Logo
Logo
सम्झना

त्यो एक रातको बास


4.9k
Shares

सञ्चारकर्मी विद्या चापागाईँको समूहले सञ्चालन गरेको ‘हेर्ने कथा’मा ‘गजेन्द्र सरको कथा’ हेरेपछि ती सरसँग भेट गर्ने इच्छा मनमा तीव्र बन्न पुगेको छ ।

गजेन्द्र सर अर्थात् गजेन्द्र राना मगर सुर्खेतको गुर्भाकोट नगरपालिकाभित्र पर्ने गुमीस्थित ढोडेनीमा रहेको जनसंयुक्त विद्यालयमा लामो समयदेखि स्वयम्सेवी शिक्षकका रुपमा सेवा गरिरहेछन् । विद्यालयमा उनको प्रवेश भएपछि विद्यालयको मुहार फेरिएको छ । ग्रामीण विकास विषयमा स्नातकोत्तर उनी आफ्नो भविष्यलाई थाती राखेर उक्त विद्यालयको नानीबाबुको भविष्यप्रति चिन्तित हुँदै पढाइरहेका छन् । विद्यालयको स्तरोन्नतिमा समर्पित छन् ।

उनी आफै एक अनाथ हुन्, जो एक अनाथश्रममा हुर्के, बढे र पढे ।

पछिल्लो समय गुर्भाकोट नगरपालिकाले उनलाई नगरभरिका अनाथ, असहाय र जोखिममा परेका बालबालिकालाई सेवा दिन आवासीय छात्रावास सञ्चालनका लागि छात्रावास व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको खबर पाएपछि झन् सुर्खेत जाऊँ जाऊँ लागेको छ । त्यहाँ पुगेर गजेन्द्र सरसँग भेटूँ भेटूँ लागेको छ ।

सुर्खेत जिल्ला मेरो लागि एउटा विरानो ठाउँ हो, जहाँ अहिलेसम्म मैले आफ्नो पाइला हाल्न पाएको छैन । र, सुर्खेतबासीमध्ये अत्यन्तै न्यून व्यक्तिहरुसँग मात्र मेरो चिनापर्ची छ ।

तर जब जब सुर्खेत शब्द मेरो कानमा गुन्जन्छ वा मेरो आँखाले पढ्छ, तब मेरो मनसपटलमा एक भद्र व्यक्तित्त्वको छायाँ सल्बलाई हाल्छ । म नोस्टाल्जिक हुन्छु । मझौला कदका, केही मोटाघाटा र सहृदयी ती भद्रसँग मैले केवल एक पटक साक्षात्कार गर्ने अवसर पाएँ । उनी हुन्, सुर्खेतबासी जीवनकुमार शाक्य । यी अग्रज व्यक्तित्त्वले केही दिनअघि मात्रै भौतिक संसार छाडेछन् । उनको देहान्तको खबरले म मर्माहत हुन पुगेको छु ।

उनलाई सम्झदै उनीसँग सम्बन्धित मेरो जीवनको एक अविस्मरणीय घटना लेख्ने जमर्को गरिरहेको छु, यतिखेर ।

०००

सकेसम्म कसैबाट केही लिन नपरोस, बरु सकेसम्मको दिन पाइयोस । मेरो मनमा सधैँजसो यस्तै विचार आइरहन्छ । आफूले सकेको केही दिन पाऊँदा मनभरि आनन्दको लहर सञ्चारित हुन्छ । अनि आफूले कसैलाई दिएको घटना म सकेसम्म विर्सन चाहन्छु ।

यस प्रसङ्गमा यहाँ एउटा घटना उल्लेख गर्न चाहन्छु ।

उमेरमा मेरा अनुज पुस्ताका राजेश चाम्लिङले पत्रकारिता क्षेत्रमा छोटो समयमा राम्रैसँग फड्को मारिरहेका छन् । उनी गोरखापत्र संस्थानमा आठौँ तह (सहसम्पादक) पदमा रहेर पत्रकारिता गरिरहेका छन् ।

पत्रकारितामा आउने हुटहुटी साँचेर काठमाडौँको फूटपाथमा जुत्ता खियाउँदै हिडिरहेका उनको पहिलो लेख मेरै सहजिकरणमा ‘नेपाल समाचारपत्र’मा छापिएको उनैको संस्मरण पढ्दा पो थाहा पाएँ ।

कुरा २०५८–५९ तिरको रहेछ । त्यसबेला म कामना पब्लिकेसन्सको ‘साधना’ मासिकमा कार्यरत थिएँ । त्यसबेला राजेश मेरो सम्पर्कमा आएका रहेछन् । उनले ‘लिम्बू जातिको विवाह प्रणाली’का बारेमा लेख लेखे पनि लेखसँग सम्बन्धित फोटो र लेख छाप्नका लागि उचित सञ्चारमाध्यम नपाएर अलमलमा परेका रहेछन् । नयाँ र अपरिचित लेखकका लागि सुरुमा सञ्चारमाध्यम एक प्रकारको मृगतृष्णाजस्तै हुन्छ । यस्तै मृगतृष्णा लिएर उनी मेरो सम्पर्कमा आएका रहेछन् । मैले उनलाई उनको लेखसँग सम्बन्धित फोटो मात्र उपलब्ध नगराई मेरै सहजिकरणले त्यो लेख ‘नेपाल समाचारपत्र’ छापिएको रहेछ ।

यसभन्दाअघि एक अग्रजसँग फोटो माग्दा सुरुमै फोटोको पैसा मागेको, ८० रुपैयाँ तिरेर फोटो लिए पनि उक्त फोटोको लागि लेखिएको लेख कहिँ कतै पनि प्रकाशन गर्न असमर्थ भएका राजेशले मबाट फोटो पाएपछि मलाई सोधेका रहेछन्, ‘दाई, फोटोको लागि कति रुपैयाँ दिऊँ ?’ मैले हाँस्दै भनेको रहेछु, ‘हा हा हा केको पैसा ? पर्दैन, भाइको लागि यो मेरो सहयोग हो ।’

मेरो सहजिकरणबाट लेखिएको लेखको पारिश्रमिकवापत उनले त्यसबेलाको प्रचलनअनुसार कर कटाएर ४७५ रुपैयाँ पारिश्रमिक पाएका रहेछन् । लेखेर पाएको उनको यो पहिलो कमाई रहेछ । त्यो दिन उनी साह«ै खुसी भएका रहेछन् । त्यो दिन मैले उनलाई चिया खाजा पनि खुवाएर विदा गरेको रहेछु ।

उनै अनुज पुस्ताका राजेश समकालीन पत्रकारिता क्षेत्रमा स्थापित हस्ताक्षर हुन पुगेका छन् ।

आफ्नो वृत्तिविकासमा कोशेढुङ्गा बनेको मेरो सानो सहयोग जसरी राजेशका लागि अविस्मरणीय बन्यो, मेरो लागि त यो घटना विस्मृत बनिसकेको थियो । गौतम बुद्ध भन्छन्, ‘तिमी कसैलाई जुन हातले दिन्छौ, त्यो कुरा अर्को हातले समेत थाहा नपाओस ।’

०००

हालै दिवंगत भएका अग्रज सञ्चारकर्मी जीवनकुमार शाक्यले पनि ३० वर्षअघि काठमाडौँमा एक रातको बास दिएर मेरो लागि ठूलो उपकार गर्नु भएको सायद बिर्सिसकेका थिए होलान् । तर म कसरी बिर्सन सक्थेँ, त्यो घटना ?

सानैदेखि लेख्ने हुटहुटी थियो । ओँठमाथि भर्खरै जुँगाको रेखीले आकार लिँदै थियो । त्यहीँ बेला ‘गोरखापत्र’को एकछत्र राजलाई चुनौति दिँदै निजी क्षेत्रको लगानीमा ‘कान्तिपुर’ दैनिकको प्रकाशन सुरु भएको थियो ।

मलाई पनि एकपल्ट प्रयास गरी हेरौँ न भन्ने भयो । एकलब्य अभ्यासमा रहेको मैले फाट्टफुट्ट समाचार खोज्दै लेखेर पठाउन थालेँ । छापिएर आउन थालेपछि भूँईँमा खुट्टा हुन छाड्यो । म टेलिफोनको पहुँचबाट टाढा थिएँ । धनकुटाबाट काठमाडौँ फोन गर्दा मिनेटको १७ रुपैयाँ लाग्थ्यो । त्यो बेलाको १७ रुपैयाँले धनकुटा बजारको होटलमा एक छाक भरभेट खाना खान पाइन्थ्यो ।

समयक्रमसँगै एक दिन हुलाकीको हातबाट खबर आयो, ‘तपाईँ कान्तिपुर दैनिकको समाचारदाता भएकोले केन्द्रीय कार्यालयमा आयोजित समाचारदाताहरुको भेलामा उपस्थिति हुनुहोला ।’

मेरो खुसीको सीमा रहेन । कुरा पर्यो, २०५० साल वैशाखको ।

मेरो लागि काठमाडौँ खाल्डो एक प्रकारको विरानो सहर थियो । दुई वर्षअघि शैक्षिक भ्रमणका क्रममा एक पटक आएको मलाई काठमाडौँ एक प्रकारको घना जङ्गलझैँ लाग्थ्यो ।

सोध्दै खोज्दै कान्तिपुरको कार्यालयमा पुगेँ । त्यो बेला थापाथलीको हालः नर्भिक अस्पताल भएको ठाउँको एउटा घरमा यस दैनिकको कार्यालय थियो । विभिन्न जिल्लाबाट आएका समाचारदाताहरुलाई प्रकाशक हेमराज ज्ञवाली, सम्पादक योगेश उपाध्यय, प्रमुख संवाददाता तीर्थ कोइराला आदिले संस्थाको नीति, उद्देश्य आदिका बारेमा प्रकाश पारे ।

त्यसबेला प्रकाशक हेमराज ज्ञवाली (हालः दिवंगत)ले भनेको एउटा वाक्य चाहिँ बिर्सन सकेको छैन । उनले भनेका थिए, ‘हामी कुनै राजनीतिक दलसँग सम्वद्ध छैनौँ, तर हामी प्रजातान्त्रिक समाजवादमा विश्वास गर्छौँ ।’ यस्तो सुन्दा अखिल कार्यकर्ताको पृष्ठभूमी भएको मलाई भने अलि अचम्म लाग्यो । मनमनै प्रश्न गरेँ, ‘यी बुढाले भन्ने खोजेको चाहिँ के हो कुन्नि ?’

अर्को अनौठो के पनि भने सम्पादक योगेश उपाध्यय (हालः अमेरिका) चुरोट नतानी बस्नै नसक्ने, चेम स्मोकर । हामीलाई अर्ति उपदेश दिँदै भेला आयोजित कक्षभित्रै क्षण क्षणमा चुरोट सल्काएर धुँवाको मुस्लो फाल्नु पर्ने उनलाई । धुमपानबाट टाढा म उनले छाडेको चुरोटको मुस्लोबाट निस्सासिँदै उनको अर्ति उपदेश सुन्नुपर्ने बाध्यताको शिकार हुनुपर्दा उनले के के बोले राम्रोसँग हेक्का राख्न सकिनँ ।

भेला मैजारो भएपछि जिल्ला ब्यूरो हेर्ने तत्कालीन उपसम्पादक गोविन्द पोखरेलले हामी समाचारदाताहरुको फोटो सङ्कलन गरेर चिटिक्क परेको पत्रकार परिचय पत्र हाम्रा हातमा थमाइदिदा अरु साथीहरुलाई कस्तो अनुभूति भयो कुन्नि, म नवोदितको भने खुसीको सीमा थिएन । भेलामा उपस्थित जिल्ला समाचारदाताहरुमध्ये अधिकाँश युवा भए पनि मभन्दा उमेरमा अग्रज र पत्रकारितामा खारिएर आएकाहरु थिए । म त दुब्लो पातलो, सानो काँठीको अनि ओँठमाथि भर्खरै जुँगाको रेखी बस्न सुरु गरेको परेँ ।

०००

भेलामा ठूलाबडाबाट अर्ति उपदेश सुनिसकेपछि हामी खानपिनको प्रवन्ध भएको स्थलतिर लाग्यौँ । हाम्रो लागि रात्रीभोजको आयोजना गरिएको थियो । लोकेसन थाहा भएन, तर १५ मिनेट जति पैदल दूरीमा रहेको एक गजल रेस्टुरेन्टमा सोमरससहितको रात्रीभोज थियो । त्यसबेला म परेँ, सुरापानबाट टाढा ।

मैले सोचेको थिएँ, राजधानीबाहिर टाढा टाढाबाट आएका समाचारदाताहरुका लागि गाँस मात्रै होइन, बासको पनि पक्कै प्रवन्ध होला । तर रात छिप्पिदै जादाखेरि मात्रै थाहा भयो, हाम्रो लागि बासको प्रवन्ध आफै गर्नु पर्ने रहेछ । मैले माथि पनि भनिसकेँ, त्यो बेलाको काठमाडौँ मेरो लागि एक विरानो सहर, जहाँको एउटा गल्लीमा छिरेपछि हराएर अर्को अर्को गल्लीमा निस्कन मुस्किल हुने मान्छे ।

रातीको समय कता होटल, लज खोज्दै हिड्नु ? त्यो विरानो सहरमा बास बस्नका लागि आफ्नो नातागोता कोही थिएनन् । आयोजककै भर परेर आइयो, राम्ररी सोधिएन पनि । बेलैमा नसोध्नु मेरो कमजोरी थियो ।

म अत्तालिएँ । एकै छिन सम्हालिएर सोचेँ, कोही कसैसँग शरण माग्नुपर्ला एक रातको लागि । भोली उज्यालो भएपछि त कुनै उपाय पक्कै निस्केला । पूर्वतिरकै साथीलाई हारगुहार गर्ने विचार गरेँ । किन हो, त्यो भेलामा धरानका हर्ष सुब्बाको उपस्थिति थिएन । उनी भएको भए, उनकै पछि लाग्ने थिएँ । विराटनगरबाट इन्द्र काफ्ले उपस्थित थिए । मैले चाहिँ झापाली मित्रसँग मेरो समस्या राखेर भने, ‘सर, लौन मेरो त कतै बासको व्यवस्था छैन । सरको जहाँ व्यवस्था छ, त्यहीँ एक रातको लागि बास दिन पर्यो ।’

तरले सुरुमै अलि नमिठैसँग अनुहार खुम्च्याए र आफूले सहयोग गर्न नसक्ने बताए । झन मन अत्तालियो । मैले उनीसँग तीन पल्ट अनुनय गरेँ । अन्तिममा आफ्नो अनुहारमा आएको संकुचनलाई कायमै राखेर उनले भने, ‘म पनि दाजु भाउजुको डेरामा पाहुना लागेको छु । उहाँहरुले कोही पनि साथी लिएर नआउनू भन्नु भएको छ यार ।’ ती झापाली मित्रको पनि आफ्नै बाध्यता थियो होला । तर अनुहारमा संकुचन नल्याई भनेको भए के फरक पथ्र्यो र ?

सोचेँ, आज सडकमा बास हुने भयो ।

म विलखबन्दमा परिरहेको थिएँ । अब कोसँग गुहार मागौँ ? त्यहीँ बेला भेलाका एक सहभागी म छेउमा आएर भने, ‘म एउटा गेस्ट हाउसमा बसिरहेको छु, मकहाँ एउटा बेड खाली छ ।’

यस्तो सुनेपछि मैले ठूलै सास फेरेँ । हत्तपत्त मैले भने, ‘लौन सर, मलाई लैजानुस् आफूसँगै ।’

पूर्वेलीबाट साथ नपाएको मैले मध्यपश्चिम (हालः कर्णाली प्रदेश)बाट आएका भद्रबाट मेरो लागि ठूलै उपकार हुने भयो । ठूलो राहत महसुस गरेँ ।

अघिसम्म गजल सुन्दै हाँसी खुसी हुँदै खाएको सबै परिकार पीरले पेटभित्र काँचै पल्टिन आँटेको थियो, बल्ल ढुक्क भयो ।

खानपिन सकिएपछि म ती भद्रलाई पछ्याउँदै उनी आफै बास बसिरहेको गेस्ट हाउसतिर लागेँ । एउटा कोठामा दुई वटा बेड थिए; एउटामा उनी निदाए, अर्कोमा म । मेरो सम्झनामा त्यो गेस्टहाउस माइतीघरमा थियो । भोलीपल्ट छुट्ने बेलामा मैले गेस्टहाउसमा बास बसेको शूल्कको कुरा गर्दा उनले भने, ‘पैसा पर्दैन मित्र, यसको भुक्तानी भइसकेको छ ।’

उनी त्यसबेला कान्तिपुरको सुर्खेत समाचारदाता थिए । निदाउनुभन्दा अघि केही क्षण पत्रकारितासम्बन्धी कुरा गर्यौं । उनी त्यतिखेरै सामाजिक सेवामा पनि सक्रिय रहेछन् । द रेयुकाई नेपालसँग आवद्ध थिए ।

उनै हुन्, मैले माथि उल्लेख गरेको उपकारी गुणी व्यक्तित्त्व जीवनकुमार शाक्य । जसलाई भेटेरै उनले मलाई ३० वर्षअघि लगाएको गुनका बारेमा बखान गर्न पाएको भए यसको अर्थ र महत्त्व बेग्लै हुने थियो । अब त भौतिक रुपमा उनी हामीमाझ रहेनन् । उनको देहान्तले मर्माहत भएको छु ।

जसरी म कसैलाई आफूले दिएको घटना सकेसम्म बिर्सन चाहन्छु, तर कसैबाट केही लिएको छु भने म कसैगरी यसलाई बिर्सन सक्दिनँ । जीवनकुमार शाक्यलाई पनि जीवनभर बिर्सन सक्दिनँ म ।

पछि हामीबीच सम्पर्क भएन । सायद उनले पत्रकारितालाई निरन्तरता दिएनन् ।
भाइ मिलन लिम्बू (सम्पादक, ‘दृष्टिन्यूज’)बाट थाहा भएअनुसार उनी बौद्धदर्शनका ठूलो अनुयायी रहेछन् । त्यसैले बिरानो सहरमा एक रात सडकबास हुनै लागेको मलाई उनले तत्काल उपकार गरे । गौतम बुद्ध भन्छन्, ‘आँखा झिमिक्क गर्दा पनि तिम्रो आयु घटिरहेको हुनेछ, त्यसैले आफ्नो जीवनलाई प्रत्येक क्षण प्राणी जगतको उपकारमा लगाऊ ।’

बौद्धदर्शनका अनुयायी उनले बुद्धको यो उपदेशलाई जीवनकालमा अनुशरण गरेको स्पष्ट हुन्छ ।

समयले साथ दिए, म स्वयम्सेवी शिक्षक गजेन्द्र रानालाई भेट्न एकपटक पक्कै सुर्खेत जानेछु । त्यहाँ पुगेर दिवंगत जीवनकुमार शाक्यका सञ्चारकर्मी छोरा प्रवाशकुमारलाई पनि भेट्नेछु । उनको पिताले ममाथि गरेको उपकारबारे अवश्यै सुनाउने छु । एउटा सुखद संयोग, उनी र म एउटै सञ्चार अभियानमा रहेछौँ, हामी एउटै गन्तब्यको यात्री रहेछौँ ।

हार्दिक श्रद्धान्जली अग्रज !
अप्पो दीपो भवः गौतम बुद्ध ।

प्रतिक्रिया दिनुहोस्