Logo
Logo

इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय


504
Shares

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका श्रीमती बुशरा बिबीलाई १४ वर्षको जेल सजाय भएको छ ।
नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले बुधबार रावलपिण्डीमा खान र बिबीलाई १४ वर्ष जेल सजाय सुनाएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ ।

राज्यले प्राप्त गरेका उपहार बेचेको आरोपमा उनीहरूलाई ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवानासहित जेल सजाय सुनाइएको हो । अब खान दम्पती १० वर्षसम्म कुनै पनि सरकारी पदका लागि अयोग्य ठहर भएका छन् ।

मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो । सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना÷सन्देश हो ।

खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ । त्यसअघि राज्यले प्राप्त गरेको उपहार बेचेको मुद्दा (तोशाखाना मुद्दा) मा इस्लामावादको उच्च अदालतले खानलाई ३ वर्ष जेल सजाय सुनाएको थियो ।

गत अगष्टमा खानले आफू सत्तामा हुँदा सन् २०१८ देखि २०२२ सम्म ५ लाख १ हजार अमेरिकी डलर बराबरको सरकारी उपहार बेचेको भन्दै उक्त सजाय सुनाइएको थियो । पछि उक्त सजाय स्थगित भए पनि अन्य मुद्दा चलिरहेको हुँदा उनी जेलमै रहेका थिए । हाल उनी अडियाला जेलमा छन् ।

पाकिस्तानमा फेब्रुअरी ९ मा आमनिर्वाचन छ । खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक–इ–इन्साफ पार्टीले पनि निर्वाचनमा भाग लिँदैछ । तर चुनाव नजिकिएसँगै खानविरूद्ध एकपछि अर्को जेल सजाय सुनाइएको हो । उनले प्राप्त गरेको जेल सजायको भुक्तानी कसरी हुन्छ भन्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्