सुपरिचित साहित्य स्रष्टा इन्जिनियर गणेशराज वस्तीको नयाँ कृति ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ प्रकाशनमा आएको छ । ‘गोरखा भूकम्प’ भनेर चिनिने २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्प जाँदादेखि पुनर्निर्माणसम्मका सम्पूर्ण दृश्यलाई सारमा खिच्ने हुटहुटीबाट अभिप्रेरित भई लेखकले यो पुस्तक लेखेका हुन् । दुई सय पचास पृष्ठको पुस्तक ‘गोरखा भूकम्प, पुनर्निर्माण र म’ अध्ययन गरिसक्दा सारमा यस्तै लाग्छ ।
इन्जिनियरिङ सिप लगाएर भौतिक संरचनाको निर्माणमा विषय विज्ञता हासिल गरेका र पेसागत रूपले नेपाल सरकारको ‘प्रदेश सचिव’ (ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, गण्डकी प्रदेश) ओहदामा कार्यरत वस्ती साहित्य सर्जकको रूपमा उत्तिकै परिचित व्यक्तित्व हुन् । खास गरी कविता, गीत र यात्रा–साहित्यमा उनको लगाव देखिन्छ । तथापि, साहित्येतर कृति पनि वस्तीका बग्रेल्ती नै प्रकाशित छन् ।
पछिल्लो चरणमा गीतकारको रूपमा समेत सशक्त ढङ्गले उदाएका उनका फुटकर साहित्य–रचनाहरू विभिन्न पत्रपत्रिकामा सयौँको सङ्ख्यामा प्रकाशित भएका छन् । हालसम्म प्रकाशित एक दर्जन पुस्तक–कृतिमध्ये वस्तीको यो बाह्रौँ कृति हो । जसमा पुस्तकको नामलाई सार्थक तुल्याउँदै २०७२ सालको विनाशकारी भूकम्पको परिवेशका चित्रहरू शब्दमा उतारिएको छ ।
‘कम्प, भूकम्प र पराकम्प’बाट सुरु भई ‘अगाडिका दिन’ सम्मका ३१ अलग–अलग उपशीर्षकमा समेटिएका गोरखा भूकम्प सम्बन्धित विषयवस्तुको चित्रणका आधारमा भन्नुपर्दा पक्कै पनि यस पुस्तकका पाठकहरूमा इमानदार भएर देश निर्माणमा आतुरता देखाउने, त्यस्ता काममा प्रेरित हुने, जोसजाँगर निकाल्ने ओजगुण जाग्ने विश्वास गर्न सकिन्छ ।
भूकम्पपछिको पुनर्निर्माणमा सम्बद्ध विभिन्न निकायमा रही पुनर्निर्माण कार्यमा सरिक रहने अवसर पाएका वस्तीले प्राविधिक विषयवस्तुलाई पनि अत्यन्त सरल–साहित्यको रंग दिएर रसिलो ढङ्गमा भूकम्प र त्यसपछिका यावत परिवेशलाई पस्किदिएका छन् ।
भूकम्पपछिको पुनर्निर्माणमा सम्बद्ध विभिन्न निकायमा रही पुनर्निर्माण कार्यमा सरिक रहने अवसर पाएका वस्तीले प्राविधिक विषयवस्तुलाई पनि अत्यन्त सरल–साहित्यको रङ्ग दिएर रसिलो ढङ्गमा भूकम्प र त्यसपछिका यावत परिवेशलाई पस्किदिएका छन् ।
एक कर्तव्यनिष्ठ सरकारी कर्मचारीको रूपमा विभिन्न कालखण्ड या सन्दर्भ विशेषमा स्वयमले भोगेका, देखे–बुझेका र अनुभूत गरेका घटना–सन्दर्भहरूलाई पनि साहित्यको लेप लगाएर लेखकले प्रस्तुत गरिदिएका छन् । लेखककै शब्दमा भन्नुपर्दा, लेख्दा न कुस्ती खेल्न खोजिएको छ, न त स्तुतिगान नै ! सिधा हेर्दा जे देखिएको छ त्यही लेखिएको छ । यथार्थपरक भएर विसङ्गति र बेथितिलाई चिन्ने, टिप्ने र चिरफार गर्ने जमर्को गरिएको छ । सुनौलो भविष्यको पदमार्ग कोर्न लालायित मनोभावको प्रकटीकरण गर्ने प्रयास पनि पुस्तकभित्र देख्न सकिन्छ ।
गोरखा भूकम्पबाट भएको विनाश र तत्पश्चात् सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका उद्धार तथा राहत र पुनर्निर्माणका प्रयासहरूलाई समेट्दै केही पुस्तकहरू प्रकाशन नभएका होइनन् । तर, गणेशराज वस्तीको यो पुस्तक अलग उँचाइ र महत्त्वको छ ।
यस पुस्तकले भावी पुस्तालाई ७२ सालको विनाशकारी भूकम्प र त्यसपछिको पुनर्निर्माणका गतिविधि र उपलब्धिबारे धेरै सत्य तथ्य जानकारी त गराउने नै छ, विद्यालय–विश्वविद्यालयका विद्यार्थी, शिक्षार्थी, शोधार्थी र अन्य सरोकारवाला सबैका लागि समेत आ–आफ्ना अध्ययन, अनुसन्धान, अन्वेषण आदिका क्रममा पुस्तकले महत्त्वपूर्ण सहयोगीको भूमिका निर्वाह गर्नेमा शङ्का छैन ।
सरल र सादगी स्वभावका वस्ती आफूले पाएका अनेक अवसरहरूलाई तिलाञ्जली दिँदै स्वदेशकै लागि केही गरौँ भनी मरिमेट्ने देश प्रेमी राष्ट्रसेवक हुन् भनेर पाठकलाई जानकारी गराउनु सान्दर्भिक नै हुनेछ । पेसागत कर्मका साथै वैयक्तिक अवसरको सदुपयोग गर्दै मुलुकका सबै जिल्ला र अमेरिका, जापान, बेलायत, चीन, फ्रान्सलगायत दर्जन सङ्ख्यामा विदेशको समेत भ्रमण गरेर विभिन्न अनुभव, अनुभूति र ज्ञान बटुलेका गणेशराज अब्बल प्राज्ञिक व्यक्तित्व पनि हुन् ।
एक विज्ञ प्राविधिक मात्र नभएर संवेदनशील साहित्य–स्रष्टाको पहिचान स्थापित गरेका वस्तीबाट भविष्यमा अझै महत्त्वपूर्ण र थप गहकिला कृति सिर्जित हुँदै जाने अपेक्षा र विश्वास गर्न सकिन्छ ।