Logo
Logo

बालिका बलात्कार गर्ने युवकलाई १२ वर्ष कैद


- दृष्टि न्युज/संवाददाता

0
Shares

कपिलवस्तु, २९ फागुन । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ ।
जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको छ । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजंग शाहको इजलासले बुधबार सो फैसला गरेको हो ।
जबर्जस्ती करणीे मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई अदालतले उक्त सजाय तोकेको हो । अदालतका स्रेस्तेदार चिन्तामणि शर्माका अनुसार ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको छ । २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई ६ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए । बालिकाले डर त्रासका कारण त्यसबारे घरमा कसैलाई जानकारी दिएकी थिइनन् ।
घटनापछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचका क्रममा भेटिएको थियो । पीडितकी आमाले २०७६ वैशाख ११ गते आफ्नी छोरीलाई ६ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् । सोही आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए ।
बालिकालाई नगरपालिका–२ गोरुसिंगेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो । होटलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसीले बालिकालार्ई बलात्कार गरेका थिए । किटानी जाहेरी परेदेखि उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको मुद्दा मुल्तबी राखिएको स्रेस्तेदार शर्माले जानकारी दिए । बालिका सकुशल रहेको प्रहरीले जनाएको छ ।
बालबालिकासम्बन्धी ऐनको दफा ३६(४)अनुसार आरोपी बालक भए कैदको दुई तिहाइमात्र सजाय भोग्नुपर्ने प्रावधान छ । अठार वर्ष मुनिका बालबालिकाको सहमति र असहमति दुवै अवस्थामा बलात्कार हुने मुलुकी संहितामा उल्लेख गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्