Logo
Logo

‘डिस्चार्ज’को तयारीमा प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २७ फागुन । संखुवासभा खाँदबारी ३ का सामान्य नागरिक सुनील गौतम (२४) हिजोआज बिहान सबेरै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुग्छन्, दिनभर बस्छन् र साँझ फर्किन्छन् । उनी आफ्नो उपचारका लागि त्यहाँ गएका होइनन्, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएकै दिनदेखि उनी पुगिरहेका छन् । गौतम मात्र होइन, सयौँ शुभचिन्तक र समर्थकको दिन अस्पताल परिसरमा बित्ने गरेको छ । केहीले त परिसरमै राखिएको टेन्टमा रात गुजार्ने गरेका छन् ।

पछिल्लो सूचनाअनुसार प्रधानमन्त्री ओली हिँडडुल गर्न र चिकित्सकहरुसँग खुलेर कुराकानी गर्न थालिसक्नुभएको छ । उहाँले चाँडो बालुवाटार फर्कने चाहना चिकित्सकहरुलाई बताइसक्नु भएको छ । तर, चिकित्सकहरुले अरु केही दिन अस्पतालमै आराम गर्ने सल्लाह दिएका छन् । अस्पताल स्रोतका अनुसार, यही साताभित्र उहाँ ‘डिस्चार्ज’ हुनुहुनेछ । कुन दिन ‘डिस्चार्ज’ गर्ने भन्ने विषयमा चिकित्सकहरु सल्लाहमा जुटेका छन् । सम्भवतः चाँडोमा बुधबार ढिलोमा शनिबारसम्ममा उहाँलाई डिस्चार्ज गर्ने तयारी छ ।

आफ्ना प्रिय प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट ‘डिस्चार्ज’ भएर सदाझै मुस्कुराउँदै, हात हल्लाउँदै बाहिर निस्किएको एक झलक हेर्न आतुर रहेको उनीहरूले बताउने गरेका छन् । ‘जसरी मुस्कुराउँदै प्रधानमन्त्री ओली दोस्रो प्रत्यारोपणका लागि जानुभएको थियो, त्यसैगरी मुस्कुराउँदै, हात हल्लाउँदै बाहिर निस्किएको हेर्न हामी आतुर छौँ,’ आइतबार अस्पताल परिसरमै भेटिएका गौतमले भने, ‘हामीजस्ता युवा र यो देशको भविष्य उहाँकै काँधमा छ । त्यसैले स्वास्थ्यलाभको कामना गर्न दिनहुँ आइरहेको छु ।’ त्यसोतः अस्पतालमै नपुगे पनि देश र विदेशमा रहेका नेपालीले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । कयौँ मन्दिरमा पूजापाठ, होम, यज्ञ गर्नेदेखि सफल प्रत्यारोपणपछि दीपावली गर्ने काम भएका छन् । आखिर यो सबै किन भइरहेको छ ? किनभने, सिंगो देशका जनताले यतिबेला आफ्नो र आफ्नो सन्ततिको भविष्य प्रधानमन्त्री ओलीसँग जोडेर हेरिरहेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओलीको संकल्पबाट करोडौँका सपना जोडिएका छन्, भविष्य गाँसिएका छन् । त्यसैले सिंगो देशको दृष्टि पछिल्लो ६ दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा टिकेको छ ।

अस्पताल जानुअघि प्रधानमन्त्री स्वयंले देशबासीलाई सम्बोधन गर्दै साझा संकल्प स्मरण गराएका थिए । ‘भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजबुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ । त्यसलाई ब्युँताउन गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईंहरू सबैले आफूलाई उभ्याउनुभयो । यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौँ । जसरी खेलको बीचमा ‘स्टाइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न,’ प्रधानमन्त्रीले प्रतिबद्धता गरेका थिए । उनको यो प्रतिबद्धताभित्र प्रयुक्त ‘ कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ’ भन्ने शब्दावलीले पहिलो प्रधानमन्त्रीत्वकालमा भोगेको भारतीय नाकाबन्दी र डटेर सामना गरेको स्वर्णिम इतिहासलाई इंगित गरेको थियो । यस्तै, जसरी खेलको बीचमा ‘स्टाइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न,’ भन्ने संकल्पले सारा नेपालीमा स्वर्णिम भविष्यप्रति नयाँ उत्साह र ऊर्जा पैदा गरेको थियो । त्यसैले पनि एकटक तिनले अस्पतालमा आँखा लगाइरहेका हुन् । प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।

प्रधानमन्त्रीको दृढ आत्मविश्वास, उपचारमा संलग्न चिकित्सकहरूको कुशलता र सारा नेपालीको कामनाकै कारण स्वास्थ्यअवस्थामा उल्लेख्य सुधार आइरहेको छ । सोमबारबाट उनलाई नियमित व्यायामसमेत गराउन थालिएको छ । उनी आफैँले खाना लिन र सामान्य हिँड्डुल गर्न थालेका छन् । उनमा आत्मविश्वास यति धेरै देखिन्छ कि, उनले सोमबार नै डिस्चार्ज मागेका थिए । तर, चिकित्सकहरूले बालुवाटारमा हुने भेटघाट, त्यसका कारण हुन सक्ने संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अझै केही दिन अस्पतालमै राख्ने निर्णय गरेका छन् । अहिले स्वास्थ्यमा उल्लेख्य सुधार आए पनि चिकित्सकहरूले कसैलाई भेट्न दिएका छैनन् । संक्रमणको जोखिमलाई ध्यान दिँदै चिकित्सकहरूले निकै सतर्कता अपनाइरहेका छन् । तर, प्रधानमन्त्री कतिबेला बालुवाटार फर्कौं र काममा जुटौँ भन्नेमा रहेको चिकित्सकहरूले बताएका छन् ।

भ्रष्टहरूको घेरा सबैभन्दा ठूलो चुनौती

सम्भवतः अस्पताल बसाइको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको आत्मसमीक्षा गरेको हुनुपर्छ । पछिल्लो दुई वर्षदेखि दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेका ओलीलाई बाँकी तीन वर्षमा जनताका धेरै आकांक्षा पूरा गर्ने दबाब छ । त्यसैले उनी एक दिन पनि खेर नफाल्ने निश्कर्षमा पुगेकाले बालुवाटार फर्किन हतारिएका हुन सक्छन् । तर, बालुवाटार फर्केपछि उनलाई सोचेजस्तो सहजता भने छैन । सबैभन्दा ठूलो असहजता उनको टिमबाटै देखिन्छ । दोस्रो प्रधानमन्त्रीत्वकाललाई अझ बढी परिणामुखी बनाउन उनले बनाएको सचिवालय सबैभन्दा ठूलो बाधक देखिएको छ । यसअघिसम्म सचिवालयमा बस्नेहरूले यथार्थ सूचना र सल्लाह दिएरभन्दा स्वार्थकेन्द्रित सल्लाह दिएर प्रधानमन्त्रीलाई गुमराहमा राख्दै आएका छन् । ‘अस्पतालबाट बालुवाटार फर्किएपछि फेरि त्यही घेरा सक्रिय हुन्छ । त्यसोभएपछि प्रधानमन्त्रीले कसरी काममा जनअपेक्षाअनुसारको स्पिरिट समात्नुहोला ?’ नेकपाका एक स्थायी कमिटी सदस्यले प्रधानमन्त्रीका भावी बाधाबारे खुलेरै दृष्टिसँग यस्तो संशय व्यक्त गरे ।

हुन पनि त्यो समूहले कयौँ पटक प्रधानमन्त्रीलाई गलत सूचना, गलत तथ्यांक उपलब्ध गराएर अप्ठेरोमा पारिसकेको छ । संसद्मै समेत प्रधानमन्त्रीबाट गलत तथ्यांक प्रस्तुत गराएको छ । त्यो समूह यतिमा मात्रै रोकिएको छैन, पार्टीका जिम्मेवार नेताहरूलाई प्रधानमन्त्रीसँग भेट हुन नदिन, प्रधानमन्त्रीलाई जनताबाट टाढा पु¥याउन, विशेष व्यक्ति, विशेष समूहलाई बालुवाटारमा सहज आवतजावत गराउन, कमिसनखोर एजेन्ट, तस्कर र बिचौलियालाई फाइदा पुग्ने गरी बालुवाटारको शक्ति दुरुपयोग गर्न लागिपरेको छ । सचिवालयमै रहेकाहरूबाट भएका यस्ता थुप्रै गलत क्रियाकलाप सार्वजनिक भइसकेका छन् ।

यो समूहले पार्टी अध्यक्षसमेत रहेका ओलीलाई पार्टीको सचिवालय बैठकमै असहज अवस्थामा पु¥याइदिएको छ । राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सांसद मनोनयन गर्ने संवैधानिक अधिकार पार्टीको सचिवालयले खोसेको भन्दै प्रधानमन्त्रीलाई उचालेर पार्टी निर्णय नमान्न ओलीलाई उक्साएको बालुवाटार सूत्र बताउँछन । तिनैको उक्साहटमा लागेर प्रधानमन्त्री ओली आफ्नै अध्यक्षतामा बसेको र आफूले समेत प्रस्ताव गरी सर्वसम्मत रूपमा पारित गरेको वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णयबाट पछि हटेका थिए । वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएरै सो निर्णय कार्यान्वयन नगर्ने अडान व्यक्त गरेका थिए । नेपालले सचिवायलको निर्णय मान्नैपर्ने अडान राखेपछि उनी केही मत्थर भए । तर, मिर्गौला प्रत्यारोपणमा जानुअघि बसेको मन्त्रिपरिषद्बाट उनले गौतमलाई सिफारिस गर्ने निर्णय गराएनन् । बरु, युवराज खतिवडालाई सांसद नै नरहेको अवस्थामा पनि अर्थमन्त्री बनाउने निर्णयमा पुगे । पार्टीभित्र व्यापक विरोधका बाबजुद प्रधानमन्त्रीले काँध थामेकाले खतिवडा पुनः अर्थमन्त्री बनिसकेका छन् । तर, गौतमबारे भने कुनै निर्णय भएको छैन ।

सचिवालय निर्णय प्रधानमन्त्रीको चुनौती

अस्पतालबाट नयाँ मिर्गौलासहित नयाँ उत्साह बोकेर फर्किँदै गर्दा ओलीमाथि सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयनको दबाबले सबैभन्दा बढ्ता समस्या उत्पन्न गर्नेछ । ओली यथास्थितिमा गौतमलाई राष्ट्रिय सभामा लैजान चाहँदैनन् । बरु, खतिवडाको नाम सिफारिस गराएर आगामी ६ वर्ष राष्ट्रिय सभाको सांसद बनाउन चाहन्छन् । तर, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, अर्का नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल र सदस्य रामबहादुर थापा ‘बादल’ निर्णय कार्यान्वयन हुनैपर्ने पक्षमा छन् । आइतबार चितवन पुगेका प्रचण्डले सचिवालयको निर्णय कार्यान्वयन हुने दृढता व्यक्त गरे । खनाल, नेपाल, श्रेष्ठले पनि सार्वजनिक रूपमै निर्णय कार्यान्वयन हुने बताउँदै आएका छन् । स्वास्थ्यलाभपछि सामुन्ने देखा पर्ने यो समस्याको ओलीले समाधान कसरी खोज्नेछन् ? पछिल्लो निर्णय कार्यान्वयनको क्रममा आनाकानी गर्दा सचिवालयमा अल्पमतमा परेको अवस्थालाई उनले कसरी लिन्छन्, त्यसले उनको र समग्र देशको भविष्यमा धेरै कुरा निर्भर गर्नेछ ।

‘आफ्नो सचिवालयमा रहेकाहरूका स्वार्थी खेलमा लागेर प्रधानमन्त्री ओली एक्लै हिँड्न खोजे भने त्यो जोखिमपूर्ण बाटोले कसैलाई फाइदा पु¥याउने छैन,’ प्रधानमन्त्री ओलीलाई धेरै स्थायी कमिटी सदस्यहरूको सुझाब छ, ‘बरु, स्वार्थी, असक्षम, भ्रष्टहरूलाई हटाई इमान्दार, सक्षम व्यक्तिहरू रहेको सचिवालय खडा गरी पार्टी निर्णय स्वीकार्दै पार्टीको बलियो साथ लिएर सरकार सञ्चालनमा ध्यान केन्द्रित गर्ने हो भने तीव्रगतिमा जनआकांक्षा पूरा हुन्छन् । स्वयं उहाँ, सरकार, देश र जनताको लागि भलो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्