Logo
Logo

प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, मिर्गौलाले काम गर्न थाल्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको अस्पतालले जनाएको छ । बुधबार प्रधानमन्त्री ओलीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा त्रमिक रुपमा सुधार भइरहेको हो ।


बिहीबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार पसम्मेलनमा शक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको जानकारी दिएका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूको मिर्गौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन, उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ’, प्रा. डा खड्गाले भने, ‘प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालिसकेको छ ।’
प्रधानमन्त्रीको सबै ‘भाइटल’ र ‘ल्याब’ सूचक सामान्य अवस्थामा रहेको समेत उनले बताए । उनले भने, ‘उहाँका सबै भाइटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् । उहाँलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको छ ।’ त्यस्तै प्रधानमन्त्रीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा ‘सम्माननीय प्रधानमन्त्रीज्यूकी मिर्गौला दाता श्रीमती समीक्षा संग्रौलाजीको पनि स्वास्थ्य स्थिति स्थिर छ र उहाँलाई पनि आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिसकिएको’ उल्लेख छ ।
प्रधानमन्त्री ओलीको यो दोस्रोपटक मिर्गौला प्रत्यारोपण हो । यसअघि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोण गरिएको थियो । प्रधानमन्त्री ओलीले यसपटक स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने इच्छा गरेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको शल्यक्रिया गरिएको हो ।
प्रधानमन्त्रीको शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, प्रा.डा अनन्त कुमारलगायत सहभागी थिए । अनन्तकुमार प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक हुन् ।
मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रधानमन्त्रीकी निजी चिकित्सकसमेत रहेकी प्रा.डा दिव्या सिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द्र काफ्ले र डा. रविन नेपालीलगायतको टोली रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्