Logo
Logo

कोरोनाको त्रास देखाएर कालोबजारी, कारबाही गर्न सांसदहरुको माग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ फागुन । कोरोना भाइरसको त्रास देखाएर कालोबजारी गर्ने कारबाही गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको त्रास देखाएर अतिआवश्यक वस्तुको कृत्रिम अभाव देखाएर बजारमा कालोबजारी भइरहेको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवश्यक सामग्रीको कृत्रिम अभाव देखाएर कालोबजारी गर्नेलाई कारबाही गर्न माग गरेका छन् । यस्तै, नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण विश्वमा हजारौँको मृत्यु र संक्र्रमण भइसकेको अवस्थामा नेपालमा त्यसको सम्भावित संक्रमणलाई लिएर बजारमा खाना पकाउने ग्यास लुकाइसकेको बताउँदै यस्ता कालाबजारीलाई सरकारले कडाइका साथ कारबाही गर्न माग गरिन् । खाद्य सामग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न तथा औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।
यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसको त्रासले जनतामा अन्यौलता सिर्जना भइरहेको हुँदा सूचना दिने एउटै र आधिकारिक प्रणाली बनाउन माग गरेका छन् ।
सांसद प्रेम सुवालले कोरोना भाइरस नियन्त्रणका लागि खुला सिमानामा भएका ४१ ठाउँमा हेल्थ डेस्क राखे तापनि कतिपय नाकामा जाँच नभएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने माग गरे । नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण नेपाली जनता त्रसित भएको हुँदा बजारमा ग्यासलगायत अतिआवश्यक वस्तुको अभावप्रति सरकारले ध्यान दिनुपर्ने माग गरिन् । सांसद विद्या भट्टराईले कोरोना भाइरसको त्रासले सिंगो जनजीवन प्रभावित बनाइरहेको हुँदा सरकारले समयमै ध्यान दिन आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्