Logo
Logo

ट्रम्पलाई दक्षिण एशियाको चिन्ता


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गएको साता आफ्नो दुईदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । ठूलो होहल्ला र प्रचारबीच सम्पन्न भएको ट्रम्पको यस भारत भ्रमणले अमेरिका–भारतबीच कुनै ठूलो फड्को मारेको पाइएन । ठोस रुपमा भन्नुपर्दा आशा गरिएजस्तो दुई देशबीच कुनै ठूलो व्यापारिक सम्झौता हुन सकेन, मात्र तीन विलियन डलरको सैनिक होलिकोप्टर किन्ने सम्झौता मात्र हुन सक्यो । राष्ट्रपति ट्रम्पले नयाँदिल्लीमा आफूले आयोजना गरेको प्रेस कन्फ्रेन्समा भने– ‘भारतले अमेरिकी मालवस्तुमा उच्च भन्सारदर लगाएको छ । जसले गर्दा दुई देशबीच सोचेको जस्तो व्यापार हुन सकेको छैन । भारतीय उच्च भन्सार दरका कारण अमेरिकी मोटरसाइकल डेभिडसन भारत निर्यात हुनसकेको छैन । यसका लागि हामीले धेरै काम गर्नुपर्छ ।’

उच्च भन्सार दर भएकै कारण आइफोन निर्माता कम्पनी एप्पलले अहिलेसम्म आफ्नो एप्पल स्टोर भारतमा खोल्न सकेको छैन । जबकि एक अर्ब ३५ करोड जनसंख्या भएको भारत विश्वको दोस्रो ठूलो मोबाइल बजार हो । एप्पलले बल्ल अहिले आएर सन् २०२१ मा भारतमा आफ्नो एप्पल स्टोर खोल्ने घोषणा गरेको छ । जबकि सिंगापुर, थाइल्याण्डमा उसले आफ्नो स्टोर धेरै पहिले नै खोलिसकेको छ ।

ट्रम्पको यस भ्रमणलाई उनको आफ्नै देशका मिडियाले खासै महत्व दिएको देखिएन । वासिङटन पोष्ट, न्यूयोर्क टाइम्सजस्ता पत्रिकाले खासै महत्व दिएको पाइएन । ट्रम्पको समाचार भित्री पेजमा सानो रुपमा मात्र दिएका थिए । बरु न्यूयोर्क टाइम्सले नयाँदिल्लीमा जारी नागरिकता संशोधन कानूनका विरोधीहरुको हिंसात्मक झडपबारे प्रमुखताका साथ लेख्यो– ‘जब मोदी र ट्रम्प अँगालोमा बाँधिएका थिए, त्यति नै बेला दिल्लीका सडकमा भइरहेको नागरिकताविरोधी प्रदर्शन हिन्दू–मुस्लिम दंगामा परिणत भइसकेको थियो ।’

यस्तै सीएनएनले पनि ‘डोनाल्ड ट्रम्पको यस राजकीय यात्रामा भारतले विश्वस्तरमा आफ्नो प्रभाव प्रदर्शन गर्ने आशा गरिएको थियो । तर, उसले लामो समयदेखि आफ्नो देशमा चलिराखेको धार्मिक तनावको तस्वीर पेश ग¥यो ।’

प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पको स्वागतमा आयोजना गरिएको गुजरातको विश्वकै सबभन्दा ठूलो सरदार वल्लभभाइ पटेल, मोटेरेला क्रिकेट रंगशालामा भव्य स्वागत गरे । यसमा उपस्थित एक लाखभन्दा बढी जनतालाई सम्बोधन गर्दै ट्रम्पले भने– ‘मलाई आशा छ पाकिस्तानको सहयोगले दक्षिण एशियामा शान्ति, स्थिरता र समृद्धि आउनेछ । मेरो पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग पनि राम्रो सम्बन्ध छ । म दुवै पक्षले चाहेमा मध्यस्थता गर्न तयार छु ।’

राष्ट्रपति ट्रम्पको यस भनाइप्रति प्रतिक्रिया व्यक्त गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमूद कुरैशीले भने– ‘राष्ट्रपति ट्रम्पको यो भनाइ असाधारण छ ।’ ट्रम्पको यो भनाइ दक्षिण एशियाली मुलुकहरुका लागि मननीय छ । किनभने, भारत–पाकिस्तान द्वन्द्वले गर्दा दशिण एशियाको विकास अवरुद्ध छ । सार्क कोमामा गएको छ । दक्षिण एशिया स्वतन्त्र व्यापार सम्झौता लागू हुनसकेको छैन आदि । भारत र पाकिस्तानबीच मित्रतापूर्ण सम्बन्ध भयो भने मात्र यस क्षेत्रको विकासको ढोका खुल्छ । किनभने, भारत र पाकिस्तान यस क्षेत्रका ठूला खेलाडी हुुनुका साथै आणविक हतियारले सुसज्जित राष्ट्र हुन् । त्यसकारण यस क्षेत्रमा शान्ति, स्थिरता र समृद्धिका लागि दुवै देशबीच मित्रता अपरिहार्य छ ।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच गहिरो मित्रता छ भनेतापनि तथ्यांकले त्यसलाई पुष्टि गर्ने आधार भेटिदैन । सन् २०१५ मा भारत–अमेरिकाबीच १२० बिलियन डलरको कारोबार भएको थियो । यसको पाँच वर्षपछि मात्र १४२ बिलियन डलरको कारोबार भएको देखिन्छ । जबकि भारतको तुलनामा ५ प्रतिशतभन्दा कम जनसंख्या भएको दक्षिण कोरियासँग १६६ बिलियन डलरको कारोबार भएको थियो । यस्तै यस्तै उदाउँदो अर्थतन्त्रका रुपमा उदाएका चीन र मेक्सिकोसँग यसै अवधिमा ७०० बिलियन डलरभन्दा बढीको कारोबार भएको थियो । जबकि चीनसँग उसको व्यापार युद्ध नै चलिराखेको छ । त्यसकारण विश्वको सबभन्दा शक्तिशाली प्रजातान्त्रिक मुलुक संयुक्त राज्य अमेरिका र विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक गणतन्त्र भारतबीच ठूलो सहकार्य भएको देखिँदैन । त्यसकारण व्यक्तिगत सम्बन्धले मात्र दुई देशबीच कसिलो सम्बन्ध हुन्छ भन्ने छैन ।

ट्रम्पको भारत भ्रमण यस क्षेत्रका लागि रणनीतिक भ्रमण भएकोले ढिलो चाँडो नेपालमा पनि पर्नेछ । किनभने, नेपालमा अहिले एमसीसी विवाद जारी छ । यसलाई अमेरिकाले गहिरोसँग हेरिरहेको छ ।

twitter:@rmshghimire

प्रतिक्रिया दिनुहोस्