Logo
Logo

जनतामाझ पुग्ने होडबाजीमा नेतादेखि पूर्वराजासम्म, जनता भने विदेश भाग्दै !


2k
Shares

काठमाडौं । अहिले राजनीतिक दलहरू विभिन्न अभियानमार्फत जनतामाझ पुग्ने होडबाजीमा छन् । एउटा निर्वाचन सकिएलगत्तै अर्को चुनावको चिन्ताले दलहरूलाई छोएको यो सम्भवतः पहिलो हो ।

दलहरूले ०८० सालमै मिसन– ०८४ चलाइरहेका छन् । पोहोर मंसिरको संघ र प्रदेश निर्वाचनलगत्तै सुरु भएको थियो- मिसन ०८४ । अर्को निर्वाचन हुन अझै चार वर्ष बाँकी छ, तर आम दलहरूलाई भने निर्वाचनले छोइसकेको छ ।

मिसन ०८४ को रुपमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ‘मिसन ग्रास रुट’ र ‘मध्यपहाडी लोकमार्ग’ अभियान चलायो । २०७९ मंसिरमा भएको निर्वाचनमा अपेक्षित जित निकाल्न नसकेपछि त्यसलगत्तै एमालेले ‘मिसन ग्रास रुट’ चलायो ।  

आमनिर्वाचनको दुई महिना नबित्दै एमाले ‘मिसन ग्रासरुट’ अभियानमार्फत जनतासमक्ष पुग्यो । एमालेले २०७९ फागुन पहिलो हप्तादेखि दुई महिनासम्म अभियान सञ्चालन गरेको थियो । अभियानमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू नै खटिएका थिए ।  

एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ नामक अर्को अभियान सम्पन्न गरिसकेको छ । महाकाली नदी किनारको झुलाघाटबाट सुरु भई पूर्वको पाँचथरको चिवाभञ्ज्याङ पुगेर उक्त यात्रा गत पुस १ गते सकिएको थियो । 

दुई हप्ते यात्रामा अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष तहकै नेता सहभागी थिए । त्यस क्रममा प्राप्त सात सय ५१ सुझाव एमालेले सरकारलाई बुझाइसकेको छ ।  

यही प्रकृतिको कार्यक्रम अन्य दलहरूले पनि चलाइरहेका छन् । सत्तारुढ दल नेपाली कांग्रेस ‘समुदायमा कांग्रेस’ नामको अभियान लिएर शनिबारदेखि जनतामाझ गएको छ ।

यो अभियानको औपचारिक सुरुवात भने शहीद दिवस (१६ माघ)को अवसर पारेर गर्ने कांग्रेसले जनाएको छ  । यो अभियानमार्फत् कांग्रेस ६ हजार ७४३ वटै वडामा पुग्नेछ । यसका लागि केन्द्रीय स्तरका नेताहरू शनिबारदेखि नै गाउँ–गाउँ पुग्ने क्रममा छन् । 

कांग्रेसले तीनै तहका सरकारसँगका जनताका अपेक्षा, सुझाव, गुनासो सुन्ने उद्देश्यले अभियान सुरु गरेको हो । जनताबाट प्राप्त सुझावलाई तत्तत् तहका सरकारमा पुर्याउने, कार्यान्वयनका लागि अग्रसरता लिने, पार्टी प्रतिपक्षमा रहेका ठाउँमा पार्टीका तर्फबाट समाधानका लागि पहलकदमी लिनेलगायतका उद्देश्य ‘समुदायमा कांग्रेस’को छ । 

सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि चार महिना लामो ‘रूपान्तरण अभियान’ चलाइसकेको छ । तीन महिनाका लागि भनेर १६ भदौदेखि सुरु गरिएको यो अभियान माओवादीले एक महिना समय थपेर चार महिना पुर्याएकाे थियो । 

यता, गत संसदीय निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि ‘मिसन ८४’ सफल पार्ने योजना छ । राास्वपाले भने आगामी निर्वाचनकेन्द्रित प्रवास रणनीति बनाएको छ । प्रवासमा संगठन बलियो बनाउने र ‘मिसन ८४’ सफल पार्ने उसको योजना छ । 

प्रवासमा रहेका मतदातासँग नजिकिन र उनीहरूको मन जित्न आवश्यक रहेको रास्वपाको विश्लेषण छ  । यसैअनुसार रास्वपा नेताहरूले केही समयअघि विदेश यात्रा गरेका थिए । त्यसअघि रास्वपाले स्वदेशमा एक चरणको संगठन निर्माण, विस्तार र मतदाता भेटघाट अभियान चलाएको थियो । 

रास्वपाले मलेसियाबाट विदेश यात्रा मलेसियाबाट सुरु गरेको थियो । पहिलो चरणको उक्त विदेश यात्रा बेलायतमा पुगेर गुंग्याएकाे थियाे । अहिले पनि रास्वपाका सभापति रवि लामिछानेलगायत केही नेताहरू भारत पुगेका छन् । 

त्यस्तै रास्वपाले  पुस १२ गतेसम्म तीनदिने ‘नारायणगढ–बुटवल पदयात्रा’ गरेको थियो । जसमा सभापति रवि लामिछाने स्वयं सहभागी थिए । 

संसद्का प्रमुख दलहरू पालैपालो जनतामाझ पुगेपछि नेकपा एकीकृत समाजवादी पनि अभियान चलाउन बाध्य भयो । एकीकृत समाजवादीले चार महिनाअघि ‘समाजवाद जागरण यात्रा’ गरेको थियो ।  

एकीकृत समाजवादीले १४ असोजदेखि झापाको काँकडभित्ता स्थित मेची नदीबाट यात्रा सुरु गरेको थियो । असोज २९ मा पश्चिम महाकाली पुगेर सकिएको समाजवाद जागरण यात्राको उद्देश्य पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण प्रचारप्रसार गर्ने थियो । 

यी विभिन्न दलले विभिन्न नामले अभियान चलाए पनि मिसन– ८४ कै एक अंश हो । नाम फरकफर भएपनि कार्यक्रम र उद्देश्यको दृष्टिकोणले खासै भिन्न छैन । 

राजनीतिक दलहरूका मात्रै होइनन् । राजावादी र पूर्वराजा ज्ञानेन्द्र शाहको समेत सक्रियता बढेको छ । सत्तामा फर्किने आशामा सक्रियता बढाएका पुर्वराजा शाह नागरिक अभिनन्दनको नाममा बिस्तारै राजनीतिक रङतर्फ खुल्न पनि थालका छन् । 

उनले मुलुकका विभिन्न ठाउँमा पुगेर पूर्वराजा शाहले प्रजातन्त्रप्रति चिन्ता व्यक्त गरिरहेका छन् । उनी नेपालको अस्थिरतामा कतै व्यवस्था परिवर्तन गर्न पो सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् । 

दलदेखि पूर्वराजासम्म जनतासमक्ष पुग्ने होडबाजीमा लाग्दा जनता भने बिदेसिने होडबाजीमा छन् । एक वर्षमै १६ लाखभन्दा धेरै नेपाली बिदेसिएका छन् । 

अध्यागमन विभागका अनुसार वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजनका लागि सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना बिदेसिएका छन् । जसमा महिलाको सङ्ख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको सङ्ख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् ।

त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन् । जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन् ।

यस्तै वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना बिदेसिँदा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ ।

यसैगरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना बिदेसिँदा पुरुषको सङ्ख्या ५१ हजार ८७६ र महिलाको सङ्ख्या ४० हजार ४६८ जना रहेका छन् । यस्तै स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ गरी कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्