Logo
Logo

न्यायाधीश थपलियामाथि कारबाहीको तयारी


5.5k
Shares

काठमाडौं । तत्कालीन निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग मुद्दामामिलामा सेटिङ गरेको आरोपसहित न्याय परिषद्मा तानिएका उच्च अदालतका न्यायाधीश नवराज थपलिया कारबाहीमा पर्ने निश्चित भएको छ । थपलियाविरुद्ध भ्रष्टाचारका गम्भीर प्रकृतिका उजुरी छन् ।

न्यायपरिषदबाट अहिले उनीमाथिको छानबिन अन्तिम चरणमा पुगेको छ । थपलियालाई गत बिहीबार न्याय परिषद् ऐन, २०७३ को दफा २१ बमोजिम सफाइ पेस गर्ने मौका दिइएको थियो । थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए । परिषदले उनको कार्यक्षमता, आचरण र कर्तव्य पालनामा प्रश्न उठाउँदै शुरुमा स्पष्टीकरण पेश गर्न भनेको थियो ।

न्याय परिषद स्रोतले जनाएअनुसार उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएपछि अन्तिममा एकपल्ट सुनुवाईको मौका दिएर उनलाई बर्खास्त गर्ने तयारी भएको छ । न्याय परिषद् ऐनको दफा २१ मा आरोपित न्यायाधीशलाई संविधान, परिषद ऐन वा अन्य प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने देखिएमा न्याय परिषदले कारण र आधार खुलाई मनासिव अवधि तोकी सफाइ पेस गर्ने मौका दिनुपर्ने उल्लेख छ ।

बर्खास्तपछि थपलियामाथि न्यायपरिषद ऐन, २०७३ को दफा ११ अनुरुप खराव आचरण र दफा २२ अनुरुप भ्रष्टाचारमा मुद्दा चल्ने सम्भावना छ । उनी बर्खास्त भएपछि ऐनअनुसार न्याय परिषदका सचिवले सजायको मागसहित उच्च अदालतमा मुद्दा दायर गर्न सक्छन् ।

राणा प्रधानन्यायाधीश भएका बेला विचाराधीन मुद्दाका झगडियासँग ‘सेटिङ’ गरेको उजुरी गम्भीर प्रकृतिको देखिएको छ । परिषदले उनीमाथि छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।

उक्त प्रतिवेदनका आधारमा परिषदले थपलियालाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिसकेको छ । सोही प्रतिवेदनका आधारमा उनलाई जिम्मेवारीविहीन बनाएर न्याय परिषद्मा तानिएको हो ।

प्रचलित कानुनबमोजिम मुद्दा चलाउनुपर्ने भएमा सम्बन्धित निकायमा लेखी पठाउनुपर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । न्यायाधीश थपलियामाथि पूर्वप्रधानन्यायाधीश राणाले नेतृत्व र संरक्षण गरेको ‘सेटिङ गिरोह’मा रहेर मुद्दामा चलखेल गरेको आरोप छ ।

विभिन्न विचाराधीन मुद्दाका झगडियासँग भेटेर ठूल्ठूलो रकम असुलेको पाइएपछि न्याय परिषदले उनीमाथि जाँजबुझ गर्न समिति बनाएको थियो ।

कानुन व्यवसायीहरूकै छाता संस्था नेपाल बार एसोसिएसनले ०७९ भदौ १२ गते संसदको महाभियोग समितिलाई तत्कालीन प्रधानन्यायाधीश राणामाथि छानबिनका लागि बुझाएको ३४बुँदे पत्रमा पनि थपलिया र राणाबीचको सम्बन्धमा समेत प्रश्न उठाउँदै विस्तृत छानबिनका लागि आग्रह गरेको थियो ।

राणा नेतृत्वको अनुकम्पाले उनी न्यायाधीशमा नियुक्त भएका थिए । उनले मुद्दा मिलाइदिने नाममा सर्वोच्चमा पुगेका एक मुद्दामा लाजिम्पाटस्थित होटल एम्बासडरमा एक महिलासँग ६० लाख रुपैयाँ बुझेको घटना अहिले यत्रतत्र छरपस्ट भएको छ । उक्त तथ्य श्रेष्ठको छानबिन समितिले समेत औंल्याएको छ ।

जग्गासम्वन्धी उक्त मुद्दा संयोगवश अर्को संयुक्त इजलासमा परेपछि विपक्षमा फैसला आयो । उक्त प्ररकणमा झगडियासँग विवाद भएपछि न्याय परिषद् हुँदै छताछुल्ल भएको हो । थपलियाले चोलेन्द्रशमशेरका भाइ प्रभुशमशेर राणालगायतसँग गठजोड गर्दै मुद्दामा मध्यस्थकर्ता भई सेटिङ गरेको आरोपसमेत छ । स्थायी ठेगाना नुवाकोट भएका थपलिया नेपाल ल क्याम्पस स्ववियुका पूर्वसभापति हुन् । २०३४ मंसिर ५ मा जन्मिएका उनले २०५९ सालमा कानुन व्यवसायीको प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्