न ख्वाब जुन तारा झार्ने
न सपना हावामा उड्ने–उडाउने
आफ्नै धरामा
आफू उभिएको धरातल ठम्याएर
पाइला हिँड्दै जाँदा
मुकाम नपुगे पनि
चलायमान भने हुन्छु म
डन किहोटीको जस्तो स्याञ्जपाञ्जा बटुलेर
हावासँग कावा खाएको सपना
निश्चितरूपमा होइन मेरो
न नयाँ डनहरूले खाएकोजस्तो
मुलुक बन्धकी राखेर
त्यसैले–
मेरो सपना,
मैले देखेको सपनाले
मलाई छोडेको छैन
मेरो श्वास–प्रश्वास बनेर
प्रत्येक पाईलामा रूपान्तरित छ
‘अनि पो म हिँडिरहेको छु’