् । सशस्त्र प्रहरीले दुई महिनाअघिदेखि मात्र थालेको युनिट सरुवा नीतिलाई एआईजी गौतमले आफ्नो स्वार्थअनुसार प्रयोग गर्न थालेपछि थप विवादमा परेको हो ।

मानवस्रोत विभागमा सरुवा भएर आएपछि गौतमले युनिट सरुवालाई तीव्रता मात्र दिएका छैनन्, आफू अनुकुलका घुमुवा प्रहरीलाई पनि सातवटै प्रदेश कार्यालयमा परिचालन गरेका छन् ।

यतिबेला सशस्त्र प्रहरीमा बाहिनी, गण, गुल्म र प्लाटुनलगायतका संरचना रहेको छ । मधेशप्रदेशमा रहेका प्लाटुन तहमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको विषयलाई लिएर गुनासा बढ्न थालेपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्लाटुन तहसम्म मात्रै युनिट सरुवाका लागि अनुमति दिएका थिए । तर, उनले रोक्दै गुल्म तहसम्मकै गरी १२ वटा युनिटको एकआपसमा परस्पर सरुवा गरिसकेका छन् ।

यति मात्र नभई भविष्यमा गण तहका इकाइको समेत सरुवा गरिने योजना रहेको भन्दै कार्यक्षेत्रमा रहेका तल्लो तहका कर्मचारीको मनोबल गिराउने काम गरिरहेका छन् । ‘यसै त भर्नामा कम दरखास्त परिरहेको बेला एआइजी गौतमले वृत्ति विकासमा असर पर्ने गरी सरुवा र बढुवा गर्दा असर परेको छ’, सशस्त्र प्रहरी मुख्यालय स्रोतल भन्यो ।

सशस्त्र प्रहरी बलले हालसम्म नम्बर ६ छिन्ताङ गुल्म धनकुटा र प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, नम्बर १८ गुल्म दोलखा र प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुर धनुषा, नम्बर २३ मनकामना गण भानु तनहुँ मातहत आश्रित गुल्म लमजुङ र प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रूपन्देहीको एकआपसमा परस्पर सरुवा भइसकेको छ ।

त्यस्तै, नम्बर ३३ गण जुम्ला मातहत आश्रित गुल्म दैलेख र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँके, नम्बर ५१ गुल्म बैतडी र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरको समेत परस्पर सरुवा भएको छ ।

यसअघि नम्बर १५ गण काभ्रेको ‘क’ गुल्म र नम्बर ७ गण सिरहाको ‘क’ गुल्मको गुल्म फर्मेसनमा सरुवा गरिएको थियो । उनी सेनाबाट सशस्त्र प्रहरीमा प्रवेश गरेकाले त्यही अनुसार अघि बढाउदा अर्धसैन्य संरचना पनि विग्रन गएको सशस्त्र प्रहरी बल स्थापना भएपछि भर्ना भएका एक एसपीले भने ।

‘सकेसम्म घरपायक, घरपायक नभएको अवस्थामा नजिकको युनिटमा । श्रीमान् श्रीमती नै सशस्त्र प्रहरीमा कार्यरत रहेको अवस्थामा सकेसम्म एकै ठाउँमा राख्ने,’ सशस्त्र प्रहरीको सरुवा नीतिमा उल्लेख छ ।

यो नीति बिल्लादार जवान र तल्लो तहका अधिकृतमैत्री थियो । त्यसैले उनीहरूको हितलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी मुख्यालयले सरुवासम्बन्धी नियममा उनीहरूलाई एउटा फर्म भर्न लगाइथ्यो । जसमा तीनवटा युनिट छनोट गर्न भनिन्थ्यो । र, सकेसम्म फर्ममा उल्लेख भएअनुसार सरुवा गरिन्थ्यो । यो नियमले धेरै बिल्लादार जवान र जुनियर अधिकृतले राहतको स्वास फेरेका थिए ।

युनिट सरुवाका नाममा अहिले धेरैको परिवारमा समस्या आएको छ । बिनाजानकारी र समय नदिई युनिट सरुवा गरिएकाले उनीहरूका सन्तानको पठनपाठनमा समस्या आएको छ । पारिवारिक रूपमा आर्थिक भार पनि बढेको छ ।

सबैभन्दा अचम्मको कुरा त, एआईजी गौतमको लहडले उनी नेतृत्वको मानवस्रोत विभागले जसरी युनिट सरुवा गरिरहेको छ, सो शीर्षकमा बजेट नै छैन । एउटा युनिटबाट अर्काे युनिटमा जाँदा लाग्ने खर्चको रकम अर्काे शीर्षकको रकमबाट मिलाउनुपर्ने अवस्थाले सशस्त्र प्रहरीको आर्थिक प्रशासन महाशाखामा कार्यरत लेखा अधिकृतलाई नै भ्रष्टचारको आरोप लाग्नसक्ने खतरा रहेको छ ।

उनलाई यसो गर्न सल्लाह दिनेमा हालका प्रवक्ता एसएसपी राजेन्द्र खड्का, कानुनका एसएसपी युवराज अर्याल र अर्का एसएसपी होम ज्ञवाली रहेका छन् । तर, ज्ञावालीकी बहिनीलाई पनि यही मेसोमा सरुवा गरेपछि भने उनी अलि टाढा भएका छन् ।

ज्ञवालीकी बहिनीलाई सरुवा गर्दा अपायक परेको मात्र होइन उनी यूनिटमा पुगेको केही सयममा गौतमनिकट रहेका एक इन्स्पेक्टरलाई ल्याउन खोजेपछि ज्ञवाली चिढिएका थिए । पछि त्यो सरुवा बदर गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्