फिनल्यान्ड र स्विडेनमा मंगलबार सबैभन्दा चिसो तापक्रम रेकर्ड गरिएको छ । थर्मोमिटरमा तापक्रम शून्यदेखि माइनस ४० डिग्री सेल्सियससम्म झरेपछि नर्डिक क्षेत्रमा चिसो बढेको छ । चिसो र हिउँले नर्वेसहित सम्पूर्ण क्षेत्रमा यातायात अवरुद्ध भएको छ । नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ ।
स्विडेनका रेल अपरेटरहरूले चिसोका कारण आर्कटिक उत्तरमा रेल यातायातका लागि धेरै समस्या उत्पन्न भएको बताएका छन् । स्विडेनको सार्वजनिक प्रसारक एसभिटीका अनुसार उत्तरी स्विडेनमा आदिवासी सामी बसोबास गर्ने एउटा सानो गाउँ निक्कालुओक्टामा मङ्गलबार बिहान तापक्रम शून्यदेखि माइनस ४१ दशमलव छ डिग्री सेल्सियस तल पुगेको छ । एसभिटीका मौसमविद् निल्स होल्मक्विस्टले भने, ‘यो जाडोमा अहिलेसम्मको सबैभन्दा चिसो तापक्रम हो र उत्तरमा धेरै चिसो मौसम रहने छ ।’
स्विडेनको मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै स्थानमा शून्यभन्दा ३० डिग्री सेल्सियस तल तापक्रम भएको सूचना दिएको छ । साथै उसले दक्षिणी स्विडेनका लागि हिउँ र हावाको चेतावनी जारी गरेको छ । संस्थानको दोस्रो उच्च चेतावनी आधा रातदेखि बुधबारसम्म लागु हुन्छ ।
छिमेकी फिनल्यान्डमा यो जाडोको चिसो रेकर्ड उत्तरपश्चिमी सहर यलिभिस्कामा गरिएको छ । त्यहाँ मंगलबारको प्रारम्भमा तापक्रम शून्यदेखि ३७ दशमलव आठ डिग्री सेल्सियससम्म तल झरेको थियो । पूर्वानुमानकर्ताहरूले पूरै साता केही स्थानमा तापक्रम शून्यदेखि ४० डिग्री सेल्सियससम्म झर्ने बताएका छन् ।
फिनिस राजधानी हेलसिन्कीमा तापक्रम शून्यदेखि १५ र २० डिग्री सेल्सियसको बीचसम्म तल झर्ने अपेक्षा गरिएको थियो ।
दक्षिणी नर्वेको अरेन्डल सहरमा बालबालिकालाई स्कुल जानका लागि समयमै फुटपाथ सफा गर्न सम्भव नभएकाले बुधबार स्कुल बन्द रहने अधिकारीहरूले बताएका छन् ।
डेनिस अधिकारीहरूका अनुसार पूरै क्षेत्रमा कयौँ डुंगा कम्पनीहरूले दक्षिणी नर्वेदेखि डेनमार्कसम्मको क्रसिङसहितका केही क्रसिङलाई रद्द गरिएको छ । तीव्र हावाका कारण एउटा मुख्य पुललाई हलुका ट्रेलर भएका सवारीका लागि बन्द गरिएको थियो ।