काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आर्थिक लाभ लिएर जथाभावी नियुक्ति गरिरहेका छन् । तर, अख्तियार अनुसन्धान आयोगले मन्त्री बस्नेतका गैरकानुनी कार्यलाई रोक्न कुनै हस्तक्षेपकारी भूमिका खेल्न नसकेको गुनासो स्वास्थ्यका कर्मचारीहरूको छ ।
मन्त्रालयका सचिवदेखि मातहतका कर्मचारीलाई हप्काईदप्काई आर्थिक लाभका आधारमा मन्त्री बस्नेतले गैरकानुनी नियुक्ति र सरुवा गर्दैआएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखमा २ सचिवको दरबन्दीे देखिन्छ । दरबन्दी अनुसार डा. रोशन पोखरेल र देवकुमारी गुरागाई सचिवका रुपमा कार्यालयमा हाजिर गरिरहेका पनि छन् । तर, मन्त्री बस्नेतको गैरकानुनी कार्यलाई उनीहरूले न त रोक्न सकेका छन् न त असन्तुष्टि पोखिएको सुनिन्छ ।
मुख्यसचिवको दाबेदारका रुपमा प्रस्तुत हुँदैआएकी केही समयभित्रै अवकाश पाउन लागेकी सचिव गुरागाईलाई कर्मचारी प्रशासनको जिम्मा छ । सरुवा, बढुवा र नियुक्तिमा उनको हस्ताक्षर आवश्यक पर्छ । तर, मन्त्री बस्नेतले गुरागाईले नमाने पोखरलमार्फत् गैरकानुनी काम गर्न लगाउने गरेका छन् ।
मन्त्रीका अगाडि गुरागाई र पोखरेल निरीह नै देखिन्छन् । पछिल्लो समय मुटुको सर्जरी गरेपछि पोखरेलले गुट्खा र मदिरापान चटक्कै छाडेका छन् । स्वास्थ्य सचिवले पनि गुट्खा र मदिरा छाडेभन्दा आश्चर्य मान्नुपर्ने अवस्था छ ।
स्वास्थ्यका कारण मन्त्रालयमा कम समय दिने गरेका पोखरेलको अनुपस्थितिमा गुरागाईले नै कामकाज गर्ने गरेकी छिन् । चिप्ला कुरा गर्ने र मन्त्रीले जे जस्ता काम लगाए पनि प्रक्रिया विपरीत छ भन्न नसक्ने कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव तुल्सी गौतमले साथ दिंदैआएका छन् ।
छट्टु स्वभावका आर्थिक संकलन गर्ने सबै जिम्मेवारी पाएका उपसचिव कृृष्ण थापाजस्ताले स्वास्थ्य मन्त्रालय चलाएका छन् । कोटको गोजीमा परिचयपत्र झुन्ड्याएर ढाकाटोपी ढल्काउँदै डायरी च्यापेर मन्त्री, सचिव र सहसचिवकोमा दौडिरहने थापा हरेक नियुक्ति र सरुवामा आर्थिक लेनादेना मिलेपछि मात्र टिप्पणी उठाउँछन् । उठाएको टिप्पणीलाई सहसचिवकोमा आफैंले लाने र हस्ताक्षर गराई सचिव र मन्त्रीकोमा पुर्याउने गरेका छन् ।
नियुक्ति र सरुवाको लेनादेनामा कर्मचारीमात्र संलग्न छैनन्, मन्त्रीका जिल्लाबासी श्रवण जीसीसमेत संलग्न रहने गरेको स्रोतले बतायो । सुनकोशी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका जीसी प्राइभेट नम्बरको स्कोरपियो चढी मन्त्रीको सचिवालय र बाहिर होटल रेष्टुरेन्टमा सरुवा र नियुक्तिको मोलमोलाईमा ब्यस्त रहने गरेका छन् ।
त्यसो त जीसी कुनैबेला प्रहरीको नक्कली डीएसपी बनेर असुली धन्दामा लागेकोमा पक्राउ नै परेका पात्र हुन् । यस्ता विवादित पात्रहरूलाई मन्त्री बस्नेतले सरुवा बढुवाको मोलतोलमा लगाएका छन् ।
मन्त्री बस्नेत कतिसम्म गैरकानुनी काम गर्छन् भन्ने उदाहरण स्वास्थ्य वीमा बोर्डको कार्र्यकारी निर्देशक डा. दामोदर बसौलाविरुद्ध चालेको कदमले नै पुष्टि गर्दछ । उनै बस्नेतले बसौलालाई केही समयअघि हटाउने नियतका साथ स्पष्टीकरण सोधेनन् मात्रै अवधि नपुग्दै मन्त्रिपरिषदमै प्रस्ताव प्ुर््याए ।
त्यसका विरुद्ध बसौला सर्वोच्च अदालत पुगे । सर्वोच्चले मन्त्रीको कदम कानुन विपरीत भएको ठहर गरिसकेको छ । मन्त्री बस्नेतले फेरि अहिले बसौला हटाउन मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका छ्न् । उक्त प्रस्ताव सर्वोच्च अदालतको आदेश विपरीत कसरी दर्ता भयो ? त्यो भने आश्चर्यको बिषय बनेको छ ।
त्यसैगरी मन्त्री बस्नेतले केही दिनअघि वीर अस्पतालमा कार्यरत डा. श्रवणकुमार थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मा दिएका छन् । त्यहाँ कार्यरत डा. सर्वेशकुमार शर्मालाई वीर अस्पतालमा पठाइएको छ । थापालाई औषधी आपूर्ति गर्नेहरूको लगानीमा निर्देशकमा लगिएको स्रोतले बतायो । मन्त्री बस्नेतले ठूला नियुक्तिमा ठूलै आर्थिक चलखेल गर्ने गरेका छन् भने ज्यालादारी र करारमा स्वास्थ्यकर्मी र कर्मचारी भर्ना गर्दा जिल्ला र निर्वाचन क्षेत्रकालाई प्राथमिकता दिने गरेका छन् ।
केही दिनअघि वीर अस्पतालमा २५ जना कर्मचारी भर्ना गर्दा १३ जना सिन्धुपाल्चोकका मात्र राखिएको छ । अहिले न्याम्समा २० जना चिकित्सक नियुक्ति गर्न खोज्दा बीसैजना मन्त्रीका मान्छे राख्न उनले भीसी डा. भूपेन्द्र बस्नेतलाई दबाब दिएका छन् । तर, निर्देशक डा. सन्तोष पौडेलले नमान्दा उनको योजनाले साकार रुप लिन सकेको छैन । सयौं कर्मचारी वीरबाट हटाएर आफ्ना मान्छे भर्ती गर्ने दाउमा मन्त्री बस्नेत लागेका छन् ।
आयुर्वेद अनुसन्धान तालिम केन्द्र विकास समिति र नरदेवी आयुर्वेद अस्पतालको बजेटमा मन्त्री बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क स्वास्थ्य शिबिरका नाममा लाखौं सिध्याएका छन् । मन्त्रीको क्षेत्रमा कार्यक्रम संचालन गर्न पाउँदा दुवै निकायका प्रमुखहरूले दिल खोलेर सरकारी बजेट दुरुपयोग गरेका छन् । मन्त्रीसँग निकट हुने र खुसी बनाउने नाममा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।