ठमाडौँ । काठमाडौँको शोभाभगवतीमा महिलाको हत्या गरी भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले आरोपितलाई नियन्त्रणमा लिई आज (आइतबार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको बिहार दरभङ्गा घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारी रहेका छन् ।
अन्सारी तनहुँ भीमाद नागरपालिकाका ५१ वर्षीय सफिना मियाँको हत्या गरी फरार भएका थिए । मियाँको हत्या गरी भारत भागेका अन्सारी फेरि काठमाडौँ आएको बेला उनलाई प्रहरीले कालीमाटीबाट पक्राउ गरेको हो ।
यही माघ ३ गते मियाँको शव सडिसकेको अवस्थामा भेटिएको थियो । शोभाभगवतीस्थित सरिता गिरीको दुई तले घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका बेला स्थानीयको रोहबरमा धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो ।
त्यसपछि काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त, स्वयम्भुको टोलीले हत्याको घटनाको अनुसन्धान थालेको थियो । उनको साथमा अर्का एक जना पुरुष पनि बस्ने गरेको खुलेपछि खोजी गर्ने क्रममा उनी भारतसम्म पुगेको खुलेको थियो ।
काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले भने, ‘हत्यापछि वीरगञ्ज जाने सुमो चढेर गएको देखिन्छ, त्यसपछि रक्सौल, गुजरात, लखनउ हुँदै भारतको विभिन्न स्थानमा करिब २ महिनासम्म लुकिछिपी बसेको देखिन्छ, त्यसक्रममा उनी भारतमा रहे पनि आफ्ना साथीहरुको माध्यमबाट घटनाबारे निरन्तर सूचना लिइरहेका थिए ।’
प्रारम्भिक अनुसन्धान अनुसार मियाँको हत्या तीन-चार महिना अघि नै भएको थियो । ती महिला र पुरुष दुवै विवाहित हुन् । उनीहरू लामो समयदेखि विवाहेतर सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।
उनीहरू एक वर्षदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ । मियाँको श्रीमान् विदेशमा रहेको र अन्सारीले जिबीएस गार्मेन्टमा कालिगडको रूपमा काम गर्दै आएका थिए ।
करिब ३ महिनादेखि उनीहरुबीच बेलाबेला वादविवाद हुने गरेको खुलेको प्रहरीको भनाइ छ । ‘पछिल्लो समय इकरामले मदिरा सेवन गरेर दिनहुँ झगडा गर्ने गरेको खुलेको छ, त्यसपछि दुईबीचको सम्बन्धमा थप तिक्तता आएको थियो’, ढुंगेलले भने, ‘त्यसपछि कात्तिक महिनाको पहिलो हप्तातिर राति उनले मादक पदार्थ सेवन गरेर काठको आग्लोले हानेर सफिनालाई घाइते बनाएको देखिन्छ ।’
घटनापछि शवलाई खाटमुनि लुकाएर उनी ढोकामा ताला लगाएर चाबी बाहिर निस्किने बाटोको झ्यांङमा फ्याँकेर भागेका थिए । यस विषयमा थप अनुसन्धान चलिरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।