Logo
Logo

कोरोनाको सम्भावित सुरक्षात्मक उपाय अपनाउन चेम्बरको आग्रह


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १९ फागुन । कोरोना भाइरसको संभावित प्रकोपलाई दृष्टिगत गर्दै सुरक्षात्मक उपायहरु अपनाउन सबै सरोकारवालालाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ । कोरोनाको सम्भावित प्रकोपको विषम परिस्थतिमा मास्क एवं अति आवश्यक वस्तुहरुलाई सहज एवं सुलभ तरिकाले बिक्री वितरण गर्न सम्बन्धित सबै सरोकारवालाहरुलाई चेम्बरले अनुरोध गरेको छ ।


चेम्बरले कोरोना भाइरस प्रकोपबाट बच्न अति आवश्यक पर्ने उपकरण सामाग्री जस्तै मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मुल्य अभिवृद्धि कर छुटको लागि समेत नेपाल सरकारसमक्ष आग्रह गरेको छ । यसै सन्दर्भमा कोरोना भाइरसको प्रकोपबाट सिर्जित समस्यालाई दृष्टिगत गर्दै फागुन १३ गतेदेखि आयोजना गर्ने भनिएको चेम्बर एक्स्पो हाललाई स्थगित गरिएको चेम्बरका निर्देशक सुस्मिता लालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेम्बरले त्रिभुवन विमानस्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रुको सघन स्वास्थ परीक्षण गनुपर्नेमा नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । चेम्बरद्वारा कोरोनाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न निजी क्षेत्रको तर्फबाट सहजीकरणका लागि चेम्बरका उपाध्यक्ष दीपककुमार मलहोत्रा संयोजकत्वमा कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति गठन गरिएको छ । सो सम्बन्धमा आम नागरिकका लागि आवश्यक जानकारीमूलक सचेतनाको लागि चेम्बरमा सर्पोट डेस्क स्थापना गरिएको छ ।

उक्त समितिमा चेम्बरका कार्यसमिति सदस्यमा मृगेन्द्रमेहर श्रेष्ठ, नवराज ढकाल, दीपक श्रेष्ठ, दीपक कुँवर, देवेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा समावेश छन् । साथै यस प्रकोपबाट सुरक्षात्मक उपायहरु अवलम्बन गर्न समेत सबैपक्षसँग चेम्बरले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्