Logo
Logo

आशाको दियो


- शम्भु श्रेष्ठ

0
Shares

  • शम्भु श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार मिर्गौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल महाराजगन्ज जानुभन्दा अगाडि जारी गर्नुभएको सन्देशले सिंगो नेपाली जनतालाई भावुक मात्र बनाएन, चिन्तित पनि तुल्यायो । उक्त सन्देशमा ‘आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासलाई बलियो बनाउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । हाम्रा जागृत हुँदै गरेको सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।’

शम्भु श्रेष्ठ

प्रधानमन्त्री ओलीद्वारा व्यक्त यी शब्दहरुले हरेक नेपालीको मन, मुटु हल्लाइरहेको थियो । अस्पताल जानु अगाडि व्यक्त गरिएका यी शब्दले उहाँको आत्मविश्वासलाई अझ बलियो बनाएको थियो । यस सन्देशले सिंगो देश र जनता उहाँको मिर्गौला प्रत्यारोपण नभएसम्म छटपटाइरहेका थिए । सबैको ध्यान प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केन्द्रित थियो । मिर्गौला प्रत्यारोपण भएको बिहान कसैलाई खाना खानै मन लागेन । कसैलाई कामै गर्न मन लागेन । कसैलाई अफिस जानै मन लागेन । प्रधानमन्त्री ओलीको स्वाथ्यप्रति चिन्तित लाखौँ अनुहारहरुले त्यस दिनभर सामाजिक सञ्जालबाट उहाँको स्वास्थ्यलाभको कामना गरेर बिताए । त्रिविवि शिक्षण अस्पतालमा आशाको दियो बाल्नेदेखि देशभरका मठमन्दिरमा पूजाआज गरेर उहाँको स्वास्थ्यलाभको कामना गरे । बुधबार बिहान जब उहाँको मिर्गौला प्रत्यारोपणसुरु गरिएको खबर सामाजिक सञ्जालमा आयो, तब हरेक नेपालीको मुटुको धड्कन पनि बढ्यो । जब अपराह्न उहाँको मिर्गौलाको सफल प्रत्यारोपण भएको वक्तव्य चिकित्सकहरुले दिए, तब मात्रै सबैको मन हलुका भयो । दिनभर तनाव, थकित अनुहारमा खुशीयाली छाउन थाल्यो ।

प्रधानमन्त्री ओलीप्रति नेपाली जनताको कति ठूलो आशा र भरोसा रहेछ भन्ने कुरा उहाँको स्वास्थ्यलाई लिएर चिन्तित लाखौँ नेपालीको अनुहारमा देखिएको भावुकताबाट प्रकट हुन्थ्यो । ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरुको प्रतिक्रियाबाट पनि ओलीमा कति धेरै आत्मबल रहेछ भन्ने कुरा बुझ्न सकिन्थ्यो । बाह्र वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गर्नुभएका ओली त्यही आत्मबलका साथ अगाडि बढिरहनुभएको छ । उहाँको जीवन हरेक व्यक्तिका लागि प्रेरणा बन्न सक्छ । जननेता मदन भण्डारीले ‘राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन’ भनेझैँ जस्तोसुकै परिस्थितिमा पनि प्रधानमन्त्री ओलीले थकाइ मार्नु भएन । त्यसमाथि उपचारमा जानु अगाडि नेपाली चिकित्सकहरुको मनोबल उँचो राख्न उहाँले ‘आफ्नै देशका अनुभवी, दक्ष चिकित्सकहरुद्वारा मिर्गौला प्रत्यारोपण गराउने सुविधा पाउँदा म खुशी मात्र होइन, उहाँहरुप्रति गर्व गर्छु’ भन्नुभयो । उहाँका यी सकारात्मक शब्दहरुले चिकित्सकहरुको पनि मनोबल बढ्यो । आत्मविश्वास बढ्यो । किनभने, ती चिकित्सकहरुले सयौँ नेपालीहरुको मिर्गौला प्रत्यारोपण गर्न सफल भए पनि देशकै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने अवसर पहिलोपटक पाएका थिए । यस खबरले विश्वमै नेपाली चिकित्सकहरुको शिर ठाडो भएको छ ।

नब्बे वर्षीय पिता मोहनप्रसाद ओलीलाई ढोगेर अस्पताल भर्ना हुन जानुभएका प्रधानमन्त्री ओलीलाई पिता मोहनप्रसादको मात्रै होइन, सिंगो नेपाली जनताको आशीर्वाद थियो, त्यसलाई चिकित्साशास्त्रको आधुनिक विज्ञानले साकार बनाएको छ । अब प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै ‘सुखी नेपाली, समृद्ध नेपाल’को महान् यात्रामा सिंगो नेपाली जनतालाई आफूसँग हिँडाउन आफ्नो कार्यशैली अलिकति भए पनि परिवर्तन गर्नैपर्छ । एक्लो हिँडेर कहीँ पनि पुगिँदैन । उहाँको साथमा सिंगो नेपाली जनता छन् भन्ने कुरा निर्वाचन परिणामले मात्र होइन, उहाँको स्वास्थ्यप्रति चिन्तित अनुहारबाट पनि झल्किन्छ । जनताको सपना अलप हुन नदिन अब उहाँले सानो घेरा तोड्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्