Logo
Logo

विभेदको जगमा पुरुष चरित्रलाई निष्कलङ्कताको पगरी


3.2k
Shares


सामाजिक सञ्जालमा व्यापक खोजी भइरहेको छ, गौशाला-२६ । बलात्कार मुद्दामा दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले गत बिहीबार आठ वर्ष जेल सजाय सुनाएको थियो । त्यसपछि सुरु भएको गौशला-२६ खोजी अझै रोकिएको छैन ।

गतवर्ष सन्दीपलाई एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन् । उनीविरुद्ध मुद्दा दायर गर्दा प्रहरीले पीडित युवतीको परिवर्तित नाम गौशाला- २६ राखेको थियो । सन्दीप जेल जाने भएपछि उनै युवतीको खोजी सुरु भयो ।

सामाजिक सञ्जालमा एकजमात दोषी ठहरिएका सन्दीपको बचाउमा मात्रै लागेका छैनन्, कानुनी शासन र अदालती फैसलाको धज्जी उडाइरहेका छन् । पीडित युवतीको चरित्रहत्या गरेर थप पीडा दिइरहेका छन् । सन्दीपलाई फसाउने ‘गौशाला- २६ यिनै हुन्’ भनेर तस्बिर भाइरल बनाइएको छ । पीडितमाथि अनुचित टिकाटिप्पणी गरिरहेका छन् । विभिन्न लाञ्छना लगाइरहेका छन् ।

केहीले त ठोकुवा गरेका छन्- ‘सन्दीपलाई फँसाइएको हो । पहिला लभ गरे, पछि कुरा नमिलेपछि बलात्कारको आरोप लगायो ।’ दोष जति सबै युवतीमाथि थुपारिरहेका छन् । सामाजिक सञ्जालमा छरपस्ट पारिएका सामाग्रीबाट पीडित आहत छन् ।

आज पनि समाज महिलाको चरित्रमा हिलो छ्यापेर पुरुष चरित्रलाई निष्कलङ्कताको पगरी गुत्थ्न चाहन्छ । त्यसैले त महिलाको मात्रै चरित्रमा प्रश्न उठ्छ । गौशाला–२६ को चरित्रमा खुलेआम धावा बोलेर समाजले विभेदयुक्त पितृसत्तात्मक सोचकै पक्षपोषण गरिरहेको छ ।

गौशाला-२६ त एक प्रतिनिधि पात्र मात्रै हुन् । यसअघि पनि पीडित महिलामाथि यस्ता लाञ्छना लगाउनेहरुको कमी थिएन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीमाथि यौन शोषणको आरोप लगाउँदा यसरी नै औँला उठाइएको थियो ।

साम्राज्ञीले यौन दुर्व्यवहारको आरोप लाएपछि भुवन अदालत पुगेका थिए । तर, अदालतले साम्रागीकै पक्षमा फैसला गर्याे । महरा–रोशनी काण्ड, पल शाह प्रकरणलगायतका घटना पनि महिलाको चरित्रमा औँला उठाइएको थियो ।

यहाँ एउटा जमात कानुनी शासन मान्न तयार छैन । कानुनले अपराधी ठहराएका व्यक्तिलाई पनि दोषी मान्दै मान्दैन । आफै न्यायाधीश बन्छ । सामाजिक सञ्जालबाटै फैसला गर्छ ! उनीहरुलाई दोषी करार गर्न र निर्दोष ठहर्याउन कुनै आधार-प्रमाण चाहिँदैन । पीडकलाई देवता र पीडितलाई दानव बनाइदिन्छ ! यस्तो व्यवहारले अझै पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने प्रस्ट पार्छ । त्यसैले भनिएको हो- पितृसत्तात्मक समाज ।

केटीमाथि सबैभन्दा बढी लाग्ने लाञ्छना हो- पैसा र शक्तिमा बिक्ने । कुनैकुनै घटना हेर्दा यो आरोप गलत पनि देखिँदैन । पुरुषले जबरजस्ती महिलासँग मित्रता गाँस्दैनन् । हिँड्न वा सँगै बस्न बाध्य पारेको पनि देखिँदैन । राजीखुसी घुम्न गएको देखिन्छ ।

त्यसैले गौशला–२६ माथि पनि प्रश्न गरेका छन्- ‘त्यो केटासँग किन घुम्न गएको त ?’ तर, प्रश्न यसरी पनि उठ्छ- कुनै केटासँग घुम्न जानु भनेको यौन सम्बन्ध राख्न जानु हो र ? यौन सम्बन्ध राख्नका लागि स्वीकृत दिनु हो र ? कुनै सेलिब्रेटीलाई भेट्नु भनेको आफ्नो सर्वस्व सुम्पिनु हो र ?

गौशला-२६ सँग घुम्न गएको भोलिपल्ट क्रिकेट खेल्न केन्या उड्दै थिए, सन्दीप । त्यसबेला क्यानले खेलाडीलाई क्लोज क्याम्पमा राखेको थियो । खेलाडीले क्याम्प छोडेर जान मिल्दैन । क्याम्प छोडेर कुनै युवतीसँग रातभर होटलमा बस्दा केटाको चरित्रमा कसैले प्रश्न उठाएनन् किन ?

यौन शोषणको घटना सार्वजनिक हुने वित्तिकै महिलाको चरित्रमै दोष थुपारिन्छ । चरित्रमा औँला उठाउन तँछाडमछाड गर्छन् ! अरू सबै गौण हुन्छ । मुख्य विषय ओझेलमा पारिन्छ । दोष खुल्नुअघि नै चरित्रहीन देखाइन्छ । यही कारण महिला बढी पीडित छन् ।

महिलालाई सामाजिक रूपमा हुर्मत लिनुछ र पतन गराउनुछ भने सबभन्दा सजिलो तरिका हो- चारित्रिक लाञ्छना लगाउनु । जसलाई प्रमाणित गर्नै पर्दैन । आफूलाई कसैले चरित्रहीन भनिदेलान् भनेर पाइला-पाइलामा डराउनुपर्छ । परिवारको डर, समाजको डर, बदनामीको डर । डरैडरले मुखमा पट्टी लगाइदिएको छ ।

समाजले महिलालाई ‘सहनुपर्छ’ भनेर सिकाएको छ । पुरुषलाई हिंसा गर्नुहुन्न भनेर सिकाएको देखिँदैन । यत्रतत्र सुनिन्छ- महिलालाई अधिकार बढी भयो । तर, महिलालाई अधिकार चाहिएको होइन । समानता चाहिएको हो । महिलालाई पुरुष समान अस्तित्व चाहिएको हो । महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार चाहिएको हो ।

केही घटनाले सामाजिक सञ्जाल भावना र आक्रोश पोख्ने थलो पनि बनेको छ । आरोप लाग्नु हुँदैन, दोषी नै करार गरिदिन्छन् । पुरुषको जीवन तहसनहस पारिन्छ । यो पनि महत्त्वपूर्ण कुरा हो । यसबारे छलफल हुनु जरुरी छ । तर, सन्दीपलाई न्यायलयले नै दोष ठहर गरेको हो ।

उनी दोषी ठहरिए पनि आँखा चिम्लिएर पीडित युवतीको चरित्रहत्या गर्न तल्लीन छन् । न्यायलयले अपराधी ठहरिएकालाई निर्दोष र न्यायलयले पीडित भनिएको दोषी स्थापित गर्ने प्रयास भइरहेको छ । उनको चरित्रहत्या गर्न प्रयोग गरिएका शब्दहरू सभ्य समाजका लागि लाजको विषय बन्दै गएका छन् । यो अत्यन्त दुःखदायी कुरा हो । चिन्ता र चिन्तनको विषय हो ।

हामीले धेरै पटक सुनेका छौँ– ‘पोथी बासेको राम्रो हुँदैन ।’ यो भनेको छोरी दबिनु पर्छ भनेको हो । जसकारण उनीहरू आफूमाथि हुने हिंसाविरुद्ध खुलेर बोल्न सक्दैनन् । केही समयअघिसम्म धेरैमा श्रीमतीलाई जस्तो व्यवहार गरोस्, उसको मर्जी थियो । जस्तो मालिकको पशुमाथिको अधिकार हुन्छ, त्यस्तै थियो । शरीर महिलाको, अधिन पुरुषको ।

चन्द्रशम्शेरको पालामा १९७७ असार १५ गते सतिप्रथा अन्त्य भयो । त्यसअघि मृतक श्रीमानलाई स्वर्गमा स्त्रीसुख प्रदान गर्न भन्दै श्रीमानको लाससँगै महिला जिउँदै जलेर सति जानुपर्ने अन्धविश्वास थियो । अहिले यो स्थिति छैन, त्यो समाजबाट निकै माथि उठिसक्यौँ । तर, अवशेष भने बाँकी नै छ ।

महिला अझै दाइजोको नल्याउँदा जिउँदै जल्न छाडेका छैनन् । मारिन छाडेका छैनन् । शारीरिक र मानसिक यातना खेपिरहनु परेको छ । पुरुष पीडित र महिला पीडक भएका घटना पनि कैयन छन् । यसको मतलब पुरुषमाथि हुने हिंसा ठीक हो भन्ने होइन । हिंसा कोहीमाथि भएको पनि राम्रो होइन ।

सीता हरण हुँदा पनि उनको चरित्रमाथि औँला उठाइएको थियो । अग्नि परीक्षा लिइएको थियो । तर, हरण गर्ने रावणको चरित्रमा किन प्रश्न उठेन ? रावणलाई कारबाही गरेको पनि कतै उल्लेख छैन ।

अहिले पनि विभेदकारी भनाइहरु प्रशस्त छन् । जस्तै, स्त्री चरित्र दैवो नजाने । अर्थात् महिलाको चरित्र त भगवानलाई पनि थाहा हुन्न । यति सजिलै नारी अस्मितामाथि प्रश्न उठाउन सक्ने आधार पाएपछि महिलाको चरित्रहत्या गर्ने प्रयास किन सजिलै नहोस् पनि ?

अन्त्यमा, परिवर्तन हठात् हुने कुरा होइन । पिलो निचोरे जस्तो हुँदैन । काँडा झिकेजस्तो हुँदैन । समय लाग्छ । समय यकिन गर्न सकिँदैन । तर, सोच परिवर्तन गरेनौँ भने, विचार फेरेनौँ भने यो कहिल्यै अन्त्य हुँदैन !

पितृसत्तात्मक सोचमा परिवर्तन नआउँदासम्म महिलामैत्री समाज निर्माण हुन सक्दैन । छोरीहरू समाजमा निर्धक्क भएर बाँच्न सक्दैनन् । त्यसैले सँधै महिलाको चरित्रमाथि औँला उठाउने काम बन्द गर्नुपर्छ । जोसुकै होस् दोषीलाई दोषी र निर्दोषीलाई निर्दोष भन्न सक्नुपर्छ । अनि मात्र समाज सुध्रिन्छ ।

प्रतिक्रिया दिनुहोस्