खेलाडी भन्नसाथ मथिङ्गलमा चित्र बन्छ– मेस्सी, रोनाल्डो, पेले, म्याराडोना… । फुलबलप्रेमि भएकाले खेलाडी भन्नसाथ फुटबलरकै चित्र बन्छ । कतिको दिमागमा क्रिकेटरको चित्र बन्छ । कतिले भलिबल प्लेयरको । देश र परिवेश अनुसार फरक पर्छ ।
नेपाली शब्दकोशमा खेलाडीको अर्थ छ– खेलकुदमा सक्रिय, निपुण व्यक्ति । खेलमा पोख्त । खेल्न सिपालु । खेल्ने बानी भएको । तर, यहाँ खेलाडी खेल क्षेत्रमा मात्रै छैनन् । अरू थुप्रै क्षेत्रमा पनि छन् । र, नयाँ क्षेत्रका खेलाडी जन्मने क्रम जारी छ ! खेल क्षेत्र बाहिर पनि छन् खेलाडी– ‘केटीको खेलाडी ।’
मौसम चिसो छ । मौका मिल्नसाथ घाममा निस्कन हतार हुन्छ । घाम पर्ने ठाउँमा झुरुप्प हुन्छौँ । गफिन्छौँ । कुराहरू तन्किछ । हितैषीमा प्रेमका कुरा हुन्छ । प्रेमी÷प्रेमीकाबारे सुनाउनु सामान्य हो । जोसुकैको पनि हुन सक्छ मायालु ।
कुनै केटा वा केटीको विषयमा कुरा हुनु पनि स्वाभाविकै हो । यौनबारे सकारात्मक र ज्ञानवर्धक कुरा हुन राम्रो पक्ष हो । यौनलाई आधारभूत आवश्यकतामै राखिएको छ । पहिले आधारभूत आवश्यकतामा गाँस, बाँस र कपास थियो । अहिले सहवास पनि थपिएको छ ।
दुईतर्फी सहमति भए यौन सम्बन्ध जुनसुकै महिला र पुरुषबीच हुन सक्छ । त्यसको लागि विवाह गर्नैपर्छ भन्ने छैन । तर, को–कोसँग सम्भोग भयो ? कति जनासँग भयो ? सुनाउनै पर्छ ? यो त नितान्त व्यक्तिगत कुरा होइन र ?
महिलालाई सधैँ चरित्रको कठघरमा उभ्याइन्छ ! वेश्यालयमा पुरुष र महिला दुवै हुन्छन् । त्यहाँ काम गर्ने महिला चरित्रहीन हुन्छन् ! तर, पुरुषको चरित्रमा कसैले प्रश्न उठाउँदैन । समाजले एक विवश पात्र भनेर उभ्याइदिन्छ ।
समाजमा केही यस्ता पुरुष छन्, जसले धेरै महिलासँग सम्भोग गरे भन्दै पुरुषार्थ देखाउँछन् । अञ्जनमा यसैको साक्षी बन्न पुगेँ । घाममा ढाड सेकाइरहेको बेला कुरा उठ्यो । एकजनाको प्रश्न थियो– ‘कति जानासँग यौन सम्बन्ध राख्नु भयो ?’ अर्कोको उत्तर आयो– ‘श्रीमतीबाहेक छैन ।’
उत्तर भुईँमा खस्न नपाउँदै भने– ‘थुक्क, बुढा ! तिमी त नामर्द नै रैछौँ, मेरो त औँलामा गनेर सकिँदैन । म त केटीको खेलाडी नै हुँ ! कति खेलाइयो खेलाइयो । एउटै केटीसँग मात्रै त….. होइन त नवीन ?’ प्रश्न मतिर पनि तेर्साए ।
थ्याच्च बसेर सुशीला शर्माको लेख ‘महिलामाथि थोपरिएको मेकअप’ पढिरहेको थिएँ । प्रश्न नसुनेजस्ते गरेँ । मोबाइलमै घुरिरहे । उनीहरूको कुरा लम्बिँदै गयो । उठेर हिँडे ।
सम्भोग कोसँग राख्ने ? कति जनासँग राख्ने ? त्यो व्यक्तिमै निहित रहन्छ । श्रीमान– श्रीमतीसँग पनि यौन सम्बन्ध राख्नै पर्छ भन्ने छैन । सहमतिबिना भए वैवाहिक बलात्कार मानिन्छ । वैवाहिक बलात्कार गर्नेलाई पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।
प्रश्न उठ्छ– एकजना महिलासँग मात्रै सम्भोग गरेको छु भन्नेलाई किन ‘नामर्द’ भनिन्छ ? किन खिसीटिउरी गरिन्छ ? मर्द हुनलाई धेरैसँग यौन सम्पर्क राख्नैपर्छ ? धेरैसँग सम्बन्ध राख्दा के महापुरुष भइन्छ ? यति जनासँग सम्बन्ध राखे भन्दै छाती फुलाउनुको अर्थ के ? त्यो पुरुषको ठाउँमा महिला भइदिएको भए कसरी लिइन्थ्यो ? कतिले न्वारन गरिदिन्थ्यो ? के–के उपनाम पाउँथिन् ? उसको चरित्र कति गनाउथ्यो ?
हाम्रो समाजमा अझै बलात्कार मुद्दामा दोषी ठहर भएका पुरुषलाई सुनपानी छर्कने चलन छ । उनैको जयजयकार गरिन्छ । बलात्कृत भए भन्दै न्याय माग्ने महिलाको चरित्रमा औँला उठाउने बग्रेल्ती छन् । उसलाई चरित्रहीन भन्नेका कमी छैनन् । क्रिकेटर सन्दीप लामिछाने प्रकरणले यही प्रस्ट्याउँछ ।
महिला अगाडि सरेर अलिकति बोल्यो भने ‘पोथी बास्यो’ भन्छ । पुरुषलाई कुखुराको भाले ठानिन्छ । महिलालाई पोथी । भाले सिउरको घमन्ड बोकेर कुर्लिरहेको हुन्छ । घरका धुरी, बार्दली र आँगनमा आफ्नो दम्भ प्रकट गर्छ । धेरैले आफूलाई त्यहीँ रूपमा हेर्ने गर्छन् ।
यहाँ यौन पुरुषको विषय मात्र भन्ने सोच छ । प्रकृतिले महिला र पुरुष दुवैलाई यौनांग दिएको छ । दुवैलाई यौन चाहना हुन्छ । त्यो चाहना धेरैसँग पूरा गर्ने पुरुषलाई मर्द र महिलालाई चरित्रहीन ठानिन्छ । महिलालाई यौन दासीका रूपमा हेरिन्छ ।
केहीको दाबी छ– बलात्कार मानसिक रोगको एक उपज हो । उसोभए पुरुषलाई मात्रै यो रोग किन लाग्छ ? यौन महिलाको मनोविज्ञानमा किन उग्र भएन ? के उनीहरू कुनै पुरुषलाई बलात्कार नै गर्न सक्दैनन् ?
यौनांग मान्छेसँग मात्रै होइन, हरेक प्राणीमा हुन्छ । उनीहरूको पनि यौन चाहना हुन्छ । तर, कुनै कुकुरले भर्खर जन्मिएको छाउरीलाई यौन सम्पर्क गरेको देखेका छैँ त ? दूध खाने बाछीलाई कुनै गोरुले करणी गरेको छ ? तर मानिसले यो सब गरिसकेका छन् । ६ महिनाको शिशुसमेत बलात्कृत भएका उदाहरण छन् । नाबालक छोरीलाई वाबुले बलात्कार गरेका घटना कयौँ छन् ।
यौन महिला र पुरुष दुवैको भावना हो । तर, यहाँ पुरुषको मात्रै भावनाको रूपमा लिइन्छ । यौन पुरुषकै अधीनमा छ ! यौन मात्रै होइन, महिलाको शरिर नै पुरुषको अधीनमा हुन्छ ! जबसम्म यौन महिलाको पनि विषय बन्दैन । तबसम्म महिलालाई हेर्ने दृष्टिकोण बदलिँदैन ।
महिलालाई सधैँ चरित्रको कठघरमा उभ्याइन्छ ! वेश्यालयमा पुरुष र महिला दुवै हुन्छन् । त्यहाँ काम गर्ने महिला चरित्रहीन हुन्छन् ! तर, पुरुषको चरित्रमा कसैले प्रश्न उठाउँदैन । समाजले एक विवश पात्र भनेर उभ्याइदिन्छ ।
हिजोसम्म पुरुषले महिलालाई केवल मनोरञ्जनको साधनका रूपमा हेर्थे । बच्चा जन्माइदिने मेसिनका रूपमा प्रयोग गर्थे । आज पनि महिलालाई हेर्ने दृष्टिकोण त्योभन्दा माथि खासै उठ्न सकेको देखिँदैन । त्यसैले त धेरै महिलासँग सम्भोग गर्नेहरूलाई आफूलाई मर्द ठान्छन् ।
अहिले महिलालाई मनोरञ्जनको साधनभन्दा अलि माथि ‘शारीरिक सौन्दर्य’मा राख्ने गरेको पाइन्छ । त्यसैले महिला राम्री हुनुपर्छ भन्ने मानसिकता बनेको छ । उनीहरू पनि आफूलाई राम्री बनाउन अनेक प्रयास गरिरहेका हुन्छन् ।
सुन्दरी प्रतियोगिता गरिन्छ । बिनामेकअप यस्ता प्रतियोगितामा जाँदा प्रश्न गरिन्छ– शृङ्गार किन नगरेको ? चस्माको सट्टा कनट्याक्ट लेन्सको प्रयोग किन नगरेको ? यसले स्त्रीको बौद्धिक विकासलाई होइन, स्त्री–स्त्रीबीचको शारीरिक सौन्दर्यको लडाइँलाई केन्द्रमा राखेको प्रस्ट हुन्छ ।
आज कथित मोडल र अभिनेत्रीहरू नाङ्गा तस्बिर खिचाउन तँछाडमछाड छन् । उत्तेजित क्रियाकलापले स्त्रीको स्त्रीत्व, गरिमा र विशिष्टतामाथि आँच पु¥याइरहेको छ । महिलालाई मनोरञ्जनको साधनको रूपमा हेर्ने दृष्टिकोणलाई बल पु¥याएको छ । र, लाभ लिने पुरुषले आफूलाई मर्द ठानिरहेका छन् । खेलाडी भनिरहेका छन् ।
खेल क्षेत्रका खेलाडीको प्रतिष्ठा उच्च हुन्छ । प्रदर्शनको आधार अवार्ड दिइन्छ । कतारमा भएको फिफा विश्वकपमा मेस्सीको प्रदर्शन उच्च रह्यो । अर्जेन्टिनालाई उपाधि दिलाए । प्रदर्शनको उच्च मूल्याङ्कन भयो । सर्वोत्कृष्ट खेलाडी घोषणा बने । ‘गोल्डेन बल’ पाए । फ्रान्सका एम्बाप्पे सर्वाधिक गोलकर्ता बने । ‘गोल्डेन बुट’ पाए ।
खेलाडीलाई यसरी सम्मान गर्ने गरिन्छ । अवार्ड दिइन्छ । अब ‘केटीका खेलाडी’लाई केले सम्मान गर्ने ? महिलाको इज्जत र चरित्रमा खेल्नेलाई के अवार्ड दिने ? यस्ता खेलाडीको पनि मूल्याङ्कन गर्न जरुरी छ । यस्ता खेलाडीलाई के उपाधि दिने ? सामाजिक बहिस्कार पो राम्रो अवार्ड हो कि ?