काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ । त्यसका लागि उनी आज अस्पताल भर्ना हुने भएका छन् ।
प्रधानमन्त्री ओलीको पहिलोपटक १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला नाताले भाज्जी बुहारी पर्ने अञ्जना घिमिरेले मिर्गौला दिएकी थिइन् । पहिलोभन्दा दोस्रोपटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन् । तर, यसपटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण स्वदेशमै हुने भएको छ । ओलीका इच्छाअनुसार स्वरदेशमै मृगौला प्रत्यारोपण गर्न लागिएको बताइएको छ ।
प्रधानमन्त्री ओली आज शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुने ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आजै राष्ट्रिय योजना आयोगको बैठक समेत राख्दैछन् । प्रधानमन्त्री ओली आज अस्पताल भर्ना हुने भएपनि समय भने टुंगो लागेको छैन ।
शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बुधबार प्रधानमन्त्री ओलीकोे मिर्गौला प्रत्यारोपण हुनेछ । यसअघि फेरिएको मृगौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलाइसिस गराउँदै आएका छन् । यसपटक प्रधानमन्त्री ओलीलाई झापाकी नाताले भाञ्जी पर्ने महिलाले मिर्गौला दिँदैछिन् ।
मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको छ । नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छिन् । उनको टिममा डा. महेश सिग्देल, डा. मुकुन्द काफ्लेलगायत छन् ।
नेपालको कानुनअनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ अनुसार अंगदान गर्न मिल्ने विभिन्न ५५ किसिमका नातामा भान्जा भान्जी पनि पर्छन् ।
ऐनअनुसार ओलीले पहिलोपटक पनि आफ्नै नातेदारबाट मिर्गौला लिएका थिए । अहिले पनि नातेदारभित्रकै व्यक्तिबाट प्रत्यारोपण गराउन लागेका हुन् ।