युएई । सुदूरपश्चिम सेवा समाज युएईले भूकम्पपीडितलाई राहत संकलन गर्न सुरु गरेको छ । सेवा समाजले नवौं स्थापना दिवसको अवसर पारेर जाजरकोटका भूकम्पपीडितका लागि राहत संकलन गर्न सुरु गरेको हो ।
साँस्कृतिक कार्यक्रम तथा राहत संकलन गरि नवौं वार्षिकउत्सव मनाएको सेवा समाजका अध्यक्ष मोहन ठकुराठीले मौलिक खबरलाई बताए । दुवईमा रहेका सुदूरपश्चिमेलीहरुले स्थापना गरेको सेवा समाजले हरेक वर्ष गरिव, दुखी र पीडितलाई सहयोग गर्दै आएको उनले बताए ।
अध्यक्ष ठकुराठीले सुदूरपश्चिको मौलिक संस्कृतिलाई उजागर तथा जगेर्ना गर्न समाजले हरेक वर्ष स्थापना दिवसको अवसरमा साँस्कृतिक कार्यक्रम गर्ने गरेको पनि बताए । उनले भने, ‘समाजले रहेक वर्ष स्थापना दिवस मनाउने गरेको छ । स्थापना दिवसको अवसर पारेर सेवा समाजले नेपालमा रहेका गरिव, दुखी र पीडितहरुलाई सहयोग गर्दै आएको छ । सोहिअनुसार यो वार्षिकउत्सवका अवसरमा जाजरकोटका भूकम्पपीडितका लागि राहत संकलन गर्न सुरु गरेका छौं ।’
अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली नेपाली समाजका उपाध्यक्ष धर्मराज पाण्डेको प्रमुख आथित्यमा सम्पन्न भएको सुदूरपश्चिम सेवा समाज युएईको साँस्कृतिक तथा राहत संकलन कार्यक्रममा विशिष्ठ अतिथि, सेवा समाजका प्रमुख सल्लाहकार दानसिंह महरा, एनआरएन आइसीसीका कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना रहनु भएको थियो ।
त्यसैगरी अतिथिमा प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही र विभिन्न वैचारिक संघ संगठनका प्रतिनिधिहरुको उपस्थिति हरेको थियो । भने कार्यक्रमको सञ्चालन प्रकाश बडुले गरेका थिए ।
सुदूरपश्चिम सेवा समाज युएईले दुई कलाकारलाई पनि सम्मान गरेको अध्यक्ष ठकुराठीले जानकारी दिए । उनले सुदूरपश्चिमका चर्चित डेउडा गायिका रेखा जोशी र चेतन बोहरालाई सम्मान गरिएको बताए ।
अध्यक्ष ठकुराठीले सुदूरपश्चिमको कला, संस्कृतिलाई अन्तर्राष्ट्रि«यस्तरसम्म पुगाउन तथा उजागर र जगेर्ना गर्नका लागि हरेक वर्ष सेवा समाजले सुदूरपश्चिमका कलाकारलाई साँस्कृतिक कार्यक्रमसहित सम्मान गर्ने गरेको बताए । उनले सन् २०१५ सालमा स्थापना भएको सुदूरपश्चिम सेवा समाज युएईले समाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।