जानकी (बाँके) । इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्ष भवन निर्माण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यद्वारा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन भएको छ ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले प्रहरीसँग नागरिकले सुरक्षा चाहने हुँदा सुरक्षाका लागि प्रहरी परिसर नै सुरक्षित हुन आवश्यक रहेको भन्दै इलाका प्रहरी कार्यालयको नवनिर्मित भवन सुरक्षित रहेको बताए ।
‘न्याय पाउने आशामा इलाका आउने महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि फरक फरक कार्यकक्षको निर्माण गर्नु नै प्रहरीप्रति नागरिकले विश्वासको वातावरण महसुस गर्नु हो,’ उनले भने, ‘प्रहरीले नागरिकलाई दिने सुरक्षामध्येको एक हो प्रहरी परिसरभित्रको भौतिक संरचना जुन यस इलाकाको गर्न सफल भएको छ ।’
प्रजिअ पोखरेलले कोहलपुर इलाका प्रहरी कार्यालयले देशकै लागि उदाहरणीय काम गरेको बताए । ‘नियामक निकायलाई नियम कानुन पालन गर्न बाध्य बनाउन जरुरी छ,’ उनले भने ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख आचार्यले आफ्नो नगरमा नागरिकले पाउनुपर्ने हरेक खालका सेवा पाउनुपर्छ भन्दै त्यसका लागि इलाका प्रहरी कार्यालय पनि प्रमुख क्षेत्र भएको बताए ।
‘नगरवासीले कुनै पनि क्षेत्रबाट सेवा पाएनौँ भन्ने कुरा सुन्न नपरोस् भनेर नै प्रत्येक क्षेत्रमा नगरपालिका संवेदनशील छ’, उनले भने, ‘प्रहरीले दिने सेवा र प्रहरी कार्यालय पनि एक भएको हुँदा नगरले प्रहरी कार्यालयमा नागरिक सहायता कक्षको नयाँ भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।’
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुवासचन्द्र बोहोराले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न बाँकेबासीलाई आग्रह गरे । ‘नागरिकको हरेक दुःखसुखमा चौबिसै घण्टा प्रहरी नै साथी भएको हुन्छ,’ उनले भने, ‘प्रहरीलाई पनि साथी बनाएर बाँकेको शान्तिसुरक्षा कायम गर्न बासीलाई आग्रह गर्दछु ।’
उक्त भवन निर्माण रु २२ लाख ६२ हजार पाँच सय आठको लागतमा भवन निर्माण भएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।
कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो भने उक्त नागरिक सहायता कक्ष बनाउनका लागि आर्थिक सहयोग गर्ने कोहलपुर नगरपालिकालाई पनि सम्मान गरिएको थियो ।
यसका साथै एक सिसीटिभि सुरक्षित समाजको लागि योगदान पु¥याएबापत दश वटा सङ्घसंस्थालाई पनि सम्मान गरिएको थियो । भवन निर्माण तथा सौन्दर्यकरणका लागि महत्वपूर्ण योगदान गर्ने १९ व्यक्ति तथा संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।