जीवनको यात्रामा यहाँसम्म पुग्न कैयौं घुम्ती र मोडसँगै उकाली ओराली पार गर्नुपर्यो होला । कैयौँ ‘स्टेशन’हरू पार भए होलान् । सबै बाटा सम्झेर साध्य छैन । पुगेका सबै पुराना गन्तव्य सम्झेर साध्य पनि छैन । तर, कति कुरा बिर्सन खोजेर पनि सकिँदैन रहेछ ।
एउटी डाक्टरनीको डायरीका अंश बनेका छन्, मैले यो स्तम्भमा अचेल लेख्ने गरेका पंक्तिहरू । अहिले पनि म त्यही मनस्थितिमा छु ।
पुराना टिपोट र फाइलहरूतिर फर्किँदा कहिलेकाहिँ बिरामीले डाक्टरलाई लेखेका चिट्ठी भेट्छु । त्यस्ता चिट्ठीले प्रायः म आफैलाई भावुक बनाउँछ । धेरै कुरा सोँच्न बाध्य हुन्छु । पहिले पनि हुन्थेँ– तर हरेक पटकको अनुभूति उस्तै हुँदैन रहेछ ।
त्यसो भनेर विगतका कुरालाई एक एक सम्झेर त्यसैमा आशक्त हुनु छैन, विगत त विगत नै हो । र, विगतप्रतिको रागले जन्माउने केवल दुःख नै हुन्छ । विगतमा जे जे भए, जे जे गरिए, ती सबै कर्मफलको रूपमा फलिसकेका छन् । अब तिनलाई हामी फेर्न सक्दैनौँ, केवल स्वीकार मात्र गर्न सक्छौँ– यथास्थितिका रूपमा ।
एउटा डाक्टरको कथा पल्टाउँदा प्रायः मान्छेका दुःखका कथाहरू भेटिन्छन् । यी पंक्तिहरू लेख्दै गर्दा मलाई त्यस्तै केही कुराले मनलाई कोट्याइरहेका छन् ।
काठमाडौं मोडेल अस्पताल बनेको धेरै भएको थिएन । एउटी सानी एघार वर्षकी बच्ची ढाडको समस्याले अस्पताल भर्ना भएकी थिइन । उनी हिँड्न र उभिन सक्तिन थिइन । उनको घरमा को को थिए थाहा थिएन । अपाङ्ग बच्चालाई हेर्दै आफ्नो र परिवारको जीविका चलाउन गाह्रो भएकैले हुनुपर्छ– आमाले त्यस्तै बच्चाहरूको हेरचाह गर्ने संस्थामा राखिदिएकी थिइन् ।
बेला बेला उनी छोरीलाई हेर्न जान्थिन् । सकेको माया दिन्थिन् होला । छोरीको आँखाबाट लुकाएर रुन्थिन् होला । त्यो बच्चीलाई संस्थाले नै अस्पतालमा भर्ना गर्न ल्याएको थियो ।
एघार वर्षकी बच्ची । तर, हेर्दा आठ वर्षकी जस्तो मात्र देखिइन्थिन । सरोजले नै प्रत्यक्ष हेरिरहेको बिरामी पनि थिइन उनी । तर, उनको कथा सुनेर सरोजले एकपल्ट आँखाभरी आँसु राखेर झण्डै रोएको कुरा सम्झन्छु बरोबर । उनी त अब ठूली भएर आफ्नो काममा लागिसकिन होला ।
उनको बारेमा सुनेको एउटा कुराले सरोजलाई धेरै गाह्रो भएको थियो । राती ओछ्यानमा पिसाब फेर्छिन भनेर ओछ्यानमाथि कोपरा नै राखिदिएर सुत्न दिन्थे रे… । कसरी सुत्नु पथ्र्यो दिनहुँ भन्ने कल्पना मात्र गर्दा पनि मेरो मन कहालिन्थ्यो ।
अस्पताल पुगेपछि उनको सकेसम्म राम्रो उपचार हुन थाल्यो । डाक्टर नर्सहरूबाट पनि माया पाउन थालिन् । अनि बल्ल उनी हाँस्न बोल्न थालिन रे । सरोजलाई देख्दा उनी धेरै खुसी हुन्थिन ।
एकपल्ट सरोजले मलाई उनको निम्ति एउटा पुतली किनिदिन भने । असन गएर मैले एउटा पुतली किनेको याद छ मलाई । पुतली पाएर उनी झन् धेरै खुसी भइछ । तर, उनी खुसी भएको देखेर सरोज भने रुन थाले ।
हेर्दा र सुन्दा यी कुरा ज्यादै साधारण र मसिना कुराहरू हुन् । तर, मानव हृदयका कथाहरू हुन्, डाक्टर र बिरामीको सम्बन्धका कथा हुन् । अझ डाक्टर बिरामीको सम्बन्धभन्दा परका मानवीय सम्बन्धका कुरा हुन् ।
धेरैपछिको अर्को कुनै दिन दिनभरको थकाईपछि अनुहारमा नयाँ उत्साह बोकेर घर फर्केका थिए, सरोज । हातमा एउटा खाम थियो मोटो । घर पुग्नासाथ अगाडिको टेबुलमा फ्यात्त फालेर भने– ‘कसले बुझ्न सक्छ यसको सेन्टिमेन्ट ?’ यतिले मात्र त मैले पनि बुझ्न सकिनँ– त्यो क्षणको उनको संवेदनशील अनुहारलाई । मैले सोधेँ– ‘के हो ?’ ‘आफै एकपल्ट पढिहेर न…’ खोलेर हेर्दा एउटा कागजको मुठा निस्कियो । त्यसमा प्वालै प्वालका धर्साहरू थिए । केही बुझिनँ ।
त्यो एउटा ब्रेल चिट्ठी रहेछ, डाक्टरलाई एउटी दृष्टिविहीन किशोरीले लेखेको । खाममा ‘ब्रेल लेटर, फ्री पोष्ट टु डाक्टर सरोज, काठमाडौं मोडेल हस्पिटल’ भनेर अंग्रेजीमा लेखिएको थियो । त्यो त बुझें । तर, ओल्टाई पल्टाई हेर्दै गर्दा म पो दृष्टिविहीन भएजस्तो लाग्यो ।
ब्रेल लिपी मेरो निम्ति ‘काला अक्षर भैंसी बराबर’ जस्तै भयो । निकैबेर ओल्टाई पल्टाई गरेपछि पछाडिको पानामा सामान्य देवनागरी लिपीमा केही लेखिएको देखेँ । कसैले अनुवाद गरिदिएको रहेछ ।
०००
आदरणीय डाक्टर अंकलमा सादर नमस्कार,
म आजको मितिसम्म निको आरामको साथमा दुःखी दिनहरू बितारहेकी छु । त्यहाँ तपाईको कोमलरूपी शरीरमा पनि निकै आरामै होस् भनी भगवानसंग प्रार्थना गरी बसेकी छु …।
… जुनदिन हस्पिटलमा बस्नुपर्याे, तपाईले गर्दानै मेरो काम भयो । तपाईहरूको मद्दतले गर्दा नै मैले आफ्नो जीवन गुमाउनु परेन । म यो सहयोगलाई आफ्नो प्राण छउञ्ज्यालसम्म भुल्ने छैन …।
म सानो कक्षामा पढ्ने भएकीले त्यति भाषा शुद्ध नहुन सक्छ । सच्याएर पढिदिनु होला । मलाई आशा छ, यो प्राप्त हुनासाथ पत्र पठाउनु होला ।
लौ त के लेखूँ, आजलाई पत्र यहीँ समाप्त गर्छु …
०००
अनुवादकले तिनको नाम लेख्न भने बिर्सिएछन् । सरोजले पनि उनको नाम सम्झिन सकेनन् ।
पढिसकेपछि म एकछिन्सम्म त्यो चिट्ठीलाई हेरिबसेँ । पहिलोपटक ब्रेल लिपिमा लेखिएको चिट्ठी पढेकी थिएँ । बिरामी निको भएपछि डाक्टरसँग फेरि सम्पर्क हुनैपर्छ भन्ने छैन ।
सरोजले निःशुल्क अपरेशन गरेका अनगिन्ति बिरामीको सम्झना उनलाई हुने कुरा भएन । बिरामीले नै बिर्सनु पनि अस्वाभाविक हैन । तर, शारीरिक हिसाबले दृष्टि नभएकी एउटी किशोरीको अन्तर्दृष्टि कति स्पष्ट ! कसैको अनुहार नदेखे पनि कसरी छ्याङ्ग देखेकी उनले डाक्टर र नर्सहरूको मायालाई ?
चिठीमा पटक्कै फूलबुट्टा भरेको थिएन । त्यो बेलाकी एउटी गाउँले किशोरीको पत्रलेखनको स्वाभाविक उदाहरण थियो त्यो । तर, ती सामान्य शब्दबाट मानवीय सम्बन्धको सुन्दरताले चियाईरहेको थियो ।
सरोज अहिले रिटायर्ड जीवनमा रमाइरहेका छन् । आफूलाई डाक्टरको रूपमा चिनाउनै पनि उनलाई मन छैन । पुराना कथामा फर्किरहनुलाई उनी विगतप्रतिको राग भन्छन् । तर, हिजोको कर्मले जे फलित भइसकेको छ, त्यसलाई अस्वीकार गरेर हुन्छ र ?
जब कर्मफलका बारेमा हामीले बुझेका कुरा सुनाउँछु र आफ्नै सुकर्मबारे बेवास्ता गर्नु पनि ठीक हैन भन्छु, अहंकारको छद्म रूपमा मारको आगमन हुनसक्ने कुराप्रति शायद उनी सचेत हुन्छन् । मुस्कुराउँदै मतिर हेर्छन् । मलाई त्यस्तो मुस्कान मनपर्छ– अहंकार नभएको, स्नेहयुक्त, सरल मुस्कान !
नयाँ वर्षको आगमन भइसकेको छ । राग र द्वेष, अहंकार र ईष्या … क्लेशका सबै रूपबाट जोगिएर अघि बढ्न सकौँ, नववर्षको हार्दिक शुभकामाना !