Logo
Logo

रविन्द्र मिश्रले भने- मैले राप्रपा बुझेकै छैन


630
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूले राप्रपा नबुझेको र बुझेर अगाडि बढ्न चाहेको बताएका छन् ।

केही दिनअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले दिएको अभिव्यक्तिको जवाफ दिँदै मिश्रले यस्तो बताएका हुन् । अध्यक्ष लिङदेनले केही दिनअघि एक टिभी अन्तर्वातामा भनेका थिए, ‘रवीन्द्र मिश्रजीले राप्रपा नै के बुझेको छ भनेको ? उहाँ हिजोअस्ती आउनुभएको । उहाँले राप्रपा के बुझ्नु भएको छ ?’ उहाँले राप्रपा बुझ्नै बाँकी छ । भर्खर आउनुभएको छ । एक, डेढ वर्ष हुँदैछ । उहाँले सरकारमा जानु ठिक थियो कि थिएन, प्रदेश सभामा सभामुखमा जानु ठिक थियो कि थिएन, उहाँलाई लागेको कुरा भन्नुभयो ।’

अध्यक्ष लिङ्देनले दिएको उक्त भनाइलाई स्वीकार्दै मिश्रले आफूले राप्रपा नबुझेको बताएका हुन् । ‘अनुभवले दिने परिपक्कता भनेको अनुभवले नै दिन्छ, सैद्धान्तिक ज्ञानले मात्र दिँदैन’ काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले भने, ‘राप्रपामा ३० वर्ष काम गरेका वरिष्ठ नेताहरू हुनुहुन्छ, उहाँहरूले म १५ महिना राप्रपामा जोडिएको मान्छेलाई उहाँ नयाँ हुनुहुन्छ, उहाँलाई राप्रपा राम्रोसँग थाहा छैन भन्नु त्यो अत्यन्त स्वभाविक हो ।’

राप्रपामा जोडिएको छोटो अवधिमै आफूले देशैभरि भ्रमण गरेको र राप्रपाका कार्यकर्ताहरूसँग कुरा गरेको उनको भनाइ छ । उनले भने, ‘मैले व्यापक रूपमा देशैभरि भ्रमण गरेको छु । राप्रपाका सामान्य सदस्य, स्थानीय नेताहरू र वरिष्ठ नेताहरूले मलाई राप्रपा चिनाउने, राप्रपा बुझाउने कुरामा प्रशस्त सहयोग गरिराख्नु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन, अन्य वरिष्ठ नेताहरू, जिल्ला–जिल्लाका नेता र कार्यकर्ताले सहयोग गर्नुभएको छ । त्यसो हुनाले हो त मैले बुझेको छैन ।’

दुई दशकभन्दा बढी पत्रकारिता अध्ययन गरे पनि नबुझेको प्रसंग उल्लेख गर्दै उनले राजनीति गरेको जम्मा ६ वर्ष भएको र राप्रपामा जोडिएको १५ महिना भएको बताए । मिश्रले आफूले राप्रपा नबुझ्नु स्वभाविक भएको समेत बताए ।

मिश्रले भने, ‘मैले त्यत्रो अभ्यास गरेको पत्रकारिता बुझेको छैन भने अहिले भर्खर राजनीति सुरू गरेको ६ वर्ष भयो । राप्रपामा जोडिएको १५ महिना भयो । मैले नबुझ्नु स्वभाविक हो । मलाई सबैले सहयोग गरिदिऊँ, म बुझ्न चाहन्छु । म बुझेर अगाडि बढ्न चाहन्छु ।’

कोशीमा गत पुस २४ गते राप्रपाका तत्कालीन सांसद अम्बरबहादुर विष्ट सभामुख निर्वाचित भएका थिए । सभामुख निर्वाचन प्रक्रिया चलिरहँदा प्रकाशचन्द्र लोहनी नेतृत्वमा रहेको राप्रपा निर्देशन समितिले उम्मेदवारी फिर्ता लिन निर्देशन जारी गरेका थिए ।

निर्देशन समितिले कोशी सभामुखबाट फिर्ता हुन निर्देशन जारी गरेपछि उक्त विषयलाई लिएर राप्रपामा मतभेद उत्पन्न भएको छ । अध्यक्ष लिङ्देनले सार्वजनिक रूपमै निर्देशन समितिको निर्देशनबारे पार्टी बैठकमा छलफल नहुने बताएका छन् । तर, मिश्रले यसबारे अब बस्ने कार्यसम्पादन र केन्द्रीय समितिमा छलफल गरी निक्र्यैल निकाल्ने बताएका छन् ।

राप्रपा सरकारमा जाने विषय र सभामुखजस्ता पद लिने विषयमा आफूले व्यक्तिगत रूपमा त्यसो गर्न हुन्न भनेको उनको भनाइ छ । उनले यसबारे केन्द्रीय समिति र कार्यसम्पादनमा छलफल गरेर निक्र्यैल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्