काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत बुटवलमा अवस्थित लुम्बिनी आँखा अस्पताललाई माइक्रो कन्ट्रोलर बेस अटो केल्भ होरिजेन्टल मेडिकल उपकरण खरिद गर्न रु १७ लाख ३६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणालाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । अध्यक्ष भट्टराईले अस्पतालमा उपचार सुविधाका लागि आउने आँखाका बिरामीलाई प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गर्न सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
उक्त कार्यक्रममा बैंकका कार्यकारी अधिकृत नरेशसिंह बोहरा, मुख्य प्रबन्धक दीपक खनाल, शाखा प्रमुखलगायत अस्पतालको तर्फबाट पनि विभिन्न पदाधिकारीको उपस्थिति रहको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागरप्रताप राणाले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।
देशका सातवटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको बिभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ । बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत निक्षेप खातामा उच्चतम ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाएको छ ।